विवादित छविका शर्मा नेपालको प्रधानन्यायाधीश नियुक्त, पदभार ग्रहण

तु खबर संवाददाता
२०८३ जेष्ठ ५, मंगलवार २०:३०

संवैधानिक परिषद्ले प्रधानन्यायधीशमा सिफारिस गरेका डा. मनोज कुमार शर्मा सर्वोच्च अदालतको ३३ औँ प्रधानन्यायाीशको रुपमा पदभार ग्रहण गरेका छन् ।

कानुन व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त उनी विवादित छवी र कनिष्ठका कारण विवादमा भएपनि प्रधानन्यायाधीश बन्न सफल भएका हुन् । बालेन्द्र शाहको नेतृत्वको सरकारले अध्यादेश ल्याएर शर्माको सिफारिस गरेको हो । संवैधानिक परिषद् बैठकले गत वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनको आजै सुनुवाइ गरी संसदीय सुनुवाइ समितिबाट अनुमोदन समेत गरिएको छ ।

विगतमा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्दा वरिष्ठताका आधारमा गर्ने गरेपनि यसपटक वरीयता मिचेर शर्माको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुने वित्तिकै शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ गराइएको थियो । सपथ लगत्तै उनले आजै प्रधानन्यायाधीशको पदभार ग्रहण गरेका छन् ।

संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि यसले न्याय क्षेत्रबाट व्यापक आलोचना भइरहेको छ ।

सरकारको छाया अदालतमा परेको भन्दै बार एशोसियनशनले समेत विरोध गरिरहेको छ ।