जब मदनको शालिक अगाडि पुगिन् राष्ट्रपति भण्डारी
हेटौंडा, १४ माघ । नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार हेटौंडा आइन् । मध्यान्ह १ बजे हेटौंडा आइपुगेकी राष्ट्रपति भण्डारीले शहिद स्मारकमा रहेको स्वर्गीय जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् ।
उनले शहिद स्मारकमा स्थापित जननेता भण्डारीको शालिक र शहिदहरुको स्मारकमा पुष्पगुच्छा चढाएकी थिइन् ।
जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीको श्रीमती हुन् विद्यादेवी भण्डारी । उनको विवाह (२०३९ सालमा) विद्या (पाण्डे) भण्डारी सँग भयो । जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेर चर्चाको शिखरमा पुगेका मदनले जननेताको उपमा पाएका छन् ।
बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो ।
उनको मृत्युपछि शहिद स्मारक विकास समिति हेटौंडा–११ ले भण्डारीको शालिक निर्माण गरेको हो । शालिकसँगै उनको मृत्यु कसरी र कहाँ भयो त्यसको घटना क्रमको बारेमा कंक्रिट नक्शांकन गरिएको छ ।
यसरी भयो मदनसँग विद्याको विवाह
मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो । पछि विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन् ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो । मदन भूमिगत राजनीति गर्थे ।
त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो । कठोर भूमिगत कालमै वि.स. २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिए ।

मदनको राजनीतिक जिवन
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन् । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण र्गयो ।
त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य थिए । २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए ।
अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रुपमा क्रियाशील राजनीतिककर्मीहरुसँग नजीकिने वातावरण बनायो ।
२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरु पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको’को (अर्डीनेशन केन्द्र’मा आवद्ध भई ‘मुक्तिमोर्चा समूह’लाई नै त्यसमा विलय गराइयो ।
२०३५ सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रिय सदस्य बने । २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने।
२०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले(माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी (लेनिनवादी)को महासचिव बने ।
२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए ।
विद्यादेवीको राजनीतिक जविन
भोजपुर क्याम्पसमा आइ.ए.अध्ययन को थालनिसगै वि.सं.२०३५ देखि नेकपा मालेको युवा लिगमा संगठित हुदै विद्याले राजनितिक जीवनको थालनी गरेकी हुन् ।
भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी छन् । करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल महिला संघकी अध्यक्ष छिन् ।
२०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वा्चित भएकी हुन् ।
उनी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपति तथा नेपालकै पहिलो महिला राष्ट्रपति हुन् । भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन् ।
