सडक पूर्वाधारसँगै विकासको बाटो खोतल्दैछ गाउँपालिका

तु खबर संवाददाता
२०७४ फाल्गुन १६, बुधबार १७:१२
Long Road ca. 1980s-1990s

पोखरा, १६ फागुन । नयाँ संघीय संरचनाअनुसार नवनिर्वाचित जनप्रतिनिधिले यतिखेर गाउँपालिकाको सेवा केन्द्रसंग जोड्न सडकको स्तरोन्नतिलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

आवश्यक पूर्वाधार बिना नै ठूलो क्षेत्रफल समेट्ने गरी बनाइएका संरचनाका कारण सर्वसाधारणले प्राप्त गर्ने सेवा प्रवाहलाई सहज बनाउन गाउँपालिकाका जनप्रतिनिधिले सडकको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा पारेका हुन् ।

गाउँपालिकाको समृद्धि र विकासका लागि गाउँपालिकाको सेवा केन्द्रसम्म सडक सञ्जालमार्फत जोडिनु अपरिहार्य भएकाले निर्वाचित भएसँगै सडक सञ्जालको स्तरोन्नति एवं विस्तारलाई आफूले प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले बताउनुभयो ।

“जनतालाई सहजरुपमा आवतजावत गराउनुका साथै विकासका मार्ग खोल्न सडक सञ्जाल जोडिनु अपरिहार्य छ,” उहाँले भन्नुभयो, “सडकको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाले चालू आर्थिक वर्षमा यसको स्तरोन्नति र विकासका लागि रु छ करोड १० लाख विनियोजन गरिएकोे छ ।”

उहाँका अनुसार चालू आवमा पोखराबाट भैंसे हुँदै याङजाकोट जाने बाटोको स्तरोन्नतिका लागि रु एक करोड विनियोजन गरिएको छ । त्यस्तै पोखरा–सिक्लेस र राखी–मिजुरे सडकका लागि रु एक÷एक करोड विनियोजन गरिएकोे छ भने पोखरा–ताङतिङ र भगवतीटार–हाँडीखोला सडककका लागि रु ५०÷५० लाख विनियोजन गरिएको छ ।

चालू आवका लागि भगवतीटार–सैमराङ र थुम्सीकोट–भाचोकका लागि रु ४०÷४० लाख विनियोजन गरिएको छ । गाउँपालिकाभित्र अझै पनि धेरै ठाउँमा सडक सञ्जाल नजोडिएका कारण विभिन्न १२ वटाभन्दा बढी प्रत्येक सडकका लागि रु १०÷१० लाख विनियोजन गरी नयाँ ट्रयाक खोल्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

“सडक सञ्जालको विस्तारका साथै यस क्षेत्रको पर्यटककीय विकासका लागि गाउँपालिकाले गुरुयोजना तयार काम अघि बढाउने भएको छ ,” उहाँले भन्नुभयो, “शिक्षा स्वास्थ्यका साथै अन्य सामाजिक विकाससँग सरोकार राख्ने क्षेत्रका लागि पनि प्राथमिकता दिएर अघि बढेका छौँ ।”

पर्यटकीय स्थल र जलस्रोत यस गाउँपालिकाको समृद्धि र विकासका लागि महत्वपूर्ण माध्यम भएको छ । सिक्लेस, ताङतिङ, याङजाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायत गाउँ यहाँका पर्यटक लोभ्याउने गाउँ हुन् भने तमुहरूको उद्गमस्थल क्होलासोंथर, दूधपोखरीजस्ता स्थल यही गाउँपालिकामा पर्दछन् ।

पदयात्रा पर्यटनका क्षेत्रमा पनि सिक्लेसदेखि मनाङसम्म र लमजुङ, नागिधार, भाचोक, वारचोक, याङजाकोट, ताङतिङदेखि सिक्लेससम्मको पदयात्रा मार्ग यहाँको अर्को महत्वपूर्ण पर्यटकीय आकर्षण हो । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको कफुचे हिमताल यही गाउँपालिकामा पर्दछ ।

गाउँपालिकाको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी गुरुयोजना तयार गर्न लागिएको बताउँदै अध्यक्ष गुरुङले हालका लागि पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमका लागि रु १० लाख विनियोजन गरेको बताउनुभयो ।

मादीका सबै वडा भएर बग्ने मादी नदी जलविद्युत् उत्पादनका दृष्टिले महत्वपूर्ण नदी भएका कारण यसको कसरी भरपुर उपयोग गर्न सकिन्छ भन्नेतर्फ आफूहरू केन्द्रित बनेको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया आचार्य ९पौडेल०ले बताउनुभयो ।

गाउँपालिको समग्र विकासका लागि चालू आवमा रु ३७ करोड ९१ लाख विनियोजन गरी त्यसलाई विभिन्न शीर्षकमा छुट्याइएको र घरवास पर्यटनको विकास पनि गाउँपालिकाको प्राथमिकतामा परेको उहाँले जानकारी दिनुभयो ।
पर्यावरणीय दृष्टिले पनि मादी गाउँपालिका महत्वपूर्ण स्थल भएको स्थानीय युवा एवं सिक्लेस युवा क्लबका सल्लाहकार देवीजंग गुरुङले बताउनुभयो । “पर्यटन, जलस्रोतका साथै यहाँका प्राकृतिक साधन स्रोत आर्थिक समृद्धि र विकासका आधार हुन्,” उहाँले भन्नुभयो, “यस क्षेत्रका जंगलमा पाइने दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटीका साथै टुसाको उपयोग पनि आयआर्जनको महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*