चितुवाबाट यसरी जोगिएका गोकुल बाँस्कोटा बने मान्छेको शिकार !
भ्रष्टाचारको आरोप लागेर मन्त्री पद त्यागेका गोकुल बाँस्कोटा सम्पन्न परिवारका व्यक्ति हुनुहुन्थ्यो । यो धेरैलाई थाहा छ, तर आर्थिक रूपले सम्पन्न बन्ने र सुखसयलको जिन्दगी बिताउने उद्देश्य बोकेका व्यक्तिमा पनि गोकुल पर्नुहुन्न ।
जडीबुटीनजिकै भक्तपुरपट्टिको मनोहरा नदी किनारको फाँटमा तीनआना जमिनमा बनेको सानो घरमा दुई छोरा र पत्नीसहित गोकुलको बसोवास छ ।
दुई वर्षअघि मन्त्री (शुरुमा राज्य) नियुक्त भएपछि घरमा आगन्तुकहरूको भिड बढ्यो । बस्नका लागि मन्त्रीनिवास (हरिहरभवन) मा उनले घर पाउनु भएन ।
घरमा आएका शुभचिन्तक तथा आगन्तुकहरूले बाथरुम (ट्वाइलेट) प्रयोग गरेर बिहानै ट्याङ्कीको पानी सिध्याइदिएपछि गोकुल ननुहाईकन मन्त्रालय जाने गर्नुहुन्थ्यो ।
केही दिनदेखि नुहाउन नपाएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएपछि ओलीले आफ्नै निवासमा बिहान बिहान आएर नुहाउन भन्नु भएको थियो । ओलीको त्यस्तो भनाइपछि गोकुल बिहान उठेर नुहाउनका लागि प्रधानमन्त्रीको निवास स्थान पुग्ने गर्नुहुन्थ्यो ।
केही दिनसम्म यो क्रम चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुललाई बालकोटस्थित आफ्नो निजी निवासमा बसोवासको व्यवस्था मिलाइदिनु भएको थियो ।
गोकुल बाँस्कोटा मन्त्री भएको एक वर्षपछि (२०७५ माघमा) यो संवाददाता कुराकानीका निम्ति निवासस्थान पुगेको थियो ।
‘कुनै बेला मन्त्री बनिएला र यसरी प्रधानमन्त्रीको निजी घरमा बसोवास गरिएला भन्ने सोच्नुभएको थियो’ भन्ने प्रश्नको जवाफमा गोकुलले भन्नु भएको थियो, ‘कहिल्यै कल्पना गरेको थिइनँ, म त हिँड्दाहिँड्दै यहाँसम्म आइपुगेको हुँ ।’
० तपाईंको बोल्ने शैलीलाई लिएर निकै टीका–टिप्पणी भएको छ, अलिक नरम भएर प्रस्तुत हुन सकिँदैन ?
– म कुनै खानदानी परिवारमा जन्मे–हुर्केको मानिस होइन । जसरी हुर्किएँ त्यस्तै बोली–वचन भयो, कसरी बोल्यो भने नरम भइन्छ भन्ने मलाई थाहा पनि छैन ।
हजुर आइबक्स्योस्, गइबक्स्योस भन्ने प्रकारको भाषा बोल्न म जान्दिनँ । तथापि सबैले नरम हुनुपर्छ भनेकोले म कोसिस चाहिँ अवश्य गर्दै छु ।
० मन्त्री भएपछि पैसा कमाइन्छ भन्छन् र त्यस्तै देखिएको पनि छ, मन्त्रीले कमाउँछन् भन्नेबारेमा तपाईंको धारणा के छ ?
