अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ
अदालतको आदेश अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई जवाफ पेस गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले आधार कारणसहित आदेश प्राप्त भएको मितिले १५ दिनभित्र अदालतमा आफैँ उपस्थित भई वा कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।
सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा परेको हो । ‘उल्लिखित विभिन्न सातवटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिइएको हो वा होइन ?’, आदेशमा भनिएको छ, ‘तत्सम्बन्धमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ?’
अधिवक्ता प्रकाशमणि शर्मालगायतले हालेको रिटमाथि ५ वैशाखमा सर्वोच्च अदालतले सातवटा आदेश दिएको थियो । तर, ती पालना नभएको भन्दै उनीलगायतले पुनः अदालतको अवहेलना मुद्दामा निवेदन दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री ओलीलाई विपक्षी बनाई मुद्दा दायर गरिएको थियो ।
‘हाल कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थिति र नेपाली नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक, स्वास्थ्य सेवामा समान पहुँच र व्यक्तिको जिउज्यानसमेतको रक्षार्थ नेपाल सरकारबाट अपेक्षित तत्काल प्रभावकारी कार्यहरूसँग सम्बन्धित रहेको तथा तत्सम्बन्धमा यस अदालतको आदेशको अविलम्ब पालना नगरिएमा वा पालना गर्ने मनसाय नदेखाइएमा त्यसबाट जनतामा न्यायपालिकाप्रतिको आस्था, विश्वास र प्रभावकारितामा प्रतिकूल प्रभाव पर्ने प्रकृतिको देखिएको हुँदा यथाशीघ्र सुनुवाइ गर्न वाञ्छनीय भएकाले सबै लिखित जवाफहरू दर्ता भएको वा म्याद नाघेको १४ दिनभित्र पेसी चढाई सुनुवाइ गर्नू,’ आदेशमा भनिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
