संविधानविद्हरु भन्छन् – वामदेवलाई प्रधानमन्त्री बनाउन संभव छैन

तु खबर संवाददाता
२०७७ बैशाख १९, शुक्रबार ०८:३५
file-photo

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शक्ति बाँडफाँडको विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि बुधबार बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयमा अल्पमतमा परेका छन् । उनी आफ्नो पक्षमा बहुसंख्यक सदस्यहरु बनाउने तयारी गरिरहेका छन् । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र बरिष्ठ नेता माधव नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अघि सारे ।

प्रधानमन्त्री ओलीको दुई वटै पस्ताव सार्वजनिक भइसकेको छ । उनको प्रस्ताव अहिले बहसको विषय बनेको छ । चासोका रुपमा हेरिन थालिएको छ ।

तर प्रधानमन्त्री ओलीले वामदेवलाई प्रधामन्त्री बनाउने प्रस्ताव अघि सारेको भएपनि उनलाई प्रधानमन्त्री बनाउन नमिल्ने संविधान विद्हरुले बताइरहेका छन् ।

संविधान विद् डाक्टर विपिन अधिकारी, डाक्टर भीमार्जुन आचार्य र चन्द्रकान्त ज्ञवालीले अनलाईन खबरसंग कुराकानी गर्दा  विद्यमान कानुनी व्यवस्थाअनुसार वामदेव गौतम प्रधानमन्त्री बन्न असम्भव रहेको बताएका छन् । उक्त समाचार अनलाइन खबरमा प्रकाशित भैसकेको छ ।

संविधानविद्हरुका अनुसार प्रतिनिधिसभामा नभएका व्यक्ति प्रधानमन्त्री बन्न मिल्दैन । तर वामदेवलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने कुरा पनि ओली पक्षहरुले गरेका छन् । तर निर्वाचनमा जनताले अस्वीकृत गरेको मान्छेलाई त्यसो गर्नुपनि राम्रो नहुने संविधानविद्हरुको धारणा छ ।

त्यसो त उनलाई राष्ट्रिय सभामा लगेर मात्रै पनि पुग्दैन । संविधान नै संशोधन गर्नुपर्छ । न यो अहिलेको प्राथमिकता हो, न त यस्तो प्रचलन नै छ । बरु वामदेवले अर्को निर्वाचनको लागि तयारी गर्दा राम्रो हुने बताइन्छ । वामदेवले चुनाव जितेर आएको अवस्थामा भने कसैले विरोध गर्न मिल्ने अवस्था रहँदैन ।

विद्यमान कानुनअनुसार प्रधानमन्त्री बन्नका लागि सांसद हुनैपर्छ । राष्ट्रिय सभाको सांसद बने पनि प्रधानमन्त्री बन्न सम्भव नदेखिने संविधानविद्हरु दावी गर्छन् ।

उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले विषयान्तर गर्न खोजेको भन्दै भन्दै चर्चा हुन थालेको छ ।

बरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्तावबाट पनि नेपाल सन्तुष्ट नभएको बुझिएको छ ।

सचिवालयमा ओलीको प्रस्तावपछि आफ्नो धारणा राख्दै नेपालले ओलीमा अहंकार भएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*