हेटौंडा–काठमाडौं सुरुङमार्गमा जनताको लगानी जोखिममा, के गर्दैछ पूर्वाधार कम्पनी ?
हेटौंडा, १८ फागुन । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि मकवानपुरका जनताले समृद्धिको सपना देखेर शेयर लगानी गरे ।
सुरुङमार्ग निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण हुने विश्वस्त दिलाएर मकवानपुरबाट ३ करोड भन्दा बढी शेयर लगानी बापत रकम संकलन गर्यो । सुरुङमार्ग करिडरमा पर्ने मकवानपुर, ललितपुरको खोकना र काठमाडौंको चाल्नाखेल क्षेत्रका १२ सयभन्दा बढी स्थानीयले शेयरमा पैसा लगानी गरे ।
मकवानपुरको हेटौंडा, भीमफेदी, कुलेखानी, सिस्नेरीलगायतका सर्वसाधारणले सुरुङमार्गमा शेयर लगानी गरेका छन् । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले २३ चैत २०६७ मा सिस्नेरीमा गरेको सर्वपक्षीय भेलामा सुरुङ र बाहिरको फराकिलो सडकमा गाडीहरू गुडेको कम्प्युटरमा देखाएपछि स्थानीयहरु उत्साहित भएका थिए ।
भेलामा स्वदेशी निर्माण सामग्री प्रयोग, नेपाली निर्माण व्यवसायीको संलग्नता, त्यसमा स्थानीयको भूमिका, लगानी जुटाउने तरीका र नाफा–नोक्सानको हिसाबकिताब समेत देखाएपछि स्थानीयहरुले सुरुङमार्गमा लगानी गरेका थिए । तर, त्यसरी कम्पनीले सपना बाँडेको यतिका वर्षसम्म काम अगाडि नबढेपछि जनता निराश भएका छन् ।

सुरुङमार्ग शिलान्यासको क्रममा सुरुङमार्ग निर्माता पूर्वाधार विकास कम्पनीका तत्कालिन अध्यक्ष कुशकुमार जोशी । उहाँले भित्तोमा पिकले खन्नु हुँदै ।
कम्पनी गलत रहेको भन्दै लगानीकर्ता सर्वसाधारण शेयर फिर्ता पाउनु पर्ने माग राख्दै आवाज उठाउन थालेका छन् । जनतालाई बेकुप बनाएको भन्दै कम्पनीमाथि लगानीकर्ताहरु खनिएका छन् । कम्पनीले भने लगानीकर्ता जुटेको भन्दै सुरुङमार्ग कम्पनीले नै बनाउने आश्वास बाँड्दै हिँडेका छन् । यतिका वर्षसम्म पनि कम्पनीले जनतालाई आश्वासन बाँड्न छोडेको छैन् ।
कम्पनी सञ्चालक, संस्थापक शेयरधनी र साधारण लगानीकर्तामा सुरुङमार्ग बन्ने उत्साह अहिले हराइसकेको छ । छ त केवल ऋण र असफलताको चर्चा । यस्तो चर्चाले सर्वसाधारणको शेयर लगानी जोखिममा परेको छ । शेयर लगानीकर्ताहरु कम्पनीले सुरुङमार्ग बनाउन नसक्ने ठोकिवा गर्छन ।
बागमती प्रदेश सरकारले पनि पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग बनाउन नसक्ने निष्कर्श निकाल्दै प्रदेश सरकार आफैण्ले सुरुङमार्ग बनाउने भन्दै कसिएको २ वर्ष बित्यो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको गौरव योजना भन्दै ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ प्रदेशले नै बनाउने अठोट लिनु भयो ।
अहिले, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको कामलाई निरन्तरता दिएको छ । ७ वटा अध्ययन टोलीले सुरुङमार्गको लागि प्राविधिक अध्ययन गरिरहरको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आगामी वैशाखभित्रमा भीमफेदी–कुलेखानी सुरुङमार्गको ग्लोबल टेण्डर आह्वान हुनेछ ।
बागमती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग आफै बनाउने भएपछि पूर्वाधार विकास कम्पनीलाई हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माण गर्न दिएको अनुमति खारेज गर्न संघीय सरकारलाई अनुरोध गरेको थियो । तर, संघीय सरकारले खारेज गरेको छैन् ।

