बाबुराम भट्टराईले बन्द गराएको त्यो रेडियो कार्यक्रम
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईको अन्तर्वार्ता रेडियो नेपालले आफ्नो रेकर्डबाट हटायो । १५ वैशाख १५ बिहान लिएको उक्त अन्तर्वार्ताले रेडियो व्यवस्थापनको टाउको असामान्य गरी दुखाएको अनुमान गलाउन गाह्रो पर्दैन ।
डा. भट्टराईको अन्तर्वार्ता गर्नु रेडियो नेपालको गम्भीर भूल भएको व्यवस्थापनले निष्कर्ष निकाल्दै सरकारसँग क्षमायाचना गर्दै विज्ञप्ति निकाल्नुले रेडियो व्यवस्थापन कति तनावमा फसेछ भन्ने प्रस्ट हुन्छ ।
सामाजिक सञ्जालको बोलवाला भएको समयमा यो घटना जनसरोकारको विषय बन्न पुगेको छ । सरकारका अन्य राजनीतिक बेइमानीका कारण डा. भट्टराईप्रति समाजको सहानुभूति देखियो । लोकतन्त्रको सौन्दर्य भनेकै अभिव्यक्ति स्वतन्त्रता हो भन्ने बुझेका हामी उत्तेजित र भावुक मनका धनी नागरिकका लागि यो घटना केही समयका लागि उत्पात हुनु पनि स्वाभाविक नै छ ।
पूर्वप्रधानमन्त्री, दोस्रो संविधानसभाका संवैधानिक समितिका सभापति, अन्य थुप्रै पदले उच्च व्यक्तित्वका पति उहाँ ‘जनयुद्ध’ नामको नरसंहारका प्रमुख डिजाइनर पनि मानिनुहुन्छ । उहाँको नाम र व्यक्तित्वबाटै हामीलाई थाहा लाग्छ कि डा. भट्टराई आममानिसभन्दा धेरै गुणा माथि हुनुहुन्छ ।
बच्चालाई आफ्ना आमाबा, विद्याद्र्यीलाई गुरु, कार्यकर्तालाई नेता र आमजनलाई राष्ट्रपति, प्रधानमन्त्री या उच्चपदस्थ व्यक्ति आदर्श लाग्छ । राष्ट्रपति, प्रधानमन्त्री या उच्चपदस्थ व्यक्तिले बोल्ने भाषा, गर्ने व्यवहारप्रति आमसर्वसाधारण सधैँ चनाखो रहन्छन् । र, उहाँहरूकै सिको गर्छन् ।
मीठो बोल्नेले नै जनताका ताली खाने रहेछन् । उदाहरण खोज्न टाढा जानै परेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काफी छन् । यस अर्थले डा. भट्टराईले बोल्ने भाषा पनि सुललित र सन्तुलित भइदिएको भए सायद रेडियो नेपाललाई उहाँको वार्ता भालुको कन्पट हुने थिएन ।
सवाल उठ्छ, लोकतन्त्रमा बोल्न नपाउने रु त्यो पनि त्यति ठूलो मानिसले । पक्कै पाउनुपर्छ । यही बोल्नका लागि त हजारौँको बलि चढाएर, मुलुकलाई दशकौँ पछाडि धकेलेर, विभिन्न शक्तिकेन्द्रको इच्छा कबोलेर गणतन्त्र ल्याएका छौँ ।
तर, सवाल यो उठाउँदैनौँ हामी कि कस्तो कसले कस्तो भाषा बोल्ने रु बोल्नु आवश्यक कसलाई छ रु डा. भट्टराईले बोकेका कुरामा कुण्ठा कति छन् रु दलीय स्वार्थ कति छ ? उहाँले कसलाई खिस्याउँदै हुनुहुन्छ ? र, जनता अनि देशको पीडा कति छ उहाँको आवाजमा ?
