जिप्रका मकवानपुरको हिरासत तोडेर फरार भएका पाण्डे ६ वर्षपछि पक्राउ
मकवानपुर, २३ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत तोडेर फरार भएका एक आरोपीलाई प्रहरीले पूनः पक्राउ गरेको छ । प्रहरीले काठमाडाँै जिल्लाको साविक गोंगबु गाविस वडा नम्बर ६ हाल टोखा नगरपालिका वडा नम्बर ९ गोंगबु गणेशथान बस्ने २७ वर्षीय मिलन पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेलाई वि.सं. २०६८ साल कात्तिक १९ गते बिहान करिब साढे ९ बजे पक्राउ गरिएको थियो । सो समयमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे चेक पोष्टमा बिरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना. ४ ख. १५४ नम्बरको को यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा पाण्डेको साथबाट लागू औषध फेला परेको थियो । उनको साथबाट फेनरागन १४० एम्पुल, डाईजेपाम १४० एम्पुल र नोर्फिन १४० एम्पुल गरी जम्मा ४२० एम्पुल फेला परेपछि उनलाई लागुऔषध डाइजोपाम मुद्धामा म्याद थप गरि ७५ दिनसम्म हिरासतमा रािखएको थियो ।
तर उनी सोही वर्षको माघ ५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा रहेको भेण्टिलेसनमा रहेको फलामको रड काटेर फरार भएका थिए । उनलाई पाण्डेलाई निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा महानगरीय प्रहरी वृत, महाराजगंज काठमाण्डौबाट खटिएको प्रहरी टोलीले मिति फागुन २२ गते गोंगबु बानियाटारबाट पक्राउ सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
