मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्जको छैठौं वार्षिकोत्सव सम्पन्न
काडमाण्डौ ९ साउन । प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेको प्रमुख आतिथ्यमा मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्जको छैठौं वार्षिकोत्सव२०७५ नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा मंगलबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक न्यौपानेले एफएमका प्रहरी कर्मचारीहरु तथा ट्राफिक एफएमलाई सहयोग गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशंसापत्र प्रदान गर्दै सडक दुर्घटना न्यूनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक प्रहरीका कामहरु सम्बन्धी समाचार सम्प्रेषण गर्न एफएमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। सीमित स्रोत साधनका बाबजुद पनि उत्कृष्ट सेवा प्रदान गर्दै आएको एफएमलाई समयानुसार थप विकास गर्नुपर्नेमा उनले जोड दिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा एफएमका स्टेसन म्यानेजर प्रहरी निरीक्षक रामबाबु रानाले मेट्रो ट्राफिक एफएमको गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए ।
सो अवसरमा सडक बोर्ड नेपाल, वैदेशिक महाशाखाका उपनिर्देशक सन्जय श्रेष्ठले ट्राफिक एफएमको लागि एशिएन डेभलपमेन्ट बैंकको सौजन्यमा प्राप्त सर्भर हस्तान्तरण समेत गरेका थिए ।