के डा. भट्टराई अभिव्यक्ति र प्रेस स्वतन्त्रताका हिमायती हुनुहुन्छ ? उहाँको कार्यकालमा नेपालीजन र प्रेसले निर्बाध बोल्न पाएका थिए ? यी कुरा हामीले खोजिरहेका छैनौँ । हाम्रो तर्क छ- भट्टराईले नराम्रो गरे भन्दैमा ओलीले पनि त्यही सिको गर्ने रु हामी पनि त भाँडभैलो र राजनीतिक रामरमितामा लोभिन्छौँ ।
२०६२/०६३ को परिवर्तनपछि बोल्नुपर्ने जनताले मात्र हो । दल, तिनका नेता, कार्यकर्ता या कर नामको जनताको रगतले ढाडिएका सरकारी पदधारीले बोल्ने होइन । उनीहरूले सके काम गर्ने, नसके जनतालाई सुन्ने हो । जनतालाई सुन्नका लागि डा. भट्टराई मात्रले पनि कहिल्यै धैर्य देखाउनुभएन ।
उहाँको राजनीतिक जीवन एकपछि अर्को स्खलित हुन पुग्यो र मात्र हो, होइन भने सम्झनुहोस् त, भट्टराईका विगत प्रचण्डले उट्पट्याङ गर्ने, त्यसैलाई उहाँको बौद्धिकताले राजनीतीकरण गरिदिने कर्ममा कति लामो समय बिताउनुभयो ? यो उहाँ र उहाँका आसपासकाले जोडघटाउ गरून् ।
यो त ‘भेग’ कुरा भयो । गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको अभिव्यक्ति र न्यायिक स्वतन्त्रतामाथि उहाँले गरेको अपराध एकबारको जुनीले मोचन होला ? अपराधीले पनि ‘म निर्दोष छु’ भन्दै न्याय माग्न पाउँछ ।
डा. भट्टराई प्रधानमन्त्री भएकै समयमा अधिकारी दम्पतीलाई प्रधानमन्त्री निवासको द्वारबाट उठाएर मानसिक अस्पताल पुर्याइएको होइन रु बहालवाला प्रधानमन्त्रीले एउटा सामान्य परिवारलाई सिध्याउन केके मात्र गर्नुभएन । यसको नालीबेली खोतल्ने हो भने विश्व मानव सभ्यतालाई नै लज्जित तुल्याउँछ ।
बाबुरामले अन्तर्वार्तामा प्रयोग गर्नुभएका शब्दावलीमाथि नेपाली समाज एकपक्षीय बन्नु अर्को दुर्भाग्य हो । पूर्वप्रधानमन्त्रीले बहालवाला प्रधानमन्त्रीलाई सरकारी संचार माध्यमबाट कस्ता शब्द प्रयोग गर्ने भन्ने हेक्का हुनुपर्दैन ? एउटा राजनीतिक विश्लेषक, एउटा सामान्य नागरिकले प्रधानमन्त्री या सरकारी पदधारीमाथि समाजले पचाउन सक्ने शब्दावली प्रयोग गरेर आलोचना गर्न पाउँछ रु राजनीतिको छाडातन्त्रले यसलाई अझ टड्कारो बनाएको छ ।
तर, राज्यकोषबाट पूर्वप्रधानमन्त्रीको सेवा, सुविधा खाएर बहालवाला प्रधानमन्त्रीलाई तथानाम भन्न न डा। भट्टराईको नैतिकताले दिन्छ, न त संविधानले या यो राजनीतिक परिपाटीले नै छुट दिन्छ ।
२०६९ जेठमा पंक्तिकारले इमेज एफएममा सञ्चालन गर्दै आएको कार्यक्रम ‘जनचासो’ एकाएक बन्द गर्नुपर्यो । इमेजका अध्यक्ष आरके मानन्धर र उपाध्यक्ष मोहनचन्द्र सिंह आफ्ना पत्रकारप्रति यति धेरै विश्वस्त हुनुहुन्छ कि म कहिलेकाहीँ छक्क पर्छु ।
बाहिरबाट अफवाह फैलाउनका लागि जे तर्क पनि गर्न सकिएला तर इमेजभित्र १० वर्ष काम गर्दाको संस्थागत स्वतन्त्रता मेरो जीवनकै ठूलो उपलब्धि र अनुभव हो ।
संविधान निर्माण गर्नमा असफल दलहरू सत्ता छिनाझम्टीमा व्यस्त थिए । लुट र अराजकता आजभन्दा कम थिएन । अभिव्यक्ति माध्यमका यति धेरै साधनहरू थिएनन् । सामाजिक सञ्जालको यस्तो विधि प्रयोग थिएन । नागरिकमा उकुसमुकुस थियो । कार्यक्रम जनचासोका माध्यमबाट दल र तिनका नेताको दाहोलो काड्दै जनताका पीरमर्कामा मह्लमपट्टी गर्ने काम भइरहेको थियो ।
मैले आरके मानन्धर र उपाध्यक्ष मोहनचन्द्र सिंहको उदार मन र आँटको यति धेरै सम्मान गर्नुको अर्को कारण छ( त्यसताकाका सर्वशक्तिमान महिला (पुष्पकमल दाहाल पत्नी) सीता दाहालले आरके सरलाई भन्नुभएछ- ‘ठाकुर बेलवासेलाई प्रचण्डजीको आलोचना गर्न तलब दिएर राख्नुभएको हो ?’
