कोरोना संक्रमणबाट १४३ नेपालीको मृत्यु, एक सातामा मात्रै गयो १३ को ज्यान
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो एक सातामा विदेशमा १३ नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा थप ६ जना, भारतमा ५ जना, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो ।
समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १ सय ४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ ।
शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २५ हजार २ सय २६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।
