अमेरिकामाथि नेपालको कीर्तिमानी जित, ५.२ ओभरमै लक्ष्य पूरा
काठमाडौं, २९ माघ । नेपालले अमेरिकामाथि बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको क्रिकेट विश्वकप लिग २ मा कीर्तिमानी विजय हात पारेको छ ।
अमेरिकालाई बुधबार एकदिवसीय अन्तर्राष्ट्रियको कीर्तिमानी न्युन स्कोर ३५ रनमा अलआउट गरेको नेपालले ५.२ ओभरमै विजय लक्ष्य पूरा गरेको हो ।
पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० तथा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बनाएपछि नेपालले विजय लक्ष्य तेस्रो तीब्र गतिमा पुरा गरेको हो । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्यमा आउट भएका थिए ।
यसअघि सन्दीप लामिछानेले ६ र सुसन भारीले ४ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न आएको अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भयो ।
अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रियको न्युन स्कोरको नकरात्मक कीर्तिमानलाई बराबरी गरेको थियो । श्रीलंकाले सन् २००४ मा जिम्बावेलाई हरारेमा ३५ रनमै अलआउट गरेको थियो ।
अमेरिकाले एकदिवसीयमा सबैभन्दा कम बलको सामना गरेको कीर्तिमान पनि बनाएको हो । जिम्बावे २०१७ मा अफगानिस्तानसँग ५४ रनमा अलआउट हुदा १३.५ बलको सामना गरेको थियो ।
यो पनि पढ्नुहोस् ।