– कसै–कसैले कमाए पनि होलान्, तर म त्यतापट्टि लाग्दिनँ । म पैसा कमाएर आजको हैसियतमा आइपुगेको होइन र, कमाउनुपर्छ भन्ने मेरो दिमागमा पनि छैन ।
अहिले मलाई जुन हैसियत प्राप्त भएको छ यो नै मेरो निम्ति पर्याप्त हो । योभन्दा माथि पुग्ने या धनी बन्ने मेरो सोचाइ छैन ।

तपाईं कमाइ कार्यतिर लाग्नुहुन्न भन्ने कुरामा कसरी विश्वास गर्न सकिएला भन्ने प्रश्नमा उहाँले जे भने त्यस आधारमा तयार गरिएको व्यहोरा यहाँ प्रस्तुत छ–
घरदेखि एक घन्टाको दूरीमा भएको घट्टमा जौ र मकै पिसाउन जानु भएको थियो । दश पाथी जौ र मकै बोकेर भाउजूसँगै घट्ट गएका उहाँले पिस्ने पालो आउन समय लाग्ने देखेपछि भाउजूलाई घर फर्काइदिए र आफू मात्र घट्टमा बस्नु भयो ।
राति आफ्नो पालो पाउनै लागेका बेला खोलामा ठूलो बाढी आयो र घट्टको बाँध बगाइदियो । त्यही जौ र मकै पिसिएर आएपछि पेटभरि खाने प्रतीक्षामा परिवारका सदस्यहरू बसिरहेको हुनुहुन्थ्यो ।
उहाँ अर्थात् गोकुल बास्कोटाले बुद्धि लगाउनु भयो, घट्टनजिकै भिरालो परेको जमिनमा खेत थियो, उहाँ खेतका कान्ला चढ्दै माथि पुग्नु भयो र गह्रामा जमेको पानी आली भत्काएर झार्नु भयो, त्यसरी झरेको पानी घट्टसम्म आइपुग्ने कुलोमा झर्थ्यो र, केही घन्टासम्म घट्ट घुमाउन पुग्ने पानी कुलोमा आउँछ भन्ने अनुमानका आधारमा गोकुल त्यसरी खेतको गह्रागह्रामा जम्मा भएको पानी झार्नका निम्ति आली भत्काउन जानु भएको थियो ।
उहाँको अनुमान सही निस्कियो, खेतमा जम्मा भएको पानी ओर्लिएर कुलोमा आइपुग्यो, त्यही पानीले घुमाएको घट्टले गोकुलको ‘जौ–मकै’ पिस्न थाल्यो । भोलिपल्ट उज्यालो भएपछि पिसिएको पिठो दुईवटा साना बोरामा भरेर गोकुल घर जान भनेर हिँड्नु भयो ।
लेकतिर (नगरकोट क्षेत्रमा) भीषण वर्षा भइरहेको थियो र, जुन खोला तरेर उहाँ आउनुपर्ने थियो त्यसैमा बाढी आयो । एउटा बोरा वारिपट्टि राखेर अर्को बोरा बोकी लौरो टेक्दै खोला पार गर्नु भयो उहाँले ।
खोला बढ्दै थियो र उहाँले अर्को एउटा बोरा लिन फेरि फर्किएर खोला तर्नुपर्ने थियो । आफू पारि पुगेपछि अर्को बोरा लिएर आउन नसक्ने भइयो भने समस्या पर्ने ठान्नु भयो र उहाँले वारिपट्टि ल्याइएको बोरालाई एउटा सानो ओडारजस्तो ठाउँमा सुरक्षित राख्नु भयो ।
त्यसपछि अर्को बोरा लिन खोलामा पसे, पहिलेभन्दा पानी निकै बढिसकेको थियो, सम्पूर्ण बल र बुद्धि लगाउँदै उहाँले खोला तर्नु भयो । नाम्लो लगाएर बोरा बोकेको मात्र के थियो, खोलो उर्लिएर आयो, उहाँ रोकिनु भयो, वर्षात् रोकिएन ।
त्यसपछि गोकुल घट्टमै फर्किनु भयो । घट्टका मालिक एक्लै हुनुहुन्थ्यो, खोला घट्ने र आफ्ना ग्राहकलाई घर पठाएर आफू पनि घर फर्कने सोचमा घटुवारे हुनुहुन्थ्यो । झमक्क रात पऱ्यो, तर खोला घट्ने सुरसार देखिएन ।
