नेकपा स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ । बाढी पहिरोको विपद्को बेला पार्टीपंक्तिहरुलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनका लागि स्थगित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले ट्वीटरमार्फत देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवम् राहतमा लाग्न निर्देशन दिँदै स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिए ।
नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो । बैठकमा ओली इतर समूहले फेरि पनि प्रधानमन्त्रीको राजीनामाको कुरा उठाउने तयारी गरेको थियो ।