सुरुङमार्ग शिलान्यासको क्रममा भीमफेदीमा ल्याएको सामग्री ।
हाल बागमती प्रदेश सरकार र सुरुङमार्ग निर्माता पूर्वाधार विकास कम्पनीबीच दोहोरी चलिरहेको छ । प्रदेश सरकार जसरी पनि सुरुङमार्ग बनाउने योजनासहित लागेको छ । उता कम्पनी भने प्रदेशले सुरुङ बनाएर अस्तित्व नै समाप्त हुने चिन्तामा छ । कम्पनीले भने प्रदेशले सुरुङमार्ग बनाउन नसक्ने दाबी गरिरहेको छ ।
प्रदेश सरकारले सुरुङमार्ग बनाउन कम्पनीसँग समन्वय गर्नुपर्ने धारणा कम्पनीका सञ्चालकहरुले राख्दै आएका छन् । उता कम्पनीलाई साथमा नलिइ आफै सुरुङमार्ग बनाउने योजनामा प्रदेश सरकार छ ।
नेपाल पूर्वाधार विकास कम्पनीले २०७१ सम्म शेयर बापत संकलन गरेको ३० करोड ७८ लाखमध्ये २०७३ असार मसान्तसम्ममा २९ करोड सकिएको देखिन्छ । कम्पनीले डीपीआर बाहेक अरू उल्लेख्य काम भने गरेको देखिन्न । तर, सञ्चालकहरु भने धेरै काम भएको दावी गर्छन ।
आकाशे दूरीका हिसाबले हेटौंडाबाट काठमाडौं जम्मा १७ किलोमिटर मात्र टाढा भए पनि पहाडहरू छिचोल्नुपर्दा दिनभर लाग्ने भएकाले २०४७ सालमा हेटौंडामा सुरुङमार्ग निर्माण दबाब समूह गठन भएपछि यो विषय चर्चामा आएको थियो ।

सुरुङमार्ग निर्माता पूर्वाधार विकास कम्पनीले आयोजना गरेको मेलामा बनाइएको सुरुङमार्गको प्रवेशद्धार ।
हेटौंडा–काठमाडौं सुरुङमार्गको डीपीआर अनुसार, हेटौंडा र काठमाडौंबीचको दूरी ५८ किलोमिटर छ भने काठमाडौंको बल्खुबाट दक्षिणकाली, सिस्नेरी, कुलेखानी, भीमफेदीहुँदै हेटौंडासम्म पुग्ने सडकको दूरी ७६ किमी ।
यो सडक यात्रामा चार घण्टा लाग्छ, जुन सुरुङमार्ग बनेपछि एक घण्टामा छोट्टिन्छ । काठमाडौंबाट मुग्लिन, नारायणगढहुँदै पूर्व वा पश्चिम जाने गाडीलाई सुरुङमार्ग भएर जाँदा ४–५ घण्टा समय बचत हुन्छ ।
डीपीआर अनुसार, सुरुङमार्गको कुलेखानी–भीमफेदी खण्डमा ३.२५ किलोमिटर, चोभारमा २०० मिटर र सिस्नेरीमा ३०० मिटर लामो सुरुङ र ठूला–साना गरी २५ वटा पुल बनाउनुपर्छ । सुरुङमार्ग पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) को अवधारणामा निजी क्षेत्रबाट तयार गरिएको नेपालको पहिलो सडक आयोजना हो ।
सुरुङमार्गमा प्रदेश सरकारले अफवाह फैलायो, कसैको लगानी डुब्दैनः ठकुरी
हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको जिम्मेवारी लिएको नेपाल पूर्वाधार विकास कम्पनीका सञ्चालक समिति सदस्य सुवास चन्द्र ठकुरीले हेटौंडा–काठमाडौं सुरुङमार्गको सवालमा अफवाह फैलाएको आरोप लगाउनु भएको छ ।
पूर्वसंविधानसभा सदस्यसमेत रहनु भएका ठकुरीले बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं सुरुङमार्गको सवालमा जनतालाई भ्रम सिर्जना गरेको बताउनु भएको छ । उहाँले सुरुङमार्गमा जनताले लगानी गरेको पैसा डुब्ने, पूर्वाधार विकास कम्पनीले निर्माण गर्न नसक्ने, सिन्कोसमेत भाँचेर भन्दै गलत प्रचार गरेको बताउनु भयो ।