६ कक्षा पढ्दै गरेका किशोरवयका केटोलाई रातको समयमा एक्लै छोडेर जान घटुवारेको मनले मानेन, उहाँ त्यस रात घट्टमै बस्ने हुनुभयो । दुईजना मिलेर आगो बाल्नु भयो, त्यही आगोमा जौ र मकैको पिठोको रोटी पकाएर, खाएर र सुत्नु भयो ।
रातभरि पानी परिनै रह्यो, भोलिपल्ट खोलाको आकार झन् बढ्यो, पानी रोकिने र खोला घट्ने प्रतीक्षामा उहाँ घट्टमै बस्नु भयो । गोकुलसँग भएको पिठो बाँकी छउञ्जेल खानेकुराको चिन्ता थिएन, तर, आफूले बढीमा दुईवटा मात्र रोटी खाँदा घटेराले चारवटाभन्दा धेरै रोटी खाने गरेकोमा चाहिँ गोकुल निकै चिन्तित बन्नु भएको थियो ।
उहाँको चिन्ता घट्वारेले खाएकोमा भन्दा घरमा भोकै बसेका परिवारसम्म पुऱ्याउनुपर्ने पिठो बाँकी नै नरहने हो कि भन्नेमा थियो ।
दोस्रो दिन पनि खोला घटेन, पारिपट्टि माथितिरबाट एकजना मानिस घट्टलाई लक्षित गरेर आउँदै गरेको देखियो । नजिकिँदै गर्दा गोकुलले ती व्यक्ति आफ्नो दाजु भएको पहिचान गर्नु भयो । उहाँ खोलाको किनारमा पुगे, दाजु र भाइ खोलाको वारिपारि भए । खोला तर्न सकिने अवस्था थिएन ।
गोकुलले दाजुलाई अघिल्लो दिन एक बोरा पिठो राखिएको ठाउँतिर जान इसारा गर्नु भयो । गोकुलले इसारा गरेको ठाउँमा पिठोको बोरा भेटिएपछि सो बोरा लिएर गोकुलका दाजु आफ्नो घरतर्फ फर्किनु भयो ।
खोला घटेपछि अर्को बोरा पिठो लिएर आउने बताउँदै उहाँले दाजुलाई खोलावारिबाटै बिदाइ गरे र गोकुल आफू घट्टमै फर्किनु भयो । वर्षात् जारी थियो र घट्ट बन्द थियो ।
यसरी घट्टमा बस्दा आफ्नो घरमा समस्या परिरहेको बताउँदै हुनुहुन्थ्यो ती घटुवारे । साँझ पर्नुअघि नै उहाँले भन्नु भया, ‘बाबु, आज राति म यहाँ बस्न सक्दिनँ, तिमी यहीँ बस्नु । चितुवाहरू यता हिँडिरहेका हुन्छन्, आगो बाल्नु र नडराईकन बस्नु, म जान्छु ।’
चितुवा आउने कुरा सुन्दा गोकुल एकछिन झस्किए, तर घट्वारे त्यहाँबाट गएमा आफ्नो पिठो जोगिने कुरा सम्झिए र उहाँले ‘हुन्छ’ म एक्लै बस्न सक्छु भन्ने जवाफ फर्काउनु भयो ।
घट्वारे आफ्नो घरतिर लाग्नु भयो, घट्टमा केही दाउरा थिए, गोकुलले थप केही दाउरा जम्मा गर्नु भयो र घट्टको वरिपरि चार ठाउँमा आगो बाल्नु भयो, रोटी पकाउनु भयो र खानु भयो ।
रात परिसकेको थियो, उहाँले आगोमा दाउरा थप्नु भयो र आफू बीचमा बस्नु भयो । डरले निदाउन सक्नु भएको थिएन, पानी घरी वर्षने र घरी रोकिने क्रम चलिरहेको थियो ।
मध्यराततिर पानी रोकियो, त्यसरी पानी रोकिएको एकै छिनपछि चितुवा कराएको आवाज गोकुलको कानमा पऱ्यो । उहाँले आगोमा दाउरा थप्नु भयो र, डरले काँप्दै बस्नु भयो ।
चितुवा घट्टमै आइपुग्यो, घुर्दै गोकुललाई लक्षित गरेर भित्रपट्टि गोकुल बसेको ठाउँमा छिर्न खोज्यो । चारैतिर आगो बलिरहेको थियो र बलिरहेको एउटा अगुल्टो हातमा लिएर गोकुल बीचमा बस्नु भएको थियो ।
