हेटौडाका उपभोक्ता भन्छन् : जारको पानी किनेर पिउँदा पनि रोग लाग्ला भन्ने डर भो
मकवानपुर ८ साउन । पछिल्लो समय हेटौंडाका विभिन्न पानी उत्पादन कम्पनीहरुबाट बजारमा सप्लाई भएको पानीमा फोहोर भेटिएको गुनासो आईरहेको छ । पानीभित्र कमिला, किरा तथा फाहोरका टुक्रा भेटिएको विषयमा सर्वसाधारणहरु गुनासो गर्न थालेका छन् ।
आज मंगलबार पनि हेटौंडामा “माई चोइस” नामक कम्पनीको पानीमा किरा भेटीएको भन्दै सर्वसाधारणहरुले गुनासो गरेका छन् । गुनासो गर्दै एक उपभोक्ता राजन खरेलले भने “माई चोईसकोे पानी पिएकोे धेरै भो तर यस्तो दुषित पानी आफुले किनेर पिइरहेकोमा आफैंलाई आत्मग्लानी भइरहेको छ ।” उनले प्रश्न गरे “पानी कम्पनीको चरम लापरवाहीको कारण पानीमा किरा भेँटिदा समेत मकवानपुरको प्रशासन किन मौन छ ?”
त्यसैगरी अर्का उपभोक्ता सनम लामाले भने “ मेरो साथी अनिल लामाले माई चोईस नामक कम्पनीको पानी बोतलमा सारेर पिएपछि वाकवाक गरे, उनले पानी पिएपछि मात्र किरा देखेछन् , साथीले वाकवाक गरेको देखेपछि त झन मलाई माई चोईस नामक कम्पनीको पानी पिउन निकै डर लाग्न थालेको छ ।”
उपभोक्ताहरुको गुनासो मात्र नभई सामाजिक संजालमा समेत पानीमा किरा भेटीएको भिडियो सर्वसाधारणले अपलोड गर्न थालेपछि तु खबरले माई चोईस नामक पानी उत्पादक कम्पनीका संचालक राजकुमार न्यौपानेसंग किन यस्तो पानी बेचेको भन्ने प्रश्न गर्दा, न्यौपानेले आफुले प्रत्यक्ष बसेर पानी व्यवस्थापनको काम गरेको कारण आफ्नो कम्पनीको पानीमा त्यस्तो फोहोर नभएको बताए । उनले शिल फोरीसकेको जार भएकोले आफुले उक्त जारको पानीमा भएको किराको जिम्मा लिन नसक्ने बताए ।
त्यसोत यस अधि पनि माई चोईस र आक्वा टाईम नामक कम्पनीको पानीमा फोहोरका टुक्रा, कमिला तथा किरा भेटीएको समाचार सञ्चार माध्यममा प्रकासन तथा प्रशारण हुँदै आएका छन् । यस विषयमा मकवानपुरको प्रशासन र सरोकारवाला निकाय पनि बेखबर भने छैनन् । तर पटक पटक उपभोक्ताको गुनासो आईरहँदा पनि पानी कम्पनीले पानीको गुणस्तरमा किन सुधार ल्याउँदैन ? सर्वसाधारणहरु प्रश्न गर्न थालेका छन् ।