उहाँले हेटौंडा–काठमाडौं सुरुङमार्गमा जनताले लगानी गरेको रकम नडुब्ने भन्दै सर्वसाधारणलाई विश्वस्त हुन आग्रह गर्नु भयो । ‘सुरुङमार्गमा जनताको लगानी डुब्छ भनेर हल्ला फिँझाइयो, यो सरागर गलत हो । यहाँ लगानी गरेका सर्वसाधारण कोही डुब्दैनन् । लगानी फिर्ता हुनेमा विश्वस्त हुनुहोला ।–’ ठकुरीले भन्नु भयो ।
ठकुरी हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणको सुरुआती चरणमा सरोकार समितिको सदस्य सचिव हुनुहुन्थ्यो । उहाँकै सक्रियतामा हेटौंडा, भीमफेदीदेखि काठमाडौंसम्म सुरुङमार्ग करिडोरका जनताको शेयर संकलन भएको थियो । उहाँकै विश्वासमा जनताले सुरुङमार्गमा लगानी गरेका थिए ।

नेपाल पूर्वाधार विकास कम्पनीका सञ्चालक समिति सदस्य सुवासचन्द्र ठकुरी । तस्बिरः ठकुरीको फेसबुकबाट
‘मलाई हेरेर नै जनताले सुरुङमार्गमा लगानी गरेका छन् । मैले सुरुङमार्ग निर्माणको सुरुआती चरणमा खुलेको भूमिकाले यसको उत्तरदायी म हुन्छु । सुरुङमार्गमा भएको लगानी १ रुपैयाँ पनि डुब्दैन् । प्रदेश सरकारले पैसा खायो भनेर हल्ला गरेको छ । यर्थात के हो कहिल्यै बुझ्न खोजेन ।’ ठकुरीले भन्नु भयो ।
‘जनताको लगानीमा नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण गर्न केन्द्रीय सरकारसँग अनुमति लिइसकेको छ । यसरी केन्द्रीय सरकारसँग अनुमति लिएर सुरुङमार्ग निर्माणको गर्न अगाडि बढेको कम्पनीलाई केन्द्रीय सरकाबाटै अवरोध भयो ।’ उहाँ भन्नु हुन्छ, ‘चिनको पावर चाइनासँग सुरुङमार्ग परियोजनाका लागि संयुक्त विकास सम्झौता भएको थियो । तर, केन्द्रीय सरकारले यसमा चासो देखाएन ।’
कम्पनीले सुरुङमार्ग परियोजनाका लागि परियोजना लगानी, विकास, बित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनको निम्ति ९ साउन २०७५ मा सम्झौता गरेको थियो । ठकुरीले भौतिक मन्त्रालयमा पावर चाइनासँग सम्झौता भएपछि छलफलको लागि जाँदा राम्रो सहकार्य नभएको गुनासो गर्नु भयो ।
‘संघीय सरकारले निर्माणको जिम्मा कम्पनीलाई दिएको हो । कम्पनीले नै बनाउनु पर्छ भन्छ, तर विदेशी लगानी भित्राएर सुरुङमार्ग छिटो बनाउनेमा कम्पनी थियो । सरकारले चासो नै दिएन, व्यवास्था गर्यो ।’ ठकुरीले भन्नु भयो ।
उहाँले बागमती प्रदेश सरकार कुरा नै नबुझी एकोहोरो तरिकाले अगाडि बढेको बताउनु भयो । कम्पनीसँग किन बनाउन नसकेको, के कारणले रोकिएको, समस्या के हो ? सहजीकरण गर्नुपर्नेमा उल्टै गलत प्रचार गर्दै हिँडेको आरोप लगाउनु भयो ।
(माथिका सबै तस्बिर नेपाल पूर्वाधार विकास कम्पनीको वेभसाइटबाट)
यो पनि पढ्नुहोस्-
- भीमफेदी–कुलेखानी सुरुङमार्गको ‘वैशाखभित्रै टेण्डर’
- सुरुङमार्गमा मकवानपुरबासीको करोडौं लगानी डुब्ने पिरलो
- प्रदेशको गौरव योजनाः भीमफेदी–कुलेखानी सुरुङमार्गको २ वर्षसम्म शून्य प्रगति !
- हेटौँडा–काठमाडौँ सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री फुयाँल
- नयाँ वर्ष २०७७ देखि सुरुङमार्ग निर्माण सुरु– मुख्यमन्त्री पौडेल
- भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने
- भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको लागि यसै वर्ष ठेक्का लगाउने तयारी
- हेटौंडा आउन २ वर्षभित्र सुरुङमार्ग तयार भइसक्छः मुख्यमन्त्री पौडेल (हेर्नुहोस् भिडियो)