चितुवाले मुख मिठ्याउँदै गोकुल भएको ठाउँमा पस्ने कोसिस गऱ्यो । घरि एकापट्टिबाट त घरि अर्कोपट्टिबाट भित्र पस्ने कोसिस गर्दागर्दैै चितुवाले करिब आधा घन्टाको समय बितायो ।
घरिघरि त दुईतिरको आगोको चेपबाट झन्डै भित्र छिर्न खोज्थ्यो, गोकुल काँपिरहेको आफ्नो हातको अगुल्टो चितुवा भएतिर सोझ्याउँनु हुन्थ्यो । अगुल्टोले हान्न खोजेझैँ गरेपछि चितुवा पछि हट्थ्यो ।
यसरी करिब आधा घन्टासम्म गोकुलले बाँच्ने र चितुवाले उहाँलाई खाने प्रयास भइराख्यो । शिकार सजिलै हात नपर्ने देखेर हुनुपर्छ, चितुवा त्यहाँबाट हिँड्यो । हिँड्नुअघि गोकुललाई पक्रने गरी अन्तिमपटक चितुवाले झम्टिएको थियो । तर, उहाँ छलिए र बाँच्नु भयो । त्यसपछि चितुवा त्यहाँबाट हिँड्यो ।
आगोको उज्यालो फैलिएसम्मको ठाउँमा चितुवा देखिएन, डराई–डराई उहाँले आगोमा दाउरा थपे र दाउरा थप्दै रात कटाउनु भयो ।
पानी परिरहेकै थियो, वर्षा भइरहेको र खोला बढेका कारण तीन दिनदेखि घट्टमा कोही पनि आइरहेका थिएनन् । उज्यालो भइसकेपछि गोकुलले हातमुख धोए, रोटी पकाएर खानु भयो । रातभरि जाग्राम बस्नु भएको थियो, रोटी खाएपछि उहाँ निदाउनु भयो ।
दिउँसो भएको अनुमान गर्न सकिन्थ्यो, वर्षात् र खोला घटिरहेको थिएन । आजको रात पनि घट्टमा एक्लै बिताउनुपर्ने सङ्केत गोकुलले पाइरहनु भएको थियो ।
घट्टबाट बाहिर निस्किएर उहाँले वरिपरिबाट दाउरा सङ्कलन गर्नु भयो । साँझ नपर्दै रोटी पकाएर खानु भयो र चारैतिर अघिल्लो रातको भन्दा ठूलो आगो बाल्नु भयो ।
बलिरहेको आगोमा मुढा झोस्नु भयो र रातभरिलाई पुग्ने गरी आगोको इन्तिजाम गर्नु भयो । रात बढ्दै गएपछि उहाँ घट्टमाथि झुन्ड्याइएको सोलीभित्र छिर्नु भयो ।

जुन सोलीमा पाथीका पाथी अन्न अट्थ्यो, त्यहाँ बाह्र–तेह्र वर्षका किशोर गोकुल नअट्ने कुरै थिएन । सोलीमा बसेर रात काट्नु सजिलो थिएन, तर जीवनरक्षाका निम्ति त्योभन्दा सुरक्षित ठाउँ पनि त्यहाँ थिएन ।
पूरा रात पानीघट्टको सोलीमै काट्नु भयो गोकुलले । चितुवाले उहाँलाई देखेन र उहाँले पनि चितुवा देख्नुपरेन ।
भोलिपल्ट उज्यालो हुँदा आकाश थामिएको र खोलामा पानी पनि कम भइसकेको थियो । खोला तर्न सक्ने देखिएपछि गोकुलले नाम्लो लगाएर पिठोको बोरा बोके र घर फर्किनु भयो, जहाँ बिरामी आमासहित परिवारका दुःखी सदस्यहरू उनको प्रतीक्षामा बसिरहनु भएको थियो ।
०३९ साल साउनको महिना भर्खर प्रारम्भ भएको थियो । आमासहित परिवारका सबै सदस्य एक–एक गर्दै बिरामी पर्नु भयो । बाँस्कोटा परिवारका कनिष्ट पुत्र गोकुल जो ६ कक्षामा पढ्दै हुनुहुन्थ्यो ।
उहाँ बिरामी पर्नबाट जोगिनु भएको थियो । सिकिस्त बिरामी आमालाई जाउलो बनाउन कतैबाट एकपाथी चामलको जोहो गरिएको थियो । मकैको थाँक्रो तथा धानको भकारी रित्तिएको र अन्नका नाममा बिउका लागि राखिएको केवल दश पाथी (करिब ४० केजी) जौ बाँकी थियो ।
