भिमफेदीमा पुगेर सभामुख श्रेष्ठले भने–‘बुद्धको देश भएकोले हामी धनी छौँ’
मकवानपुर, १७ फागुन । प्रदेश नम्बर ३ सभामुख सानुकुमार श्रेष्ठले नेपाल बुद्धको देश भएकोले धनी भएको बताएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चौकी भञ्ज्याङमा ११ औँ विश्वशान्ति पुजा समापन समारोहमा बोल्दै उनले बुद्धको फेलोसफीका कारण नेपालीहरु धनी भएको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभामुख श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै भने–‘भगवान बुद्धको देश भएकोले हामी गौरव गरिरहेका छौँ ।’ ‘नेपाल तपोभूमि पनि हो, विश्वले नेपाललाई तपोभूमिको रुपमा बुझ्दछन् ।’
कार्यक्रममा बोल्दै सांसद तथा कार्यक्रमका विशेष अतिथि कुमारी मोक्तानले ३ नम्बर प्रदेशलाई सबै हिसाबले एक नम्बर बनाउन काम गर्न आफुहरु तयार रहेको बताईन् । गुम्बा र गाउँपालिकाको विकासमा सबै प्रकारको सहयोग पुराउन प्रदेश सरकार तयार रहेको बताउँदै उनले यसका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि एवं भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले गाउँपालिकाले गुम्बालाई सधैँ सहयोग गर्ने बताए । साथै गुम्बाको विकासको लागि दिर्घकालिन योजना बनाईने पनि उनले आश्वासन दिए ।
उर्ग्येन याङफेल लिङ बौद्ध गुम्बाको आयोजनामा भएको पूजामा प्रमुख अतिथी ३ नम्बर प्रदेश सभामुख श्रेष्ठ, विशेष अतिथि मोक्तान, अतिथि गाउँपालिका अध्यक्ष लामा सहित नेपाल पत्रकार महासंघका निवर्तमान उपाअध्यक्ष गिरिजा अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
