महामारीको समयमा राज्यले एक अंकको ब्याजदर कायम गर्नुपर्छ, सरोकारवालाले आवश्यक समन्वय गर्नुपर्छ – महेन्द्र राउत
मकवानपुर । उद्योग वाणिज्य संघ मकवानपुरका पूर्व महासचिव एवम् उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले आम व्यवसायीहरु र सर्वसाधारण जनतालाई कोरोनाको महामारीमा सुरक्षित रहन आग्रह गरेका छन् ।
आज तु खबरसंग कुराकानी गर्दै राउतले खाद्यान्न, तरकारी तथा फलफूल, दूग्धजन्य, औषधीजन्य र इन्धन लगायतका अतिआवश्यक बस्तुसंग सम्बन्धित व्यवसायीहरुले महामारीको समयमा जनताप्रति उत्तरदायी भएर सेवा प्रदान गरीरहेको भन्दै सम्मान व्यक्त गरे ।
उनले लकडाउनको अवधिपश्चात केही आशा पलाएको भएपनि महामारी बढ्दै गएकाले पुन निषेधाज्ञा जारी गर्नुपर्ने अवस्थासम्म आइपुग्दा उद्योगी व्यवसायी र आम जनतामा मर्का परेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे ।
अहिले उद्योगी, व्यवसायीहरु आफु र परिवारलाई कोरोनाको संक्रमणबाट कसरी सुरक्षित राख्ने भन्दा पनि बैँकको किस्ता कसरी तिर्ने र व्यवसाय कसरी टिकाउने भन्ने विषयमा बढी चिन्तित हुनुपरेको उनको भनाई छ ।
उनले भने – ‘यस्तो विषम परिस्थितिमा तपाईले मिडियामा हेर्नुभयो भने बैँकले यति फाइदा कमायौँ उती कमायौँ भनेर आइरहेको हुन्छ । आजको दिनमा पनि बैँकले चर्को ब्याज असुलिरहेको छ, न बैँकले व्यवसायीको मर्का बुझेको छ, न उद्योग वाणिज्य संघले व्यवसायीको मर्कामा आवाज उठाउने वा समन्वयात्मक भूमिका निर्वाह गर्ने काम गर्न सकेको छ ।’
लामो समय लकडाउनको महासमस्यामा परेका व्यवसायीहरुलाई बैँकले चर्को ब्याज असुलिरहेको अवस्थामा न्यून ब्याजदर कायम गराउन उद्योग वाणिज्य संघ, बैँकर्स एशोसिएसनले समन्वयात्मक भूमिका खेल्नुपर्ने र राज्यले त्यसको सम्बोधन गर्नुपर्ने उनले बताए ।
उद्योगी व्यवसायी रहेमात्रै बैँक र सरकार रहने साथै मुलुक आर्थिक रुपमा सबल हुने भन्दै सरकारले व्यवसायीहरुलाई विषेश अवस्था घोषणा गरेर कम्तिमा पनि एक अंकको ब्याजदर कायम गर्नुपर्ने उनको भनाई छ ।
आफु यसअघि नेतृत्वदायी भूमिकामा रहेको उद्योग वाणिज्य संघले महामारीको समयमा पनि सहयोगी हातहरु सोचेजसरी अघि बढाउन नसकेको उनको भनाई छ ।
‘म संस्थागत रुपमा नभएपनि मेरो व्यक्तिगततर्फबाट आम व्यवसायी र जनतालाई समस्या पर्दा सकेको सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दछु । ’ – उनले भने ।
‘हामी सबै एउटै डुङ्गामा छौँ, त्यसकारण डुङ्गालाई कसरी किनारसम्म पुर्याउने भन्नेतर्फ एकजुट हुनुपर्छ, नेतृत्वदायी संस्थाले चासो चिन्ता गर्नुपर्छ । भौतिक रुपमा एउटै स्थानमा बसेर छलफल गर्न नसेकेपनि प्रविधिको प्रयोग गरेर सबैपक्षबिच आवश्यक छलफल गर्नुपर्छ । ’ – उनले थपे ।
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै छ, तपाइको उम्मेदवारी रहन्छ त ? भन्ने तु खबरको प्रश्नमा उनले अहिले निर्वाचनबारे भन्दा पनि व्यवसायीलाई कसरी महामारीबाट जोगाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताए ।
‘म वा अरु नेतृत्वमा जो पुगेपनि व्यवसायी र आम जनताको हितका निम्ति कामहरु गर्नुपर्छ । यो महासंकटको बेला कोरोनाको जोखिमबाट सिर्जित समस्याको समाधानमा हामी सबे लाग्नुपर्छ, म पनि लागेको छु । ’ – उनले भने ।
चुनाव उठ्ने, जित्ने भन्दा पनि व्यवसायीमाझ हिजो गरेका प्रतिवद्दता पुरा गर्न सकिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण भएको उनले बताए ।
‘हामीले विभिन्न बाचा गरेर चुनाव जितेका हुन्छौँ तर अहिले व्यवसायीलाई वास्तवमै समस्या परेको छ, हामीले के गर्न सक्यौँ त, कहाँनेर सहयोग गर्न सक्यौँ त ? व्यवसायीले घरभाडासमेत तिर्न नसक्ने अवस्था छ, बैँकको ब्याज तिर्नसक्ने अवस्था छैन, संस्थागत रुपमा केही गर्न सकिएको छैन । पहिला व्यवसायी जोगाऔँ ’ – उनले भने ।
उनले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा पीसीआर परीक्षण गर्ने मेसिन एउटा मात्रै भएको भन्दै चिन्ता व्यक्त गरे । परीक्षणको रिपोर्ट आउनुअघि संक्रमितको मृत्यु हुने अवस्था झनै गम्भीर रहेको उनले बताए ।
बागमती प्रदेश सरकार र स्थानीय सरकारको पहलमा आइसोलेशन कक्षमा बेडसंख्या थप गर्नुपर्ने र थप व्यवस्थित गर्नुपर्ने उनले सुझाव दिए ।
महामारीको समयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार जगतको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले यी ३ क्षेत्रलाई राज्यले विषेश संरक्षण र प्रोत्साहनको व्यवस्था मिलाउनुपर्ने बताए ।