दुई दिनदेखि घरमा सबै सदस्य भोकै थिए, गोठमा बाँधिएका गाईभैंसीले घाँससमेत खान नपाउने स्थिति भयो । भोक र बिरामीले ग्रस्त कोही पनि घाँस–पानीको जोहो गर्न सक्ने स्थितिमा थिएनन् । बिरामीलाई औषधि खुवाउन नसके पनि खाना त कुनै न कुनै तरिकाले उपलब्ध गराउनैपर्ने हुन्थ्यो ।
घरमा अन्न सकिएको र सबै भोकै बस्नुको पीडा त छँदै थियो, त्योभन्दा ठूलो पीडा घरमा अन्न सकिएर भोकै बस्नुपरेको जानकारी छिमेकीहरूले पाउँछन् कि भन्ने थियो ।
घरमा खाद्यान्न सकिएको सूचना छरछिमेकीले पाए भने माटोमा इज्जत मिल्ने त्रास बास्कोटा परिवारलाई थियो । स्वयम् नवकिशोर गोकुल बाँस्कोटा पनि यस कुराप्रति सचेत हुनुहुन्थ्यो ।
इज्जत बचाउने उपाय सोच्दासोच्दै भोकै बसेको दोस्रो दिनको पनि साँझ पऱ्यो । गोकुलले अचानक घरबाट निस्किएर एउटा लौरो खोज्नु भयो । हातमा लौरो बोकेर उहाँ सोझै आफ्नो मकैबारीतिर लाग्नु भयो ।
साँझ ढल्किएर रातमा रूपान्तरित हुँदै थियो, हातमा लौरो लिएका गोकुल आफ्नो मकैबारीको डिलमा पुगेपछि ठिङ्ग उभिनु भयो, चारैतिर आँखा लगाउनु भयो । कोही कतै नदेखिएपछि लौरोको दुई छेउमा आफ्ना दुई हातले समाउनु भयो र मकैका बोेट ढाल्दै (सोत्तर बनाउँदै) अघि बढ्नु भयो ।
हुरीबतासले ढालेस्तै देखिने गरी करिब आधा रोपनीजति बारीको मकै ढालेपछि उहाँ घर फर्किनु भयो । भोलिपल्ट बिहान बारीको मकैका बोट भुइँमा सुतेको खबर छरछिमेकीहरूले गोकुलका घरमा पुऱ्याए ।
घरका बिरामी सदस्यहरू थप चिन्तित भए, तर गोकुलले भने बारीतिर गए र मकै भाँच्दै आफूले लिएर गएको डोकोमा राख्नु भयो । मकैका बोटचाहिँ गाईभैंसीका लागि बिस्तारै ओसार्नु भयो ।
हरियो मकै छोडाएर घाममा सुकाइयो, उहाँकी भाउजूले बिउका लागि राखिएको जौ ढिकीमा लगेर कुट्न थाल्नु भयो । आँगनमा सुकाएको मकैलाई घाम अस्ताउनु भन्दा अघि नै ढिकीमा कुटिएको जौमा मिलाइयो ।
काँचो (हरियो) मकै घट्टमा नपिसिने भएकोले त्यसरी जौमा मिसाइएको थियो । भाउजूको सहयोगमा गोकुलले दुईवटा साना बोरामा ‘त्यो’ राख्नु भयो । एउटा भाउजूले बोक्नु भयो र अलिक सानो बोराचाहिँ उहाँले बोक्नु भयो ।
साँझ परिनसक्दै उहाँहरूलाई घट्ट पुग्नु थियो । सामान्यतया एक घन्टाको बाटो भए पनि त्यस दिन आधा घन्टामै उहाँहरू घट्ट पुग्नु भएको थियो ।
अन्न पिसाउन पालो कुरेर त्यहाँ अन्य केही मानिस पनि बसिरहेका थिए । राति ढिलो मात्र पालो आउने देखिएपछि गोकुलले आफ्नी भाउजूलाई घर फर्किन आग्रह गर्नु भयो ।
आकाश धुम्मिएको थियो, पानी परिहाल्यो भने खोला बढ्ने भएकोले नगरकोट र पाँचखालको बीच पहाडमा पर्ने आफ्नो घरतिर भाउजू फर्किनु भयो । पिस्ने पालो पर्खिएर गोकुल बस्नु भयो घट्टमै । ज्यान बचाउनका लागि पिठो बनाउन घट्ट पुग्नु भएका गोकुलको ज्यान झन्डै त्यही घट्टमा चितुवाको सिकार बनेको थियो ।
