यस्तो थियो सचिव लोकनाथ पौड्यालको लीला

तु खबर संवाददाता
२०७५ चैत्र २७,बुधबार १८:०५

मकवानपुर, २७ चैत । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले हिजो साँझ ६ बजेतिर सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाई दिएपछि आज दिनभरि जसो खैलाबैला मच्चिएको छ ।

तु खबरले सचिव पौड्यालको कार्यकक्षमा ताला किन लगाइयो भन्ने बारेमा केही बुझ्ने प्रयास गरेको छ । खासमा सचिव पौड्यालले मन्त्रालय हाजिर भएकै दिनदेखि लीला देखाइरहेका थिए । कर्मचारी स्रोतका अनुसार, मन्त्रालयमा आएकै दिन नै त्यतिबेलाका सचिव दीर्घनारायण पौडेलको नेम प्लेट नै उल्टाएर फालिदिएका थिए । गत महिनाको २२ गते लोकनाथ पौड्याल सरुवा भएर समाजिक विकास मन्त्रालय हाजिर भएका थिए । काम विशेषले बाहिर रहेका दीर्घनारायण को नेम प्लेटनै फालिदिएपछि मन्त्रालयका कर्मचारीहरु नै चकित थिए ।

सचिव पौड्यालले मन्त्रालयमा आएका निवेदनहरु पनि दर्ता नगरी आफ्नै टेबुलमा थन्काएर राख्ने गरेका छन् । अधिकृत स्तरका कर्मचारीबाहेक अरुलाई आफ्नो कार्यकक्षमा नआउनू भनेर उर्दी पनि जारी गरेका पीडित कर्मचारी बताउँछन् ।

खास विवाद के थियो :

सचिव लोकनाथ पौड्यालले मन्त्रालयमा कामै गरेका थिएनन् । मन्त्री युवराज दुलालले २५ लाख रुपैयाँसम्मको काम गर्ने अधिकार महाशाखा प्रमुखलाई दिने निर्णय गराउन चाहेका थिए । तर, पौडेल त्यसमा बाधक बने । बाधक मात्र बनेनन्, मन्त्रीले भनेका कानून सम्मत निर्णयहरु पनि नगर्ने हेपाहा प्रवृत्ति देखाउन थाले ।

हिजो मंगलबार मन्त्रालयमा मिटिङ समेत बसेको थियो । कार्यशैलीमा सुधार नआएपछि मन्त्री दुलालले सचिवको कार्यकक्षमै ताला लगाइदिएका हुन् ।

त्यसपछि प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालसँग पनि हिजै साँझ छलफल भएको थियो । त्यसपछि प्रमुख सचिव ढकालले सचिव पौड्यालको १० दिने घर विदा स्वीकृत गरी काठमाडौँ पठाइदिएका छन् ।

र, यो पनि पढ्नुहोस्

– अपडेट : स्पष्टिकरण सोधेको छु,पहिलेको मितिमा सही नगरोस् भनेर ताला लगाइदिएको हुँ : मन्त्री दुलाल

– मन्त्री दुलालले लगाए सचिवको कार्यकक्षमा ताला

– १० दिनको घरबिदा स्वीकृत गरेर आएको हुँ, अरु थाहा छैन :  सचिव पौड्याल