हेटौंडामा आज पुनः संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०७६ पुष १९, शनिबार ०९:१६

हेटौंडा, १९ पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक आज शनिवार पुनः बस्दैछ । शुक्रबार दिउँसोदेखि सुरु बैठक आज पुनः बस्ने गरी स्थगित भएको थियो ।

मुख्यमन्त्री निवासमा दिउँसो साढे २ बजेदेखि सुरु बैठक साँझ ६ बजेसम्म चलेको थियो । बैठकमा २४ जनाले बोल्न नाम टिपाएका थिए भने १७ जनाले मात्रै आफ्ना धारणा राखेका थिए ।

बैठक सम्भवत आज टुंगिने बताइएको छ । ‘बैठकआज सकिन सक्छ यदी सहमति हुन नसके भोली आइतबारसम्म पनि बैठक लम्बिन सक्छ ।–’ तु खबरसँग कुरा गर्दै प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले भने ।

बैठकमा प्रदेशसभा सदस्यहरुले प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा आफ्नो धारणा राखेका थिए । बैठकमा राजधानी र नामाकरण जनभावना विपरित राख्न नहुने सांसदहरुको भनाई थियो ।

प्रदेश ३ को राजधानी र नामको विषयमा संसदीय दल एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा प्रदेशसभा सदस्यहरुले राखेका थिए । उनीहरुले जनभावना बुझेर पायक पर्ने स्थानमा राजधानी राख्नु पर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले गत आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यसविषयमा समर्थन र विरोध हुँदै आइरहेको छ ।

नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ ।

प्रदेशसभाको बैठक नजिकिँदै जाँदा राजधानीको विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्रै तीव्र विरोधले निर्णय कार्यान्वयनमा सकस देखिएको छ । प्रदेश ३ को राजधानी र नामको विषयले सत्तारुढ दल नेकपाभित्रकै सांसदहरुको असन्तुष्टि छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*