आरके सरले ओठे जवाफ दिनुभएछ- ‘उसले सबै दल र नेताको आलोचना गर्छ ।’
२ महिनाको अन्तरालमा सीताजीको उही गुनासो । आरके सरले हाँसेर टार्नुभएछ । अर्को ३ महिनाको अन्तरमा सीताजीको गुनासो उसै गरी मुखर भएपछि आरके सरले मलाई भन्नुभयो-‘अलिक नरम बन्नु पो पर्छ कि ! सीता दाहालले अलिक बढी चित्त दुखाएझैँ लाग्यो । उहाँले तेस्रो पटक गुनासो गरेपछि मैले तिमीलाई भनेँ । तिमीलाई के लाग्छ ? विचार गर न है ’
आरके सरको यो निर्देशन थिएन । मसँग यो कुरा गरेलगत्तै उपाध्यक्ष मोहनचन्द्र सिंहले मेरो मनोबल गिर्ला भन्ने डरले होला सायद ‘आरकेले भनेका कुराले तपाईं विचलित नहुनुहोला । उसले तपाईंलाई सुनाएको मात्रै । हामी दलको आलोचना गर्नुहोस् त भन्दैनौँ तपाईंले आफ्नो विवेक प्रयोग गर्नुहोस् ।’
‘जनचासो’ नामको उक्त कार्यक्रम निकै चर्चामा थियो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति निवासमा भएको एक भेटमा ‘तपाईंको कार्यक्रम म सुन्थेँ, तपाईंका अरू कार्यक्रम सुन्छु । सरकारले बन्द गरिदिएर तपाईंको कद बढेको छ । चिन्ता नगर्नुहोला’ भनेर दिएको हौसला आज पनि याद छ ।
अहिलेका प्रधानमन्त्री केपी ओलीले समेत सुनेर कार्यक्रममा केही गलत कुरा सम्प्रेषण भएको भन्दै कार्यक्रम सञ्चालन गर्दै गर्दा फोन गर्न लगाएर सच्याउन लगाएको याद छ ।
कानुनमन्त्री नरहरि आचार्य हुनुहन्थ्यो । सर्वोच्चमा न्यायाधीश नियुक्तिको रस्साकस्की चलिरहेको थियो । कसैले मलाई सर्वोच्चको अवस्था र ल्याउनुपर्ने न्यायाधीशका बारेमा जनचासोमा बोलिदिन आग्रह गर्दै सन्दर्भ सामग्री दिए । मैले रेडियोको सामान्य कार्यक्रमको के नै प्रभाव पर्छ छ र ! ठानेर ती व्यक्तिको जोडका कारण मैले कार्यक्रममा सर्वोच्च अदालतको अवस्था र न्यायाधीश नियुक्तिबारे केही बोलेँ ।
कार्यक्रमका बारेमा मन्त्री आचार्यलाई धेरैले सुनाएछन् । साँझ मन्त्री आचार्यले फोन गर्नुभयो । ३० मिनेट लामो कुराकानी गर्दै सर्वोच्चको अवस्था र आफ्नो परिबन्दका बारेमा बताउनुभयो । ‘दाजु, हजुरसँग नाम र धन छ, अब देश बनाएर मलामी बनाउनुहोस्’ भन्दै फोन राखेको थिएँ मैले । जे कुरा नहोस् भनेर कार्यक्रममा भनिएको थियो, उहाँले त्यही गर्नुभयो ।
