काँग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित
काठमाडौँ, ९ साउन । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।
प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गरे ।
उनले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे ।
अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष दलका सांसदहरुले सदन अवरुद्ध गर्नुभएको हो भन्दै कारण खुलाउन माग गरे ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गर्नुभएको छ । उनले प्रतिपक्षी दलका सांसदहरुलाई बैठक सञ्चालन गर्नका लागि बसिदिन पटकपटक आग्रह गरे ।
