भारतमा एकैदिन ७ लाख जनाको नमुना परीक्षण, ६३ हजारमा कोरोना पुष्टि

एजेन्सी
२०७७ श्रावण २६, सोमबार ०९:३८
filr-photo

कोरोनाविरुद्धको लडाइँमा भारतले परीक्षणको गति तीव्र पारेको छ । कोरोना संक्रमण थाहा पाउन पछिल्लो २४ घण्टाभित्र ७ लाख नमुना परीक्षण गरिएको भारतीय पत्रिका दैनिक जागरणले उल्लेख गरेको छ । यस क्रममा ६३ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिभित्र ५५ हजारभन्दा बढी मानिस निको भएका छन्, जुन भारतका लागि नयाँ रेकर्ड पनि हो ।

भारतमा कुल संक्रमितको संख्या २२ लाख नाघेको छ । अहिलेसम्म ४३ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । कुल १४ लाखभन्दा बढी बिरामी निको भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा केही दिनयता दैनिक ६ लाखभन्दा बढी नमुनाको परीक्षण भइरहेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का विज्ञान तथा मिडिया समन्वयक डा. लोकेश शर्माका अनुसार शनिबार ७ लाख १९ हजार ३ सय ६४ नमुना परीक्षण गरिएको छ । उनका अनुसार एकै दिन यति ठूलो संख्यामा परीक्षण गरिएको यो नै पहिलो पटक हो ।

कोरोना पत्ता लगाउन प्रति मिनेट ५ सय परीक्षण भइरहेको उनले बताए । भारतमा अहिलेसम्म २ करोड ४१ लाख ६ हजार ५ सय ३५ नमुना परीक्षण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*