आत्मप्रकाशनमा ‘कोरोना’सम्बन्धी चेतना
आजसम्म पनि साहित्यसिर्जनामा सामान्यतया दुुई धार छन् । एउटा धारले साहित्य जीवनको लागि र अर्को धारले साहित्य मनोरञ्जनको लागि हुनुपर्ने तर्क गरेको हुन्छ । र, जुन धारको साहित्य भए पनि यथार्थ प्रस्तुत गर्दछ । यथार्थको प्रस्तुतिलाई कतिपयले काल्पनिक रङ दिन्छन् त कतिपयले चाहिँ आफ्नै यथार्थ हो भन्नेजस्तो पारेर प्रस्तुत गर्दछन् । अझ साहित्यमा वर्तमान त बोलेकै हुन्छ, वर्तमानले साहित्यमा आधिपत्य जमाएकै हुन्छ ।
साहित्य, कला र संस्कृतिलाई मानवमात्रको सम्पत्ति मानिएको छ । विश्वको मानव समुदाय नै एउटा अकल्पनीय महामारीबाट गुज्रिरहेको
छ । हरेक व्यक्तिको मनमा डर उत्तिकै रहेको छ । विश्वको मानव समुदाय सम्वेदनशील बनेको छ । गम्भीर सम्वेदनशीलताको यस घडीमा साहित्यसिर्जना हुनु स्वाभाविककै हो । अझ घरमा नै बस्नुपर्ने नैतिक तथा सामाजिक दायित्वले गर्दा सर्जकको मन र मस्तिष्कलाई झङ्कृत बनाएको छ । जब सर्जक सम्वेदित हुन्छ तब सिर्जना हुन्छ । सिर्जनाको प्रकाशन विभिन्न माध्यमले गर्दछ । वर्तमान विश्वलाई पनि सिर्जनामा उतारेर विभिन्न सामाजिक सञ्जालमा सर्जकहरुले सार्वजनिक गरिरहेका छन् । वास्तवमा यो एक किसिमले तात्क्षणिक आत्मप्रकाशन नै हो ।
कोरोनाविरुद्धको लडाइँलाई विश्वयुद्धको संज्ञा दिइएको वर्तमानलाई हेटौँडाका कवि तथा हाम्रो मातृभूमि साहित्यिक त्रैमासिकका सम्पादक देवराज खरेल वर्तमान विश्वलाई यसरी अभिव्यक्त गर्दछन् –
शस्त्रअस्त्रयुक्त एकातिर शस्त्रअस्त्रविहीन एकातिर
एक्लो भाइरस एकातिर आठ अरब एकातिर
युद्ध गर्न नचाहिँदो रहेछ औजार र अस्त्रहरू
विश्व एकातिर कोरोना एकातिर ।
सामाजिक सञ्जालमा साहित्यिक विचारहरू पर्याप्त आएका छन् । कतिपय सिर्जना अत्यन्त कलात्मक पनि छन् । कतिपय चाहिँ सरल शब्दमा सर्वसाधारणले बुझिने गरी काव्यात्मक भाव अभिव्यक्त गरेका छन् । देशको प्रसिद्ध गजलकार डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ आत्मरक्षा शीर्षकमा वर्तमानलाई यसरी अभिव्यक्त गर्दछन् –
को–ही सुरक्षित छैन अहिले
रो–ग फैलिएको छ बडवानलझैँ
ना–मकृत कोरोना (कोभिड–१९)को विषाणु,
बहिष्कार सडकको गर्नु छ
नारा, जुलुसलाई नजिक गएर होइन,
टाढैबाट बाई बाई भन्नु छ
दूरी बढाएर आफन्तहरूसँग
नजिक बन्नु छ,
या एकान्त वास होस्
या सुरक्षित निवास होस्
हात मिलाएर होइन
हात जोडेर आत्मीयता दर्शाउनु छ
आतङ्कारी विषाणुलाई
जसरी पनि भगाउनु छु
दुनियाँलाई बचाउन,
घर, परिवार र समाज जोगाउन,
राष्ट्रलाई सुरक्षित राख्न
आत्मरक्षाको अनुशासन
अक्षरशः पालन गर्नु छ ।
