कम्युनिष्ट नेता बर्मन बुढाको निधन
२०७७ श्रावण ७, बुधबार ०९:३०
काठमाडौं । पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । नेता बुढाको ९० वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।
क्यान्सरबाट पीडित उनको पाटन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
माओवादी जनयुद्धको उद्गम थलोका रूपमा लिइने रोल्पा थबाङका पुराना कम्युनिस्ट नेता बुढा नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज नेता मानिन्छन्।
उनी २०४८ सालमा भएको निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।
नेता बुढाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । दाहालले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
