मकवानपुर प्रहरीले १० जना स्थानीय पक्रेपछि काँग्रेसको विरोध

गाउँपालिका अध्यक्ष चुप लागेपछि स्थानीय भ्रममा
तु खबर संवाददाता
२०७४ फाल्गुन १५, मंगलवार १६:३५
अलपत्र परेको ठेकेदार कम्पनीकाका मेसिनहरु

मकवानपुर, १५ फागुन । मकवानपुर प्रहरीले बिनाकारण मकवानपुरगढी गाउँपालिकाका १० जना स्थानीयलाई पक्रेर जिल्ला प्रहरी कार्यालयमा थुनेर राखेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ संयुक्त वडा समितिले घटनाको बिरोध गरेको हो ।

समितिका सभापति यटबहादुर बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्यवसायीले आफ्नो मेशिन र उपकरण खानी संचालनका क्रममा लाँदै गर्दा स्थानीयले माग पुरा नभइसकेको भन्दै अवरोध गरेको अवस्थामा मकवानपुर प्रहरी टोलीले स्थानीय १० जनालाई पक्राउ गरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष र वडा नम्बर ५ का अध्यक्षले आफ्नै टोलमा रहेको मजुवा खानी संचालनको लागि स्पष्ट धारणा नदिएका कारण यी सबै घटनाहरु सिर्जना भएको विज्ञप्तिमा आरोप लगाइएको छ । गाउँपालिकाले आजसम्म कुनै ठोस निर्णय दिन नसक्दा स्थानीयहरु भ्रममा रहेको बताइएको छ । साथै स्थानीयललाई थुन्ने, धरपकड गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको भन्दै प्रतिनिधिसभादेखि स्थानीय तहसम्म वर्चश्व भएको वाम गठबन्धनले समस्याको समाधान निकाल्नुपर्ने बताइएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानी नजिकका स्थानीयलाई सोमबार मकवानपुर प्रहरीले लछार पछार गर्दै नियन्त्रणमा लिएको आरोप छ । हेटौंडा सिमेन्ट उद्योगले सञ्चालन गरेको मजुवा खानीका कारण सिङ्गो बस्ती नै जोखिममा परेपछि बस्ती संरक्षण गर्नुपर्ने लगायत विभिन्न ११ बुँदे राखेर आन्दोलित बनेका मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५, आमभञ्ज्याङ्का १० जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार मकवानपुरबाट डिएसपी दिलिप झाको नेतृत्वमा गएको प्रहरी टोलीले दुव्र्यबहार गर्दै स्थानीय इन्द्रजित देवकोटा, राजकुमार घिमिरे, सन्तोष घिमीरे, विशाल पौडेल लगायत १० जनालाई धरपकड गर्दै गाडीमा हालेर ल्याएको भन्ने स्थानीयको आरोप छ । स्थानीयलाई धरपडक गर्नुका साथै पुरुष प्रहरीले स्थानीय महिलालाई दुव्र्यबहार समेत गरेको आरोप स्थानीयले लगाउँदै आएका छन् । तर यसबारेमा प्रहरीले भने त्यस्तो आरोप निराधार रहेको बताउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*