सिन्डीकेटवाला यातायात समिति खारेज गर्ने निर्णयको विरोध गर्दै हेटौँडामा यातायात व्यवसायी आन्दोलित
मकवानपुर, ५ बैशाख । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य गर्दै सिन्डिकेटवाला समितिहरुलाई समेत खारेज निर्णय गरे पछि देशभरमा जस्तै मकवानपुरको हेटौँडामा समेत यातायात व्यवसायीहरु आन्दोलनमा उत्रने भएका छन् ।
बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ , नेपाल ट्रक यातायात व्यवसायी महासंघ , नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ , ढुवानी यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएसन सहितको यातायात व्यवसायी महासंघका संयुक्त आन्दोलन मुल समितिले संयुक्त रुपमा हेटौडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यातायात व्यवसायीहरुले आन्दोलन गर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय एकतर्फी सिण्डीकेट बेरोजगारी निम्त्याउने खेल भएको भन्दै सम्पुर्ण यातायात व्यवसायीहरुले आन्दोलन गर्ने बताए । स्थानिय प्रमुुख जिल्ला अधिकारीको सिफारीसमा परमिट दिने व्यवस्था खारेज गरिनु पर्ने कुरामा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले सरकारले एकतर्फी सिण्डीकेट लाद्न खोजे यातयात क्षेत्रमा अस्तव्यस्त हुने समेत चेतावनी दिए ।
यातायात व्यवसायी महासंघका संयुक्त आन्दोलन मुल समितीले बैशाख ७ गते प्रधानमन्त्री, गृह मन्त्री र प्रदेशको मुख्य मन्त्रीहरुलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने र सरकारले यसलाई नसच्याए २० गतेबाट यातायात अवरोध गर्ने कार्यक्रम तय भएको बताएको छ ।
