ज्योति माद्यमिक विद्यालय : अध्यक्ष रम्तेलको चुनौतीपूर्ण योजना

– गिरिजा अधिकारी
तु खबर संवाददाता
२०७४ फाल्गुन १५, मंगलवार १४:३६

मकवानपुर । ज्योति माद्यमिक विद्यालय हर्नामाडी सुधारको कार्ययोजना बनाएर विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष भएका हर्क रम्तेलले क्रमशः विद्यालय सुधारको काम अघि बढेको बताएका छन् ।
दुषित वातावरण र अस्तव्यस्त प्रशासनलाई क्रमैसँग सुधार गर्दै उनले विद्यालयलाई थप राम्रो बनाउने काम अघि बढाएको बताए । तु खबरसँग कुराकानी गर्दै रम्तेलले अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सामेल गराउने, शिक्षक कर्मचारीको व्यवस्थापन गर्ने, सय प्रतिशत सुद्ध पिउने पानीको व्यवस्थापन गर्ने, साइन्स ल्याबलाई सुविधा सम्पन्न बनाउने, विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न तथा विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन सिसि क्यामेरा जडान गर्ने, इ लाइब्रेरीको विकास गर्ने, शैक्षिक क्यालेन्डरको सुरुवात गर्नेजस्ता विद्यालय सुधारको योजना आफूसँग रहेको बताएका छन् ।
विद्यालयलाई भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न बनाउन ६ कोठे विद्यालय भवनको काम पनि तिब्र भइरहेको उनले सुनाए । उनका अनुसार, आगामी जेठ महिनासम्म भवन निर्माण भइसक्ने छ ।
उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयको हालत निकै खराब थियो, उनले स्मरण गरे । विद्यालयको वातावरण राम्रो बनाउन अभिभावक र विद्यार्थीसँग छलफलको सुरुवात गरेका उनले नियमित स्टाफ मिटिङ राख्ने कामलाई समेत निरन्तरता दिएको बताए । विद्यालयलाई सही तरिकाले संचालन गर्न टिम वर्कको आवश्यकता पर्छ, त्यो टिम वर्क गर्न कुनै पनि कंजुस्याईँ गरिँदैन, उनले भने । उनका अनुसार, विद्यालयलाई व्यवस्थित बनाउन सबै शिक्षक कर्मचारी, व्यवस्थापन समिति र स्थानीय राजनीतिक दल सबैको पूरा सहयोग छ ।
२०७३ पुसमा अध्यक्ष भएका रम्तेल सोही विद्यालयका भूतपूर्व विद्यार्थीसमेत हुन् । विद्यालयलाई बलियो बनाउन करीव २० लाख मूल्य रहेको जग्गा समेत उनले दान दिएका थिए । २०३५ मा जन्मिएका उनले समाजिक क्षेत्रमा काम गर्न थालेको १७÷१८ वर्ष भयो । विद्यालयलाई भौतिक र शैक्षिक हिसाबले राम्रो बनाउन अधिकतम समय दिने गरेको उनले बताए । आफू पढेको विद्यालय भएका कारणले पनि अझै माया लाग्दो रहेछ, रम्तेलले तु खबरसँग आफ्नो अनुभव साटे ।
राजनीतिक रुपमा स्थानीय सबै दलको सहयोग पाएका कारण पनि विद्यालय सुधारको काम गर्न आफू उत्साही भएको उनले बताए । उनका अनुसार, भौतिक पूर्वाधारको व्यवस्थापन, उचित शैक्षिक वातावरण बनेपछि शिक्षाको गुणस्तर पनि राम्रो बनाउने कामको सुरुवात हुन्छ । अहिले विद्यालयका शिक्षक पनि मेहनेतका साथ शैक्षिक वातावरण सुधार गर्न काम गरिरहेकोले चाँडै राम्रो नतिजा आउने उनले बताए ।
विद्यालयलाई उनले हस्तान्तरण गरेको जमीन विक्री गरी त्यसले विद्यालयमा अन्य कामहरु गर्ने उनको सोच छ । स्थानीय तहसँगको समन्वयमा विकासका केही काम गर्ने योजना पनि रहेको उनले बताए । स्थानीय सरकारसँग समन्वय गरी विद्यालयलाई आवश्यक पूर्वाधारमा सहयोग गर्न अनुरोध गर्ने र स्थानीय सरकारको साथमा रहेर काम गर्ने मेरो योजना छ, उनले तु खबरसँग भने । अन्य सामाजिक सस्था, भुतपूर्व विद्यार्थी र आवश्यक परे प्रदेश तथा केन्द्रीय सरकारसँग पनि आवश्यक सहकार्यका लागि आफ्नो प्रयास रहने उनले बताए ।
मेरो एउटा मात्र सर्त हो, विद्यालय राम्रो बनाउने कुरामा सबैसँग सहकार्य गर्न सकिन्छ, भन्छन् – त्यसका लागि सबैले खुला दिलले यसअघिजस्तै भोलिका दिनमा पनि सहयोग पुर्याउनु आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*