डा. परिश्रमीले घरपरिवार र समाजलाई जोगाउँदै राष्ट्रलाई पनि जोगाउन तथा पृथ्वीलाई पनि बचाउन आह्वान गर्दछन् । आत्मरक्षा नै सबैभन्दा ठूलो उपाय भन्ने कुरो जगजाहेर छ । कोरोनाविरुद्धको यस महायुद्धमा बिनाहतियार आत्मरक्षा गर्न सकिन्छ र आत्मरक्षा गरेर विश्वयुद्ध जित्न सकिन्छ । यसकारण अहिले घरमा नै बसेर विश्वयुद्ध गर्नुपरेको छ बिना हतियार । अहिलेको समयमा घरभित्र नै जे गर्नुपर्छ गरौँ भन्ने सल्लाह आएको छ परिवारमै । अझ रमाइलो गर्दै युद्ध लडेको पनि ठहरिन्छ । साहित्यकार रमेश समर्थन यसरी आह्वान गर्दछन् –
सुरक्षा सबले आफ्नै गर्नुपर्ने भयो अब
कोरोनाले समातेको छ सारा दुनियाँ जब
सुतौँ, उठौँ, बसौँ, नाचौँ, खेलौँ जसो गरौँ
घरभित्र गरौँ सारा ननिस्कौँ है कतै सब ।
वास्तवमा घरभित्र नै केही समय संसार बनाउनुपर्ने आवश्यकता रहेको छ । घरभन्दा बाहिर सबैतिर त्रासको वातावरण रहेको छ । कोरोनाले त्रासको वातावरण सिर्जना गरेको छ । यसले कुनै पनि वर्ग, सीमा वा धर्मलाई छोडेको छैन । वास्तवमा त्रासको वातावरणले आफ्नो साम्राज्य नै कायम गरेको छ । यसै वातावरणलाई साहित्यकार धनराज गिरीले आफ्नो गजलमा यसरी प्रस्तुत गरेका छन् –
दुलोभित्र सारा – करोना करोना
भयाक्रान्त साथी बनी थर्थराए
वियोगी निरोगी लुके आज जम्मै
भयो वाग रित्तो सखा लर्खराए ।
कोरोनाको त्रास सबैतिर रहेको छ तर कतिपय अटेरीहरु छन् जसले मूर्खता छरिरहेका छन् सडकभरि । सरकारको आदेश पनि नमान्ने र कोरोनाको त्रास नमान्नेलाई हेटौँडाका कवि सागर खतिवडा भने मूर्खको संज्ञा दिएका छन् । उनकै शब्दमा –
म हेरूँ बजारमा लकडाउन कस्तो रहेछ भनी
घुमेका छन् मूर्खजन सबै अवज्ञा गरी गरी
अटेरी गर्ने ती अबुझ शठदेखि छकपरि
कोरोना खित्का छाडी अभयसित हाँस्यो मरिमरी ।
विश्वव्यापीरूपमा कोरोनाले आफ्नो प्रभुत्व जमाइरहेको छ । कोरोनाले महामारीको रूपमा फैलिएकोले एक किसिमले जीवनको अनेक क्षेत्र प्रभावित भएका छन् । समग्र जीवनपद्धतिमा कोरोनाको प्रभाव देखिएको छ । जो जति सम्वेदनशील छन् उसको सम्वेदनामा उति धेरै गहिरो छाप छोडेको छ । तर दिन सधैँ एकै किसिमको अवस्था रहने विश्वास कविहरूले व्यक्त गरिरहेका छन् । सधैँ अँध्यारोपछि उज्यालोको पालो त आउँछ नि । केही समयपछि फेरि समय अनुकूल हुने आत्मविश्वास कवयित्री रेणुका जिसी खतिवडाको कवितामा यसरी अभिव्यक्त हुन्छ –
… यी बन्द स्कुलहरू
खुल्नेछन् र घन्किनेछन् ताराबाजी लै लै
बिराना चौरीहरू
भरिनेछन् केटाकेटीका पैतालाले र
खेल्नेछन् लुकामारी
सुनसान सडकहरू
फेरि जाग्नेछन् र दौडाउनेछन्
गन्तव्यमा पुग्न हतार मान्छेहरूलाई
फेरि फर्कनेछ संसारको गति
