इँटाभट्टामा जिउँदै जलाएको आरोपमा थप एक जना पक्राउ
जनकपुरधाम । रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि जिउँदै मानिस इँटाभट्टामा जलाइएको प्रकरणका आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका– ४ का ५५ बर्षीय मुक्ति साह रहेका छन् ।
साहलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति पक्राउ गरेको हो ।
२०६४ साल चैत्रमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको थियो ।
साह त्यतिबेला इँटा उद्योगमा मिस्त्रीको काम गर्दथे ।
सोही घटनाका आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम पनि पक्राउ परेका छन् । उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।
पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको छ ।
