ईपिएस टपिक परीक्षाको पैसा बुझाउनेको यस्तो छ बेहाल (भिडियो)

तु खबर संवाददाता
२०७४ चैत्र ८,बिहीबार १४:२१
Featured Video Play Icon

मकवानपुर, ८ चैत । कोरियामा रोजगारीका लागि जान बैँकमा पैसा जम्मा गर्ने विद्यार्थीहरुको लाईन मिलाउन मकवानपुरको हेटौँडामा प्रहरीलाई हम्मे–हम्मे भएको छ ।

बिहीबारबाट रोजगार अनुमति प्रणाली (इपीसएस) परीक्षाको आवेदन खुलेपछि हेटौँडाको कान्तिराजपथमा भएको ग्लोबल आईएमई बैंकमा पैसा जम्मा गर्नेको भिड अहिले थामिनसक्ने अवस्थामा छ । भिडलाई शान्त बनाउनका लागि प्रहरीले लाठी चार्ज नै गर्नुपर्ने अवस्था आएको छ । प्रहरीले व्यवस्थित रुपमा लाईन मिलाएर राख्न नसकेका कारण ठेलम–ठेल र पेलिएर विद्यार्थीहरु पैसा तिर्ने तरखरमा छन् । लाईन मिलाएर बसे त्यति अप्ठ्यारो नहुने अवस्था भए पनि यसबारेमा विद्यार्थी र सुरक्षाकर्मी दुबैको ध्यान जान सकेको छैन । सुरक्षाकर्मी बैकको ढोकामा बसेका छन् भने विद्यार्थीहरु पेलाईमा छन् ।


बैँकमा पैसा तिर्नका लागि रातिदेखि नै विद्यार्थीहरु लाईन लागेका थिए । ईपिएस परिक्षा दिन चाहानेहरुले आजदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ ।
आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ ।

ईपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ तर, शुल्क भने बैँकबाटै तिर्नुपर्ने भएका कारण अहिले लाईन बस्नुपर्ने बाध्यता आएको छ । परीक्षा आउँदो जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् भने अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्ने ईपिएस नेपाल शाखाले जनाएको छ ।

यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*