त्यही पनि कार्यक्रममा उठाएका विषयलाई लिएर एउटा मन्त्रीले फोन गर्नु सामान्य थिएन । यस्ता थुप्रै सन्दर्भहरू कार्यक्रम जनचासोले जोडेको छ ।
दुखीलाई सहयोग गर्ने र सरकारी बेथितिको जनआवाजका माध्यमबाट आलोचना गर्ने गराउने कार्यक्रमको विशेषता थियो । ७ जेठ २०६९ को मितिमा प्रधानमन्त्रीको कार्यालयबाट कार्यक्रम निष्पक्ष नभएको जिकिर गर्दै पत्र आएछ । यो पत्रले व्यवस्थापनलाई केही तनाव त दिएछ नै, सञ्चालकका हैसियतमा मलाई तनाव होला भनेर पत्र गुपचुप राखिएको रहेछ ।
पत्रमा सञ्चालकलाई कारबाही गर्दै कार्यक्रम बन्द गर्न निर्देशन नभएका कारण पनि व्यवस्थापन त्यति गम्भीर भएन होला सायद । पत्र काटिएको केही दिनपछि सञ्चार मन्त्रालयले इमेजलाई सताउन थालेछ । सरकारको नियत खराब भयो भने निजी कम्पनीहरूलाई ध्वस्त पार्न सक्छ भन्ने भुक्तभोगीहरूलाई मात्र ज्ञान हुन्छ । हामी सर्वसाधरणलाई यस्ता कुरा कागलाई बेल पाक्यो हर्ष न विस्मात !
सरकारको उग्रताका बारेमा कुरामा कुरा चल्दा उपाध्यक्ष मोहनचन्द्र सिंहले ‘जनचासो कार्यक्रम बन्द गर्न मन्त्रालयले ताकेता गरेको छ, तपाईंलाई पनि उनीहरूले सहेका छैनन्’ भनेपछि म छक्क परेँ । यसपछि घटनालाई बाहिर ल्याउन मलाई हतार भयो ।
समाचार प्रमुख महेन्द्र विष्टसँग सल्लाह गरेँ । उहाँहरू उपयुक्त समयको खोजीमा हुनुहुँदोरहेछ । पत्रको भाषा एउटा र व्यवहार अर्को भएका कारण संस्थालाई अप्ठ्यारो परेको थियो । मैले कवि एवं राजनीतिक विश्लेषक आनन्दराम पौडेललाई यो घटना बताएँ । उहाँले कुनै एउटा साप्ताहिकमा घटनाका बारेमा लेख्नुभएपछि विषयले गम्भीर रूप लियो र समाचारको विषय बन्यो ।
कार्यक्रममा डा. भट्टराईकै कुरा भएका थिए । भनिएको थियो- ‘स्कुल पढ्दै गरेका किशोरका हातबाट पुस्तक खोसेर बन्दुक थमाइदिनुभयो अनि आफैँलाई पढाएको मास्टर मार्न सिकाउनुभयो । प्रधानमन्त्रीज्यू १ त्यो किशोर आज युवा मात्र भएको छैन । बेरोजगार र भोकको भकारी बनेको छ । उससँग न शिक्षा छ, न त कुनै सीप नै । बन्दुक चलाउन जानेको छ र जीवनमा बाँकी त्यही बन्दुक छ । तपाईंले मार्न लगाएका सबैलाई उसले मारिसकेको छ सायद । अब तपाईं प्रधानमन्त्री बन्नुभएका बेलामा यस्ता लाखौँलाख युवाको भोक कसरी मेटाउनुहुन्छ ?’
