मकवानपुरमा पत्रकारहरुको लुछाचुँडी कहिलेसम्म ?

तु खबर संवाददाता
२०७४ फाल्गुन १३, आईतवार १५:२५

देश संघीय ढाँचामा गएसँगै विभिन्न क्षेत्रमा स्थानीय तहमा नै जनताका मागहरु सम्बोधन हुन थालेको अवस्थामा पत्रकारहरुले समेत विभिन्न अवसर र चुनौतीहरुको भागीदार हुुनुपर्ने भएको छ । सात प्रदेशका विभिन्न क्षेत्रमा अस्थायी राजधानी तोकिएसँगै विभिन्न राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाईन न्यूज पोर्टलहरुले जिल्ला तथा प्रदेश स्तरका संवाददाता नियुक्त गर्ने र प्रादेशिक कार्यालय नै खोल्ने सम्मको कार्य गरेका कारण पत्रकारहरुलाई विभिन्न अवसरहरु प्राप्त भएका छन् तर ती सबै अवसरसँगै नयाँ चुनौतिहरु समेत थपिएका छन् ।

यसै क्रममा काठमाडौँमा मात्र भएको संसदीय मामिला पत्रकार मञ्चको पनि यतिखेर प्रदेशमा शाखा विस्तार हुने क्रम सुरु भएको छ जुन यो सम्पादकीयको प्रमुख विषय हो । ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा समेत यो साता संसदीय पत्रकार मञ्च गठन भयो । तर त्यसको भोलिपल्ट नै एकपक्षीय रुपमा मञ्च गठन गरेको भन्दै प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्यो । मञ्च गठनका क्रममा छलफलमा पुगेता पनि पत्रकार महासंघका पूर्व अध्यक्ष तथा काँग्रेस निकट पत्रकार राममणि दाहाल नै अध्यक्ष हुने अडानमा उत्रिएपछि विवाद सुरु भयो । प्रेस चौतारी नेपालका सदस्य रहेका पत्रकार बालकृष्ण अधिकारीले पनि अध्यक्ष दाबी गरे । अध्यक्ष आफुहरुलाई नदिएमा समितिमै नबस्ने र आफुहरु को सहभागिताबिना बन्ने सहमतिलाई नमान्ने भन्दै चौतारीका अध्यक्ष प्रकाश दाहाल सहितको टोली बैठकस्थलबाट बाहिरियो । उनीहरु बाहिरीए पनि बाँकी रहेको टोलीले उनीहरुलाई सहमतिमा ल्याएर मञ्च गठन गर्नुपर्ने हो तर उनीहरुले समेत एकलौटी ढङ्गमा मञ्च गठन गरे । जसको फलश्वरुप विज्ञप्ति जारी भयो । यसबाटै प्रष्ट हुन्छ कि मकवानपुरमा पत्रकारिता कम राजनीति ज्यादा मौलाएको छ । सबै पत्रकारहरु आप्mनै संगठनको दुनो सोझाउन मात्र व्यस्त देखिएका छन् । प्रेश चौतारी र प्रेस सेन्टर नेपाल दुबै पार्टी मिलेपछि सबै भन्दा शक्तिशाली संगठन भएको भन्दै अध्यक्ष र ठूला पद आफै कुम्ल्याउन खोजिरहेको छ भने प्रेस युनियन भने पेलेरै जाने सोचमा देखिन्छ । यता संठनमा लागेर भर्खरै ४ महिना पनि नभएकाहरुले ताल–बेताल कुरा गरेको देख्दा उनीहरु राजनीति गर्नै आएको भान हेटौँडावासीमा परेको छ । त्यतिमात्र नभइ पत्रकार महासंघमा समेत पार्टीगत गएर विभिन्न रोकावटहरु आउने गरेका छन् ।

यी सबै घटनाहरु हेर्दा मकवानपुरमा पत्रकारहरुबिच संगठनका कुरा लिएर पदको लागि लुछाचुँडी नै चल्ने गरेको देखिएको छ । जुन पत्रकारहरुको लागि लज्जाको विषय हो । पत्रकार स्वतन्त्र हुनुपर्छ, दलगत होईन अनि यो सरकारको सधैँ प्रतिपक्ष हुनुपर्छ भन्ने मान्यताको लेस मात्र पनि मकवानपुरका पत्रकारहरुमा देखिएको छैन । त्यसैले मकवानपुरे पत्रकारिताको ईज्जतको धज्जी उडाउने काम कसैले नगरौँ । अन्यथा सकरात्मक सूचना प्रवाहका लागि हामी सधैँ पछाडि पर्नेछौँ । पत्रकारको छवि समाजमा धमिलिन नदिन हामी आफैले पनि केही भूमिका खेल्नुछ भने यो लुँछाचुँडीलाई आजै बन्द गरिनुपर्छ ।

-आज प्रकाशित ‘समावेशी चिन्तन साप्ताहिक’ पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*