बागमती प्रदेशका सबै जिल्लामा कोरोना अस्पताल स्थापना गर्न बजेटले प्राथकिता दिनुपर्ने सांसदको माग
मकवानपुर । बागमती प्रदेश सभाको बैठकमा सत्तापक्षका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रदेशको १३ वटै जिल्लामा सुविधायुक्त आइसोलेशन कक्ष, क्वारेन्टाइन र भेन्टिलेटरसहितको अस्पताल स्थापना गर्न विनियोजित बजेटले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बागमती प्रदेश सभाको मंगलबार बसेको बैठकमा गत असार १ गते सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले प्रस्तुत गरेको विनियोजित बजेट २०७७/०७८ माथि छलफल गर्दै योजना बाडफाड गर्दा कोरोना उपचार तथा नियन्त्रणलाई ध्यानमा राख्न सुझाव प्रस्तुत गरेका हुन ।
त्यस्तै बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुबै दलका सांसदहरुले योजना बाडफाड गर्दा प्रदेशको मन्त्रीहरुले आ–आफ्नो जिल्लाको योजनालाई विभिन्न शीर्षकमा राखिएको र सांसदहरुको सुझाबलाई उपेक्षा गरी योजना बाडफाडमा विभेद गरिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
नीहरुले बजेटमा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुलाई प्रत्यक्ष आर्थिक आत्मनिर्भर हुने योजनालाई समावेश गरिनुपर्ने सुझाब प्रस्तुत गर्दै बाँझो जग्गालाई सामुहिक खेती गर्नेतर्फ गुरु गोजना तर्जुमा गरी बजेट विनियोजित गर्न पनि माग गरेका छन् ।
बैठकमा प्रतिपक्ष दलका सदस्यहरुले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको बजेट जनमुखी, व्यवहारिक र पारदर्शी हुन नसकेको आरोप लगाएका छन् । उनीहरुले नेपालको संविधानको भावना अनुसार प्रदेशसभाका सदस्यहरु संवैधानिक तरिकाबाट जनताबाट निर्वाचित भई आएको हुँदा समानुपातिक सांसदहरुलाई भने विभिन्न अवसरको साथै योजना बाडफाडमा उपेक्षा गर्न नहुने धारणा व्यक्त गरे ।
जनताको अत्यन्त कठिन अवस्थाको प्रदेश सरकारले अनुगमन गरी उनीहरुलाई विकासको पूर्वाधारको अवसर र आर्थिक आत्मनिर्भर तर्फ उन्मुख गराउने कार्यक्रमलाई बजेटमा समावेश गरी आगामी आवभित्र कार्यान्वयनमा ल्याउन समेत सांसदहरुले माग गरे ।
प्रदेश सभाको अर्को बैठक भोलि असार १६ गते दिनको २ बजे बस्ने तय भएको प्रदेशकी उपसभामुख राधिका तामाङ जानकारी दिइन् ।
