विवेक शून्य राजनीतिक युवा पुस्ता

बुद्धिप्रसाद नेपाल / दक्षिण कोरिया
२०७७ जेष्ठ ४,आईतवार २०:१५

यतिबेला नेपाल कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिममा छ । विश्वभर फैलिरहेको कोभिड–१९ को कारणले विश्वको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गइरहेको छ । चीनको बुहानबाट गत डिसेम्बरमा सुरु भएको कोभिड–१९ बाट छिकेकी देश नेपाल पनि अछुतो रहन सकेन । हाम्रो देशको अर्थतन्त्र पनि विश्वको जस्तै खस्कँदो छ । लगातार ६ प्रतिशत भन्दा माथिको अर्थतन्त्र यही कोरोनाको कारणले कमजोर हुँदैछ ।

आजको दिनसम्म आइपुग्दा नेपालमा २ जनाको संक्रमणकै कारण मृत्य भइसकेको छ । यी सबै विषयमा अवगत भएर पनि हाम्रा नव राजनीतिक युवा पुस्ता के गर्दैछन् ? यसबारे मेरो विचार लेख्दै छु ।

संघीय सरकारले लकडाउन गरेको आज ५३ दिन पूरा भयो । कोरोनाबाट सबै नेपाली पहिला बाँच्न पाउनुपर्छ भनेर राज्यले लकडाउन गरेको हो । पहिला जीवन अनि स्वतन्त्रता भनेर राज्यले गरेको लकडाउनको जनताले पालना गर्दै आइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन र राज्यले लकडाउनको अवधिमा नागरिकहरुलाई केही नियम पालना गर्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म कोभिड–१९ को संक्रमित २ सय ९५ , उपचारपछि स्वस्थ हुने ३६ र संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २ जना रहेको छ ।

गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन करिब २ महिना पूरा हुन लागेको छ । यो समयमा हाम्रा युवा पुस्ताले के कस्तो भूमिका निर्वाह गरिरहेका छन् ? अहिलेका राजनीतिक युवा पुस्ता जो भोली देशको उच्च पदमा पुग्ने वर्ग हुन् । उनीहरुको भूमिका यस विषय परिस्थितिमा कस्तो कस्तो हुनुपर्ने हो र के गर्दैछन् यीनीहरु ? अहिलेको युवा पुस्ताहरुले गरेको कामको आधारमा यी युवा पुस्ताले भोली देशलाई नेतृत्व दिन सक्छन् ? आजको टड्कारो बहसको विषय बनेको छ ।

नेपालमा विभिन्न आन्दोलनको माध्ययमबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यी हरेक आन्दोलनको मोर्चामा युवा पुस्ताको भूमिकालाई हामिले बिर्सनु हुँदैन । विभिन्न राजनीतिक दलसंग आबद्ध भएर या स्वतन्त्र रुपमा हरेक आन्दोलनको नेतृत्व गर्ने युवा पुस्ताले के अबको शुखी नेपाली समृद्ध नेपालको कल्पना साकार पार्न जिम्मेवार भएर अघि बढ्दै छन् ? यी सबै व्यवस्थाको उपलब्धिलाई संविधानमै समाजवाद उन्मूख व्यवस्था भनिएको छ ।  हामीले कल्पना गरेको समाजवादमा पुग्न अहिलेको युवा पुस्ताले कस्तो भूमिका निर्वाह गर्दैछन् ? अहिलेको राजनीतिक युवाहरुले समाजवादतीर राष्ट्रलाई पुर्याउन के कस्तो विचार सिद्धान्त ल्याएका छन् ? अहिले नेतृत्वमा रहेका पुस्ताले हिजो युवा हुँदा गरेको जति पनि अहिलेको युवा पुस्ताले राज्यलाई केही दिएका छन् त ?  पंतिकारको यी प्रश्नको उत्तर सहजै दिनसक्ने युवा राजनीतिमा देख्न अहिले पाइँदैन ।

देशमा लकडाउन चलिरहेको अवस्थामा राजनीतिक उतारचढावहरु पनि आए । आजका दिनसम्म आइपुग्दा केही साम्य भएको अवस्था पनि छ । जसरी जिम्मेवार हुनुपर्ने हाम्रा युवाहरु यो अवस्थामा त्यति धेरै विवेक गुमाउन पुग्छन् भन्ने कल्पना गरिएको थिएन । आम नागरिकले पनि सामान्य अवस्थामा भनिरहेका छन् अहिलेको युवाले देशमा संकट परेको बेलामा गलत काम नगरुन् र भोलीको आफ्नो बाटो सहज बनाउन् नागरिकहरुको कामना यही छ ।

