बकैयामा माझी समुदायले मनाए लदी पर्व, सार्वजनिक बिदाको माग
-यादव चौलागाईं
बकैया, १५ फागुन । आदिवासी जनजाती समुदायमा पर्ने माझीहरुले आज विशेष कार्यक्रम गरि मकवानपुरको बकैयामालदी पर्व मनाएका छन् । माझी उत्थान मञ्च मकवानपुरको आयोजनामा माझीहरुको माझीहरुको राष्ट्रिय पर्व लदि मनाएका हुन् ।
माझी जातिले मनाउने यस पर्वलाई कोशी पुजा पनि भन्ने गरिन्छ । खोलाको किनार तथा माछा मार्न सहज हुने नदि किनारमा माझीहरु मुख्यरुपमा बसोबास गर्ने गर्छन् ।
पर्वको अवसरमा आज मकवानपुरको बकैया गाउँपालिका जुरेलीमा लदि पुजा सहित भव्य सांस्कृतिक कार्यक्रम गरिएको छ । पुजामा बकैयाका विभिन्न गाउँमा छरिएर रहेका माझी समुदायले आकर्षक झाँकी समेत प्रदर्शन गरेका थिए । बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य कमानसिं पाख्रिन पृथकको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा माझी संघ केन्द्रीय सदस्य लक्ष्मी माझी बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, माझी अगुवा श्याम माझी, भिमसेन माझी,भगत माझी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम नेपाल माझी उत्थान संघ मकवानपुरका अध्यक्ष आशिष माझीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले आगामी दिनमा पुजा भव्य रुपमा मनाउने र सरकारले माझीहरुलाइ लदिको अवसरमा सरकारी बिदा दिनुपर्ने माग समेत गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले आदिवासी जनजातिको संस्कृतिले भरिएको पहिचान नै देशको पहिचान भएको बताए । त्यस्तै विशिष्ट अतिथि पृथकले अधिकार मागेर नभई खोजेर लिनुपर्ने बताए । संविधानले दिएको मौलिक अधिकार अनुसार सबै आदिवासी जनजातिले आफ्नो अधिकार माग गर्नुपर्ने उनले बताए । साथै भाषिक संवादको लागि तिन तहमा नै माझी उत्थान संघले एजेण्डा बनाएर बहस चलाउनुपर्ने औँल्याए ।
प्रकृति पुजा गर्ने माझीहरुले विशेष गरि नदि पुजा गर्ने गरेका छन् । उनीहरुले नदिलाई नै देवताको रुपमा मान्ने गर्छन् । माछा मार्ने र डुङ्गा खियाउने माझीहरुको आफ्नै संस्कृति तथा परम्परागत रिति अनुसार जन्म,मृत्यु र बिवाह सस्ँकार समेत रहेको माझी अगुवा रामशरण माझीले बताए ।

तस्बिर–गुगल
