सिन्डीकेटको धम्की–बैशाख २६ गतेदेखि अनिश्चितकालिन यातायात बन्द
काठमाडौँ, ०३ बैशाख । यातायात व्यवसायीहरुले सिन्डीकेट गर्न पाउनुपर्ने मागसहित यही बैशाख २६ गतेदेखि अनिश्चितकालिन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले त्यस्तो निर्णय गरेका हुन् ।
सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ ।
त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ । आन्दोलनमा ट्रक व्यवसायीदेखि ट्रिपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । सरकारले आफ्नो मागको सुनुवाइ नगरे सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघ स्रोतले बताएको छ ।
