मुख्यमन्त्री पौडेलद्वारा प्रदेशभित्रका ३२ वटा पक्की पुल उद्घाटन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज हेटौंडामा आयोजित एक कार्यक्रमबीच प्रदेशको १३ वटै जिल्लामा निर्माण गरिएको ३२ वटा पक्की पुलको उद्घाटन गरेका छन् ।
मुख्यमन्त्री पौडेलले बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय मकवानपुरद्वारा आयोजित एक कार्यक्रमबीच मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १०, दुबो पुलसहित प्रदेशको विभिन्न स्थानमा निर्माण भएको ३२ वटा पक्की पुल एकैसाथ उद्घाट गरेका हुन् ।
उक्त पुल बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको अघिल्लो आर्थिक वर्ष र गत आव २०७५/७६ मा गरी रु ७३ करोड ६० लाख ४३ हजार बजेटमा निर्माण गरिएको हो ।
सो आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको स्रोत, साधन प्रयोग गरी प्रदेशको १३ वटै जिल्लामा भौतिक पूर्वाधारको विकासको साथै सडक सञ्जाललाई जनताबीच जोड्न पुल निर्माण कार्यमा तीब्रता ल्याइएको बताए ।
उनले सरकारले सडक संजालको मार्फत कृषिमा क्रान्ति ल्याउन विभिन्न चरणमा नीतिगत कार्यक्रम तर्जुमा गरी कार्यान्वय गर्दै आएको उल्लेख गरे । उनले प्रदेशको राजधानी हेटौंडामा नभई विकासको प्रत्यक्ष पूर्वाधारको गतिको अनुभूति गर्न प्रदेशको हरेक जिल्लामा गएर विकासले लिएको गतिलाई नागरिकले समिक्षा गर्न आग्रह गरे ।
उनले मकवानपुरको मनहरी गाउँपालिका नजिक रहेको परेवा भिरबाट कैलाश गाउँपालिकातर्फ सडक संजाल जोड्ने क्रममा बाइपास गरी पुल निर्माण गर्न सरकारलाई बजेट छुट्याइसकेको जानकारी गराए ।
सो अवसरमा भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले सरकारले भौतिक पूर्वाधारको विकासको सँगै प्रदेशको विभिन्न जिल्लाहरुमा विद्युतीय बस संचालन गर्नेतर्फ संघीय सरकारसँग सहकार्य भइसकेको र केही महिनापछि सरकारले विद्युतीय यातायात बस संचालन गरिने बताए ।
उनले प्रदेशको १० जिल्लालाई जोड्ने पुष्पलाल चक्रपथ निर्माणको लागि बजेट विनियोजित गरिएको र नेपालको एक मात्र पुरानो हेटौंडा–बीरगंज जोड्ने १०३ वर्ष अघिको करिब ३०० मिटरको चुरे सुरुङमार्गलाई संचालनमा ल्याउन प्राविधिकहरु खटिसकेको र आगामी १ वर्षभित्रै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको उल्लेख गरे ।
यसैगरी, बागमती प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा चालु आव ७७÷०७८ भित्र १२० वटा पक्की पुल र १३ वटा झोलुंगे पुल निर्माण कार्य सम्पन्न गर्न रु १ अर्ब बजेट विनियोजित गरिएको पनि उक्त मन्त्रालयका सचिव भट्टले बताए ।
सो कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु क्रमशः सन्तबहादुर प्रजा, प्रेमबहादुर पुलामी र जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका रघुनाथ खुलाल, मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेती र भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