यो एउटा सामान्य सडकको नागरिकका हैसियतमा मैले बोलेको थिएँ । यसैलाई आधार मानेर इमेज च्यानललाई पत्र काटियो । घटना बाहिर नआउञ्जेल मलाई हाइसञ्चो थियो । घटना सार्वजनिक भएपछि पेचिलो बन्यो । हामीले पेलेरै केही दिन कार्यक्रम पुरानै रफ्तारमा चलायौँ । अन्ततः राज्यशक्तिको दादागिरीका सामु हाम्रो केही सीप लागेन ।
कार्यक्रम बन्द नगरुञ्जेल र मलाई निलम्बित नगरुञ्जेल आरके सरलाई सञ्चार मान्त्रालयले तारेखमा राखिदियो । निजी स्तरबाट हजार-बाह्र सयलाई रोजगारी दिएका आरके मानन्धरलाई यो विना कसुरको सानो अपमान अनि सजाय थिएन । भाग्यले नेपाली राजनीतिमा झुल्केका सञ्चारमन्त्री राजकिशोर यादवको यो घटनाप्रतिको दुई जिब्रे चरित्र कम्ता थिएन । उहाँ आज माफी माग्नुहुन्थ्यो, भोलि- ‘हामी छाड्दैनौँ’ भन्नुहुन्थ्यो ।
कार्यक्रम बन्द गरियो । सल्लाहले म निलम्बित भएँ । आरके सर तारेखमा धाउनुभयो । यसैबीच श्रोताहरूको २/३ सय जनाको जुलस इमेज च्यानल घेर्न पुगेछ । यही कार्यक्रमबाट एकत्रित भएका श्रोताहरूले मेरो देश नामक संस्थासमेत बनाएर ससाना राम्रा परोपकारी काम गर्दै आएका थिए ।
उहाँहरूको जुलुसमा आउनुभएका एक जना शेर्पा थरका साथीले ‘इमेज च्यानल कतिमा बेच्छौ, हामी किनिदिन्छौँ र ठाकुरलाई मालिक बनाउँछौँ’ भन्ने उत्तेजक भाषण गर्नुभएछ । वास्तवमा इमेज घेरिँदै छ भन्ने मलाई थाहा थिएन । मेरो देशका अध्यक्ष अनन्त शर्मा, सदस्यहरू, गंगाप्रसाद शर्मा, मन्दिरा कार्की, राजकुमार श्रेष्ठ, अनिल चेतानी, जयराम केसी, नेपाली दिदी, अमर पोख्रेल, नासिर खान र एस कार्कीलगायतको पहलमा यो काम भएको रहेछ ।
लिस्नर्स क्लब नेपालका छविरमण अधिकारी, हरिराम पौडेललगायतका साथीहरू कार्यक्रममाथिको आक्रमणप्रति आक्रोशित हुनुुहुन्थ्यो । उहाँहरू समेत आउनुभएछ । नासिर खान र मन्दिरा कार्कीले त अझ मेरो नामका ३ सयजति टीसर्ट नै बनाएर सबैलाई बाँड्नुभएछ । यी सबै कुरा मलाई जानकारी थिएन । मैले पछि थाहा पाएँ ।
व्यवस्थित ढंगबाट यो काम मैले गराएँ भन्ने इमेजलाई लागेको रहेछ । यो घटनाले आरके सर र मेराबीच गम्भीर मतभेद सिर्जना भयो । मोहन सर र अनुपा श्रेष्ठलाई सँगै राखेर म निर्दोष भएको प्रमाण जुटाउन निकै कोसिस गरेँ । मलाई एउटै कुराको चिन्ता थियो- मेरा कारण संस्था विवादमा तानियो । अध्यक्षलाई विना कारण तनाव सिर्जना भयो ।
अहिले घटना उल्टिएको छ । डा. भट्टराईका कारण रेडियो नेपाल र समाचार महाशाखा प्रमुखसमेत रहेका कार्यक्रम सञ्चालक डा. नवराज लम्साल तनावमा हुनुहुन्छ । डा. भट्टराईको वार्ता हटाइएकामा उहाँलाई जति चिन्ता छ, त्यसको हजार गुणा तनाव कार्यक्रम सञ्चालक डा. लम्साललाई हुनुपर्छ ।
