५ वर्षदेखि बन्द भएको राईगाउँको सिचाईँ कुलो सरसफाई सुरु

तु खबर संवाददाता
२०७४ फाल्गुन २३, बुधबार १७:५०

राईगाउँ, २३ फागुन । मकवानपुरको राईगाउँमा रहेको सिँचाई आयोजनाको कुलो आजबाट सरसफाई गर्न सुरु गरिएको छ । ५ वर्षदेखि बाढी र पहिरोले रोकेपछि बन्द भएको कुलो ५ वर्षपछि आजबाट सरसफाई गर्न सुरु गरिएको हो ।

मकवानपुरकै पुर्वी भेगको सबैभन्दा ठूलो आयोजनामा पर्ने राईगाउँ सिंचाइ योजनाको कुलोलाई ‘यु.एस.ए.आइ.डी.’ को आर्थिक सहयोगमा संचालित सबल परियोजना अन्तर्गतको कामका लागि नगद कार्यक्रम ‘क्यास फर वर्क’ मार्फत सरसफाई सुरु गरिएको राईगाउँबाट सूर्य माविका प्रधानाध्यापक प्रमोद राईले जानकारी दिएका छन् ।

तस्बिर–प्रमोद राई

सिंचाइ कुलोको मुहानदेखि नै बाग्मती नदि र खहरे खोलाका कारण पुरिएको कुलो पाँच वर्षदेखि बजेटको अभावमा सरसफाइ हुन सकिरहेको थिएन तर सबलको योजना मार्फत सरसफाई थालिएको राईगाउँ सिंचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर राईले बताए । बाग्मती गाउँपालिका वडा नं १ अन्तर्गतका करौंजे,बन्जरे,माझगाउँ ,बोटगाउँ र हात्तीढुंगा गरि पाँच गाउँका ४ सय ८६ घरधुरीको कृषकका २ सय ६५ हेक्टर जग्गामा पानी पुराउने उदेश्यले वि.सं. २०५३ साल पुस २९ गते नै सिचाईँ आयोजनाका लागि सो कुलो निर्माण गरिएको अध्यक्ष राईले बताए ।

सिंचाइ कुलो भएता पनि बिगत पाँच वर्ष यता खहरे खोलाहरूले ठाउँ ठाँउमा पुरेपछि स्थानीयहरु सिचाईँबाट प्रभावित भएका थिए । स्थानीयको पहलमात्रैले कुलो सरसफाई गर्न सम्भव नभएपछि कृषकहरुले सम्बन्धित निकायलाई गुनासो समेत गरेका थिए । स्थानीयको गुनासो आएपछि राई गाउँमा संचालित सबल परियोजनाको पहलमा सरसफाई सुरु गरिएको सबल–आईभिडीएस का कृषि प्राविधिक राजेन्द्र गोलेले जानकारी दिए ।

करिब साढे ९ किलोमिटर लम्बाई रहेको उक्त सिंचाइ कुलो रू ४ लाख ६२ हजारको लागतमा सरसफाई हुन लागेको हो । सरसफाईको काम करिब ५ दिनमा सकिने कृषि प्राविधिक गोलेले बताए । कुलो सरसफाई सुरु भएपछि स्थानीय समेत हर्षित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*