काभ्रे जिल्लाका बासिन्दा र पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि परिचित भए पनि गोकुल बाँस्कोटालाई आम देशवासीले चिनेकोचाहिँ मन्त्री बनेपछि नै हो । सूचना तथा सञ्चारजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने युवा व्यक्तित्वप्रति आम देशवासीले आँखा र कान लगाए ।
गोकुलको बोलीमा रस नभेटिएपछि उहाँको प्रस्तुतीकरणलाई लिएर नकारात्मक टिप्पणी हुन थाल्यो । उहाँ कति इमानदार हुनुहुन्छ, कति न्यायप्रेमी हुनुहुन्छ वा योग्य हुनुहुन्छ भन्नेतर्फ मानिसले ध्यान दिएनन् । बोलीकै आधारमा मानिसले गोकुलप्रति धारणा बनाउन थाले । उनी स्पष्ट बोल्छन्, जे गर्ने हो त्यही भन्ने र बोले बमोजिम गर्ने उहाँको स्वभाव–चरित्र हो ।
अत्यन्त सङ्घर्षपूर्ण पृष्ठभूमिबाट राजनीतिमा आएका गोकुल छलकपट र चाकडी(चाप्लुसी जान्दैनन् । कुनै बेला मन्त्रीको जिम्मेवारी लिनुपर्ने सपना पनि उहाँले देख्नु भएको थिएन । अल्पायुमै आमाको निधन भएपछि गोकुलले प्रेमिल वातावरणसँग साक्षात्कार गर्ने मौका पनि पाउनु भएको थिएन । जसरी हुर्किए त्यसैगरी बोल्न सिक्नु भयो ।
सुख पाउनका लागि दुःखबाहेक अरू केही गर्नु हुन्छ वा पर्छ भन्ने उहाँले कहिल्यै सिक्नु भएन । दुःखको जिन्दगी कस्तो हुन्छ गोकुलले बाल्यकालदेखि नै महसूस गर्नु भएको हो ।
बेइमानीको कला उनले कसैबाट सिक्न चाहनु भएन । मन्त्रीको जिम्मेवारीमा रहँदा पनि आत्मविश्वासका साथ आफ्नै मौलिक शैलीमा प्रस्तुत हुन सक्नुको मूख्य कारण के हो भने उहाँमा अन्तरनिहित इमान ।
रस मिसाएर बोल्नेहरूमध्ये कैयनको मन र व्यवहार विष मिश्रित रहने गरेको महसुस धेरैले गरेका छन् । तर, गोकुल ‘इमानका साथ काम गर्नेले सायद बोलीमा रस मिलाउन आवश्यक नपर्ने’ ठान्नुहुन्छ, टर्रो बोली गोकुलको पहिचान बनिसकेको छ ।
आफूले जीवनमा भोगेको दुःख गोकुल सायद बिर्सन चाहँनु हुन्न । किनभने त्यसले उहाँलाई इमानदारीका पक्षमा दृढतापूर्वक उभिन सहयोग गरिरहेको बुझ्न सकिन्छ ।
तर, इमानदारीको पक्षमा दृढतापूर्वक उभिएको दाबी गर्ने गोकुल बाँस्कोटा यतिबेला भ्रष्टाचारको आरोपमा पदमुक्त हुनु भएको छ । उहाँमाथि भएको छानबिनले सत्यतथ्य पत्ता लगाउने विश्वास गरिएको छ ।
यसरी आफ्नो जीवनकथाको केही अंश बताउँदै त्यस दिन गोकुलले भन्नु भएको थियो, ‘म धेरै दुःखबाट यहाँसम्म आइपुगेको हुँ । सङ्घर्ष र दुःखबाट आएको मजस्तो मान्छेका निम्ति अहिले प्राप्त उचाइ अकल्पनीय छ ।
त्यसैले म पैसा कमाउनेतिर लाग्दै लाग्दिनँ, एउटा इमानदार मानिस सिद्ध भएर सरकारबाट बाहिरिनेछु ।’ तर, गोकुलले सोचेजस्तो परिणाम अहिले आएन ।
घटना राजनीतिक या अन्य जुनसुकै कारणबाट सिर्जना भएको भए पनि चितुवाबाट जोगिएका गोकुल यतिबेला मान्छेको भने शिकार बन्नु भएको छ । साभारः घटना र विचार डटकम
