बाल अधिकारका लागि पूनः जुर्मुरायो बालसंरक्षण समिति
मकवानपुर, ७ पुस । मकवानपुरका विभिन्न गाउँमा रहेका स्थानीय बाल संरक्षण समिति जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि क्रियाशील बनेका छन् । बाल कल्याण समाज मकवानपुरले युनिसेफ नेपालसंगको सहयोगमा गाउँमा बाल संरक्षणको सवालमा आवश्यक कार्य गर्न समितिलाई सहजीकरण गरेपछि समिति सक्रिय बनेको हो ।
जिल्ला बालकल्याण समिति मकवानपुरको समन्वयमा बाल कल्याणले मकवानपुरको साविकका विभिन्न १५ वटा गाविसमा सहजीकरण गरेपछि विगतमा निस्क्रिय अवस्थामा रहेका बालसंरक्षण समिति जोखिममा रहेका बालबालिकालाई अधिकार दिलाउने कार्यमा अग्रसर बनेको पाइएको हो ।
हेटौंडामा आयोजित सन् २०१५ जुलाईदेखि सन् २०१७ डिसेम्बरसम्म सञ्चालन गरिएको परियोजनाको अन्तिम समीक्षा तथा जिल्ला बालकल्याण समिति मकवानपुरलाई उपलब्धि हस्तान्तरण कार्यक्रममा बाल संरक्षण समिति अगुवाले परियोजनाले आफूहरुलाई क्रियाशील बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । परियोजनाको उपलब्धिबारे जानकारी लिएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समिति मकवानपुरका अध्यक्ष चक्रबहादुर बुढाले जोखिममा रहेका बालबालिकालाई संस्थाले पु¥याएको योगदानको प्रसंशा गरे । ‘बालबालिकाका संरक्षणका हकदार हुन् ।’युनिसेफ र बालकल्याण समाजले जोखिममा रहेका बालबालिकाको संरक्षण प्रदान गर्ने काम गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ’ उनले भने,‘ गाउँगाउँमा विभिन्न प्रकारले संरक्षण आवश्यक भएका बालबालिका पहिचान गरी उनीहरुलाई आवश्यकता बमोजिमको सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी बुढाले स्थानीय तहसंग समन्वय गरी आफूले संस्थाले गरिरहेको अभियान सफल बनाउँन सहजीकरण गर्ने प्रतिबद्घता व्यक्त गरे ।
परियोजना सञ्चालन गरिएको विभिन्न क्षेत्रका अनुगमन समेत गरेका बालकल्याण समिति मकवानपुरका सदस्य उद्घव उप्रेतीले जोखिममा रहेका बालबालिका संरक्षणका लागि स्थानीय बाल संरक्षण समितिलाई अग्रसर बनाउने काम हुनु सुखद पक्ष भएको बताए । ‘परियोजना सञ्चालन भएका केही ठाउँमा गरिएको अनुगमनका क्रममा संस्थाले गरेको काम प्रभावकारी बनेको पाइयो ।’ उनले भने,‘ संस्थाको सहजीकरणमा अग्रसर बनेको स्थानीय बाल संरक्षण समितिले गाउँ गाउँमा बालअधिकार प्रत्याभूतका लागि काम गर्नु परियोजना सफल हुनु हो । ’उनले पछिल्लो समय बाल संरक्षण समिति बालबालिकाको सवालमा केन्द्रित भएर स्थानीय सरकारसंग आवश्यक बजेट माग्ने अवस्थामा पुग्नु पक्कै पनि सकारात्मक परिवर्तन हो । ’
यस्तै, जिल्ला बालकल्याण समिति मकवानपुरका सदस्य एवम् बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले विनासकारी भूकम्पपछि जोखिममा रहेका मकवानपुरका विभिन्न गाविसमा पुगेर तथ्याङ्क सङ्कलन गरी संरक्षण आवश्यक भएका बालबालिका पहिचान गर्दै आर्थिक तथा अन्य आवश्यक सहयोग प्रदान गर्ने कार्य गर्दा बाल संरक्षणमा टेवा पुगेको आफूले पाएको बताए । ‘जिल्ला बालकल्याण समिति मकवानपुर र गाउँगाउँमा रहेका स्थानीय बाल संरक्षण समितिसंगको समन्वयमा गाउँमा जोखिममा रहेका बालबालिका पहिचान गरी उनीहरुलाई आवश्यक संरक्षण पनि प्रदान गरिएको छ ।’