भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको लागि यसै वर्ष ठेक्का लगाउने तयारी

तु खबर संवाददाता
२०७६ पुष २९, मंगलवार १६:०१
file photo

काठमाडौं, २९ पुस । बागमती प्रदेश सरकारले ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ को निर्माणको लागि यसै वर्ष ठेक्का लगाउने भएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाल यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ ।

मन्त्रालयका सचिव तेजराज भट्टका अनुसार सुरुङमार्गको डिजाइनको काम सकिनासाथै फागुन–चैतमै आयोजना निर्माणका लागि ठेक्का लगाइने छ ।

प्रदेश सरकारले काम अघि बढाउन तयारी गरिरहँदा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडलाई केन्द्र सरकारले दिएको अनुमतिपत्र खारेज भएको छैन । २०७४ भदौ ६ गते प्रदेश सरकारले संघीय सरकारलाई पत्र लेखेर एनपीबीसीएललाई यो सुरुङमार्ग परियोजनाबाट बाहिर निकाल्न आग्रह गरेको थियो । तर, संघीय सरकारले कुनै निर्णय लिएको छैन ।

संघीय सरकारले चासो नदिएपछि प्रदेश सरकार यो सडकमार्गको एउटा खण्डमा आफैंले सुरुङमार्ग निर्माण गर्न अग्रसर भएको हो । काम सुरु गर्न संघीय सरकारबाट स्वीकृति नपाउँदै प्रदेश सरकारले सुरुङमार्गको अध्ययन गरेको छ । प्रदेश सरकारले भीमफेदी–कुलेखानी खण्डमा मात्रै सुरुङ बनाउन लागेको हो ।

प्रदेश सरकारले यो योजना चालु आर्थिक वर्षको बजेटमा राखेको थियो । गत आर्थिक वर्षमा यो आयोजनाको अध्ययनका लागि राखिएको बजेट फ्रिज भएको थियो । यस वर्ष भने प्रदेश सरकारले अध्ययन सकाएर ठेक्का लगाउन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*