फापरबारीमा लाग्ने रामनवमी मेला अब ५ दिने महोत्सव

तु खबर संवाददाता
२०७४ फाल्गुन १८, शुक्रबार १८:२३

मकवानपुर, १७ फागुन । हरेक वर्ष राम नवमीको अवसरमा पूर्वी मकवानपुरको फापरबारीमा लाग्ने गरेको रामनवमी मेला यो वर्षदेखि महोत्सवका रुपमा परिणत हुने भएको छ । यस अघि ३ दिनमात्र लाग्ने गरेको मेला अब ५ दिने महोत्सवका रुपमा आयोजना हुन थालेको आज हेटौँडामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

बागमती गाउँपालिकाको फापरबारी बजारमा रहेको चौराखोलामा लाग्ने मेला आउँदो चैत ८ गतेदेखि १३ गतेसम्म हुने भएको हो । मेला आयोजक समिति संयोजक टेकबहादुर डिम्डुङले यो वर्ष राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको साथमा विभिन्न सास्कृतिक कार्यक्रमसहित महोत्सव हुने जानकारी दिएका छन् ।

आयोजक समितिका प्रचार विभाग प्रमुख शंकर कुमार पराजुलीले मेलामा करिब १ सय स्टलहरु रहने बताएका छन् । बागमतीको माछा, स्थानीय उत्पादन भएको तरकारी, बेतिनीको कफि, केरा सहितको स्थानीय कृषि उपजले महोत्सवमा स्थान पाउने उनले जानकारी दिए ।

मेलामा तीन नंबर प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिता पनि हुनेछ । जसका लागि नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगल पुरस्कार पाउनेछन् । मेलामा राष्ट्रिय कलाकार रामजी खाँड, कृष्ण रेउले, राजन गुरुङ लगाएतले सांगितीक प्रस्तुति दिनेछन् । मेलाको लागि करिब २० लाख रुपैँया खर्च हुने अनुमान आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*