खतिवडाले भने,‘परियोजनाको अवधिभर स्थानीय बालसंरक्षण समितिलाई कसरी सक्रिय बनाउँने भनेर मासिक बैठक देखि जागरणमूलक कार्यक्रम गर्नका लागि पनि आवश्यक सहजीकरण गरियो, अहिले गाउँगाउँका बाल संरक्षण समिति आफैं सक्रिय बनेका छन् ।’परियोजनाका क्रममा संस्थाले जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग पु¥याउने काम गरेपनि अब बाल संरक्षण समिति आफैं क्रियाशील हुन थालेको आफूले पाएको उनले बताए ।
बालकल्याण तथा युनिसेफको सहयोगमा सञ्चालन गरिएको परियोजनाका कारण विकट गाउँमा जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्न सफल भइएकोमा जिल्ला बालकल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमालले खुशी व्यक्त गरे । संस्थाले परियोजना अवधिभरमा प्राप्त गरेको अपलब्धि अब स्थानीय सरकारले रक्षा गर्दै आवश्यक कार्य गर्नका लागि बाल संरक्षण समितिसंग सहकार्य गर्ने उनले बताए ।
परियोजनाका संयोजक सुशीलराज गिरीले परियोजनाका क्रममा गाउँगाउँका बाल संरक्षण समितिलाई बालसंरक्षणका सवालमा लागिपर्न गरिएको सहजीकरण प्रभावकारी बन्दा आफूलाई खुशी लागेको बताए । ‘गाउँमा बाल संरक्षणको सवाल पहिचान गरी ति सवाल सम्बोधन गर्न समितिले कार्ययोजना बनाएरै मासिक रुपमा कार्य गर्नु वास्तवमा समितिको सक्रियता नै हो ।’ संयोजक गिरीले भने, ‘बाल संरक्षणका लागि गैर सरकारी संस्थामार्फत हामीले गरेको सहजीकरणको प्रतिफल पाउँदा पक्कै पनि खुशी लाग्ने नै भयो । ’
कार्यक्रममा बाल संरक्षण समिति फापरबारीका सदस्य दिपेश परियारले गाउँमा जोखिममा रहेका बालबालिका पहिचान गर्न तथा आवश्यक सहयोग गर्नका लागि अब आफूहरु सक्षम बनेको बताए । ‘संस्थाले सधैं सहयोग गर्छ भन्ने होइन । ’ उनले भने, ‘ बाल संरक्षणको सवाल पहिचान देखि त्यस्ता सवाल सम्बोधनका लागि संस्थाले गरेको सहजीकरणले अब हामी आफैं सक्षम बनेका छौंं ।’उनले आगामी दिनमा सस्थाबाट परियोजना अन्तर्गतको सहयोग नपाएपनि बाल संरक्षण समितिलाई बालअधिकारका सवालमा केन्द्रित भई सक्रिय बनाइराख्ने योजना सुनाए ।
मकवानपुरको भीमफेदी, नामटार, चुरियामाई, शिखरपुर, फापरबारी, आमभञ्ज्याङ्, कालिकाटार, मनहरी, हाडीखोला, पदमपोखरी, धियाल, चित्लाङ्, गोगने, राइगाउँ, बेतिनीमा परियोजनामार्फत गरिएको कामको समीक्षा गरिएको थियो । साविकका यी पन्ध्र गाविसमा जोखिममा रहेका बालबालिका पहिचान गरी उनीहरुलाई घटना व्यवस्थापनको प्रकृयामार्फत आवश्यक सहयोग प्रदान गरिएको थियो । नगद पाँच हजार रुपिया शैक्षिक सहयोग तथा जीविकापार्जनका लागि बीस हजार रुपिया बराबरको आर्थिक सहयोग गरिएको कार्यक्रममा जानकारी गराइएको छ । परियोजना अवधिभर आपतकालीन् तथा जिविकोपार्जन सहयोग आवश्यक भएका पहिचान गरिएका ३ सय ९७ जना बालबालिकालाई सहयोग प्रदान गरिएको बालकल्याण समाज मकवानपुरका लेखा अधिकृत नवराज खनालले जानकारी दिए । समीक्षा कार्यक्रममा परियोजना अवधिभरमा जिल्ला जिल्ला बाल कल्याण समिति मकवानपुरले पनि जोखिममा रहेका एक हजार ३८ जना बालबालिकालाई सहयोग गरिएको जानकारी दिइएको थियो ।
