राष्ट्रपति पदमा भण्डारी र राईको घम्साघम्सी, यस्तो देखियो उम्मेदवारी दर्तामा
– भीष्मराज ओझा
काठमाडौँ, २३ फागुन । मुलुकमा संघीय संसद्को गठनपछि राष्ट्रपति पदका लागि हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने मिति यही फागुन २९ गते तोकिसकेको छ । निर्वाचनका लागि निर्धारित कार्यतालिका अनुसार आज राष्ट्रपति भण्डारी र नेत्री राईले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीद्वारा उम्मेदवारी दर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गराउनुुहुँदै । तस्वीर : रत्न ७नतसेष्ठ, रासस
उहाँहरु दुवैले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराउनुभएको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि राष्ट्रपति पदका लागि यो तेस्रो पटक निर्वाचन हुन लागेको हो । यसअघि डा रामवरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भइसक्नुभएको छ भने हाल दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी पदमा आसीन हुनुहुन्छ ।

नेत्री राईद्वारा राष्ट्रपतिमा उम्मेदवारी
नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गराउनुुहुँदै । तस्वीर : रत्न ७नतसेष्ठ, रासस
नेकपा (एमाले) ले मंगलबार राति राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपति उम्म्मेदवार बनाउने निर्णय गरेको थियो भने नेत्री राईलाई काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दुवै उम्मेदवार भोजपुरवासी
राष्ट्रपतिका दुवै उम्मेदवारको गृह जिल्ला भोजपुर हो । राष्ट्रपति भण्डारी विसं २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङ गाउँमा जन्मनुभएको हो । नेत्री राईको जन्म २००६ साल असार १८ गते भोजपुरको सिनामकमा भएको हो ।
राष्ट्रपति भण्डारी एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष हुनाका साथै एमालेका तत्कालीन महासचिव स्व मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ । काँग्रेस पूर्व केन्द्रीय सदस्य र पूर्व सभासद् नेत्री राई शहीद दिवानसिंह राईकी सुपुत्री हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीद्वारा उम्मेदवारी दर्ता
राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गरी फर्कनेक्रममा सांसदसँग भेटघाट गर्नुहुँदै । तस्वीर : रत्न ७नतसेष्ठ, रासस
आयोगका अनुसार निर्वाचनका लागि फागुन २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने निर्वाचन तालिका छ ।
नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन गइरहेको छ ।
संविधानको धारा ७० अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।

नेत्री राईद्वारा राष्ट्रपतिमा उम्मेदवारी
नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गरी फर्किनुहुँदै । तस्वीर :रत्न ७नतसेष्ठ, रासस
आजदेखि निर्वाचन आचारसंहिता लागू
उम्मेदवारी मनोनयन दर्तासँगै आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । यो निर्वाचन आचारसंहिता अन्य निर्वाचन अचारसंहिताजस्तै सम्बन्धित सबै सरकारी निकाय र व्यक्तिलाई लागू हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो ।
संविधानको धारा ६१ मा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने उल्लेख छ । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

राष्ट्रपति भण्डारीद्वारा उम्मेदवारी दर्ता
राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गरी बाहिरिनुहुँदै । तस्वीर : रत्न ७नतसेष्ठ, रासस
संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ । तर, दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।
संविधानले राष्ट्रपति हुनका लागि संघीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै कानूनले अयोग्य नठह¥याएको भनी योग्यता निर्धारण गरेको छ ।
राष्ट्रपतिले संविधान वा संघीय कानूनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्ने संविधानले व्यवस्था गरेको छ । संविधान धारा ६६ अनुसार राष्ट्रपतिले यो संविधान वा संघीय कानूनबमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।
अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानूनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिशमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुने संविधानमा उल्लेख छ । त्यस्तो सिफारिश र सम्मति प्रधानमन्त्रीमार्फत पेश हुनेछ ।

राष्ट्रपति भण्डारीद्वारा उम्मेदवारी दर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गराउनुुहुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर :रत्न ७नतसेष्ठ, रासस
निर्वाचनमा ८८० मतदाता
नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानूनबमोजिम फरक रहेको छ ।
संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संविधानबमोजिमको निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ ।
निर्वाचनको सिलसिलामा आयोगले मंगलबार मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको थियो । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन् । सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।
उक्त निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति पदका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा निर्धारण गरिदिएको छ । यसअनुसार एक जना उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा बढीमा रु चार/चार लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको अयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । तर, उम्मेदवारका लागि दर्ता शुल्क भने राखिएको छैन । (रासस)