बग्नेछन् सबैजना आ–आफ्नै लयमा
बुढापाका अनुहारको मुस्कानले
फेरि भन्नेछ डरको अगाडि जीत हुन्छ
हामीले फेरि जित्यौँ ।
कविताले यथार्थ पस्किनेमात्र होइन, कहिलेकाहीँ यथार्थ भयावह हुन्छ, त्रासद हुन्छ । त्रासले त झन् सर्वसाधारणलाई जीवन सरलतापूर्वक बाँच्न केही बाधा पो पु¥याउँछ । हो, कवयित्री खतिवडाले भनेजस्तै त्रासको दिन हराउनेछ र एक दिन फेरि मानिसको जीत हुनेछ । मानिसको जीत हुने विश्वासमा दृढ हुनु परेको छ । अहिले डर छ र त हामी सतर्क छौँ तर डरलाई जितेपछि जीत निश्चित छ । डरको जीत त हुँदैन, डरको पराजय हुने कुरामा सर्वत्र विश्वास रहनुलाई साहित्यको सार्थकता मान्नुपर्दछ । झापाका कवि सुमन कोइरालाले पनि आफूलाई संसारको दुःखले सताइरहेको बताएका छन् । संसारको दुःख देखेर कवि कोइराला आफू पनि दुःखी हुन्छन् र भन्छन् –
… अनि संसार रोइरहँदा
माक्स, ग्याँस, चामल र सेनेटाइजरका
काला बजारियालाई हैन
म कवि हैन मित्र
मलाई संसार दुखिरहन्छ ।
हो, कविलाई नै संसार दुख्छ । संसारको चिन्ता हुन्छ । बरु कविले आफूलाई जति धेरै दुःख छ, त्यसको अभिव्यक्ति कम दिन्छ । आफ्नो सम्वेदित क्षणलाई कलात्मक पारेर अर्काको बनाई प्रस्तुत गर्दछ र अरुको पीडालाई आफू पीडित बनी पस्कन्छ । कहिलेकाहीँ आफू नै अरु पात्र बन्दछ र कहिलेकाहीँ अरुको ठाउँमा आफू पात्र बनी अभिव्यक्ति दिन्छ । तर जब संसार नै पीडामा छ, त्यत्तिबेला कवि साहित्यकारहरु चुपो लागेर बस्नै सक्दैनन् । आफ्नो घरभित्र पनि कवि शान्त भएर, चुप लागेर बस्न सक्दैनन् । संसारको चिन्ता आफ्ना सिर्जनामार्फत अभिव्यक्त गरिरहन्छन् भन्ने सामान्य उदाहरणमात्र हुन् । कवि साहित्यकारहरुको अभिव्यक्तिले पनि समाजमा सचेतना आएको र आइरहेको विश्वास यिनै अभिव्यक्तिहरुबाट पाउन सकिन्छ । कवि तथा साहित्यकारहरु समाजको प्रबुद्ध वर्ग भएकाले सङ्कटको यस महाघडीमा आफूलाई विश्व कल्याणार्थ प्रस्तुत गरेर पनि आफ्नो कर्ममार्फत कर्तव्य निर्वाह गरेको स्पष्ट हुन्छ । यसबाट समाजका अन्य वर्गमा पनि आफ्नो कर्तव्य निर्वाहको भाव परोक्षरूपमा सम्प्रेषण भएको देखिएको छ ।
मानव समुदायले कोरोनामाथि विजय प्राप्त गरेर आफ्नो स्वाभिमानलाई बचाउने कुरामा विश्वस्त छन् ओखलढुङ्गाका कवि चेतनाथ धमला । उनकै शब्दमा –
एक थोपा पसिनाले कोरोना पखालेर हिमालझैँ उठ्न मन छ
यसै गरी गीत गाउँदै जिन्दगीमा सधैँभरि हिँडिदिन मन छ ।
चिन्तन र जीवनशैलीमा हस्तक्षेप गर्न सफल कोरोनाले साहित्यमा पनि आफ्नो स्थान सुरक्षित पारेको हो कि भन्ने अनुभूति हुन थालेको छ । फेसबुकहरुमा आएको आत्मप्रकाशन दृष्टान्त
हुन् ।