डा. भट्टराईले जसरी चासोका साथ ८ वर्ष अगाडि जनचासो कार्यक्रम बन्द गराउन इमेज व्यवस्थापनलाई सताउनुभएको थियो, त्यसरी नै अहिलेको सरकारले रेडियो नेपाल व्यवस्थापनलाई सताएको होला । डा. भट्टराईले आफैँ विषवृक्ष रोप्नुभएको थियो । आज निर्लज्ज भएर रुद्राक्षको बटवृक्षको खोजी गर्दै हुनुहुन्छ ।
नेपाली समाज उग्रतामा रमाउने भएका कारण तपाईंहरूका दिन चम्किएका हुन् । सत्थ्यतथ्यको खोजी गर्ने र अपराधअनुरूपको सजाय दिएर मात्र क्षमादान गर्ने आँट जनतासँग हुने थियो भने पूर्वप्रधानमन्त्रीका हैसियतले तपाईंले बहालवाला प्रधानमन्त्रीलाई गरेका गालीको लेखाजोखा पक्कै हुने थियो ।
कार्यक्रम बन्दपछिको असर
सामान्यतया एउटा रेडियो कार्यक्रम बन्द भयो । के बिग्रियो ? यस्तो सोचे पनि हुन्छ । जनचासो कार्यक्रम दिमागले चलाएको थिएन, मनले चलाएको थियो । कार्यक्रममा एकातिर आवाज बुलन्द हुन्थ्यो भने अर्कातर्फ आँखाबाट आँसुको भेल बग्थ्यो ।
प्राविधिक साथी थिए ठमेलका सरोज महर्जन । कार्यक्रम सञ्चालन गर्दै गर्दा भित्र म रुन्थेँ, बाहिर उनी । उनी काठमाडौंका रैथाने । गरिब दुखीको सेवा गर्नु या राजनीतिप्रति चासो राख्नु उनको सरोकारको विषय थिएन ।
दिनदिन उनमा गजबको परिवर्तन आयो । उनी आज पत्रकारितामा त छैनन् तर सबै छाडेर दीनहीनलाई सहयोग गर्नु र विकृतिविरुद्ध आक्रोशित बन्नुमा उनको समय बित्छ आजभोलि ।
निःस्वार्थ मात्र होइन, विशुद्ध मनले चलाएको कार्यक्रम भएका कारण गरिब, दुःखीका नाममा १ लाख उठाउन २ दिन पर्खनुपर्ने थिएन । उक्त कार्यक्रम बन्द हुँदा केही दीनहीनलाई त पक्कै असर पर्यो होला । चैत, वैशाखको आगोले सिरहा जिल्लाको तत्कालीन औरही गाउँ विकास समितिका विभिन्न ठाउँमा ४ सय घर जलेका थिए ।
हामीले ती अग्निपीडितलाई राहत सङ्कलन गर्दै थियौँ । राहत सङ्कलनमा दैनिक ५०/६० जना खटिन्थ्यौँ । निकै उत्साहित बनेका हामी ती घर निर्माण गर्ने निर्णयमा पुग्यौँ । यसमा काठमाडौंका केही नेवार समुदायका मनकारी दाताहरूको जोडबल थियो । १ भान्सा, २ बेड रुम र सानो लवीसहितको ट्वाइलेट भएका ४ सय घर बनाउन साढे ३ करोड रुपैयाँ बजेट चाहिन्थ्यो ।
दाता यस्ता थिए कि ६ महिनामा सबै घर तयार हुनेमा सबै ढुक्क थियौँ । रेडियोमा घोषणा गरेको २ दिनमै १ सय घर निर्माण गरिदिने दाता भेटिए । फलामको एङ्गल प्रयोग गरेर बनाइने ती घरको डेमो तयार हुँदै थियो कार्यक्रम बन्द भयो । यससँगै सयौँ मानिसको सामान्य जीवनको खुसी टुट्यो ।
