पदमपोखरी झडपमा संलग्न ११ जनालाई सार्वजनिक मुद्धा
मकवानपुर, १९ फागुन । फागुन १७ गते राति पदमपोखरीमा भएको झडपका क्रममा सामुदायिक प्रहरी सेवा उप केन्द्र बनस्पती तोडफोड गर्ने ११ जनालाई पक्राउ गरि सार्वजनिक मुद्धा लगाउने तयारी भएको छ ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३० को निर बहादुर मोक्तान, वर्ष ३० को जंगे लोप्चन, वर्ष २४ को गजेन्द्र पाख्रिन, वर्ष २५ की अञ्जिता तितुङ्ग, वर्ष १६ को अर्जुन मोक्तान, वर्ष २४ को युवराज घलान, वर्ष २० को अनिष श्रेष्ठ, वर्ष ३० को नारायण आचार्य, वर्ष २४ को राजन परियार, वर्ष १७ को राज कुमार सिंतान र वर्ष १६ को राजु पाख्रिनलाई पक्राउ गरेर सार्वजनिक मुद्धा लगाउने तयारी गरेको हो ।
उनीहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२७ अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ६ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै घटनामा संलग्न अन्य थप ब्यक्तिहरुको खोजी कार्य भईरहेको बताइएको छ ।
घटनामा प्रहरी निरिक्षक अनोजजंग रायमाझी, प्रहरी नायब निरिक्षक पदमबहादुर श्रेष्ठ, प्रहरी हवल्दार नबिन कुमार श्रेष्ठ, प्रहरी जवान प्रमोद कार्की र प्रहरी जवान जिवन क्षेत्री घाईते भएका थिए । उनीहरु उपचार पश्चात डिस्चार्ज भई सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस्तो थियाये घटना–
हेटौँडा १३ वनस्पति चोकमा मादक पदार्थ सेवन गरी आएका ३–४ जना स्थानीयले रक्सीको बोतल फुटाई अश्लिल शब्दहरु बोली हो–होल्ला गरेको भनी स्थानीयले त्यहाँस्थित सामुदायिक सेवा केन्द्र ईकाई सामुदायिक प्रहरी सेवा उपकेन्द्र, पदमपोखरीमा प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएपछि उक्त स्थानमा पुगेर प्रहरीले उनीहरुलाई सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरीहरुलाई नै गाली गलौज गरी हातपात समेत गर्न खोजेको कारण तत्काल प्रहरी चौकी पदमपोखरीबाट प्रहरी नायब निरिक्षक पदम बहादुर श्रेष्ठको प्रहरी टोलीलाई उक्त स्थानमा खटिएपनि होहल्ला गर्नेहरुसहित उनीहरुको आफन्त तथा स्थानीयले प्रहरीमाथि नै ढुङ्गामुढा गरेर उनीहरुलाई नियन्त्रण गर्न नदिँदा झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरी फोर्स नपुगेपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अनोजजंग रायमाझीको प्रहरी टोली समेत उक्त स्थानमा खटिदा उनीहरुमाथि समेत आक्रमण भएको थियो । प्रहरीमाथि आक्रमण सुरु भएसँगै आक्रोशित भिडले उक्त उप–केन्द्रको भवनमा ढुङ्गा मुढा गरी तोडफोड गरेको र ढुङ्गा मुढा गर्दा ५ जना प्रहरी कर्मचारीहरु घाईते भएका थिए । साथै सोही हाताभित्र रहेको बा. २ प. ५७१२ नम्बरको मोटर साईकल समेत तोडफोड भएको थियो । घटनाले उग्र रुप लिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एसपी विकासराज खनाल र दङ्ग नियन्त्रण प्रहरी गणको टोली समेत उक्त स्थानमा पुगेर घटनालाई नियन्त्रणमा लिएका थिए ।