लकडाउनको अवधिमा सामान्य पालना गर्नुपर्ने सामान्य नियम कानूनलाई वेवास्ता गर्नेे अहिलेको युवा पुस्ताले के साँच्चिकै भोलिको हाम्रो नयाँ राज्यलाई सही मार्ग निर्देशन गर्लान् ? सरकार र विश्व स्वास्थ्य संगठनले दिएका नियम कानूनलार्ई गाउँ घर समाजमा प्रशिक्षण दिएर आम नागरिकलाई सचेत गराउनुपर्ने युवा पुस्ता आँफै विवेक गुमाएर सडक आन्दोलनमा आउनुलाई कसरी बुझ्ने ? के यी युवाहरु देश र जनताप्रति भोलि उत्तरदायी होलान् ?

अहिलेको राजनीतिक युवाहरु आफ्नो भूमिकाबाट बिचलनमा आएका छन् । आफ्नो स्वार्थ अनि राजनीतिमा लागेको फाइदा र घाटामा रुमलिएर बसेका छन् । युवा पुस्ताले आफ्नो जिम्मेवारी बिर्सएर यही तरिकाले अघि बढ्ने हो भने देशमा ठूलो संकट उत्पन्न हुने र लामो समयसम्म पनि देशको अर्थतन्त्र राम्रो नहुने अवस्था देखिन्छ ।

अहिलेको युवाहरु, विकासका खातिर बहस गर्नुपर्ने,लेख रचनाको माध्यमबाट समाजमा आफ्नो विचार वा भिजन राख्नुपर्ने अवस्थामा राजनीतिक दलको गुटको कार्यकर्तामा मात्रै सिमित भएका छन् । हाम्रो देशमा विभिन्न राजनीतिक दलका भातृ संगठनहरु छन् ती संगठनमा युवाहरुको संख्या उल्लेख्य मात्रामा छ ।

ती युवाहरुको भूमिका भनेको नेतृत्वलाई खुशी पार्न र आफू कुनै अमुक नेताको नजिक छु भनेर फोटो खिची सामाजिक सञ्जालमा पोष्ट गर्नुबाहेक अरु केही देखिन्न । महत्वपूर्ण यो युवा उमेरमा यसरी आफ्नो भूमिकाबाट टाढा टाढा हुन खोज्ने र राष्ट्रको मूल समस्यालाई बेवास्ता गर्ने यस्ता राजनीतिक युवाहरुले आफ्नो विवेक गुमाउँदै छन् । समाजमा सकारात्मकता र समाजवादको विषयमा गहन भएर बहस गर्नुपर्ने यो युवा पुस्तामा मानसिक रुपमा पनि भोली हामी देशको नेतृत्व गर्न सक्छौँ भन्ने तयारी नभएको देखिन्छ ।

बिगत ५३ दिनदेखि लकडाउनमा रहेको अवस्थामा हाम्रो छिमेकी देश भारतले जसरी नेपालको सीमा मिच्यो या हाम्रो भूमि हुँदै चीनसम्म पुग्ने बाटो उद्घाटन गर्यो । नेपालमा नाकाबन्दीसमेत गर्न पछि नपर्ने भारतलाई सम्झँदा युवा पुस्ता भारतविरुद्ध आक्रोशमा आउनु स्वभाविक पनि हो । छिमेकी मुलुक भारत आफैँ पनि लकडाउनमा रहेको अवस्थामा किन यो बाटो उद्घाटन गर्यो ? यसको कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने र आफ्नो भूमि फिर्ता जसरी पनि गर्नुपर्ने माग लिएर सडकमा युवा पुस्ता आन्दोलन गर्न जानु सामान्य हो ।

तर आन्दोलन समस्याको समाधान हो त ? उच्च स्तरीय राजनीतिक छलफल र दुई देशको कुटनीतिक पहलले मात्र यो समस्याको सामाधान हुने हो भन्ने विवेक गुमाएका हुन् युवा पुस्ताले ? देश महामारी र कोभिड– १९ को अवस्थामा नभएको भए सडक आन्दोलनलाई सामान्य लिन सकिन्थ्यो । तर अहिले विश्व स्वास्थ्य संगठनले दिएको नियम र नेपाल सरकारले लकडाउनमा पालना गर्न दिएका नियम कानून उल्लंघन गरेर सडक आन्दोलन गर्नु के राम्रो हो त ? राज्यको नेतृत्वमा भएकाहरुलाई दबाब दिने क्रममा अहिले सामाजिक दुरी कायम गर्नुपर्ने बेला यो सडक आन्दोलनले कोभिड– १९ को संक्रमण बढ्ने प्रश्ट भएको छ । त्यसो त यी आन्दोलनमा जानेमा पनि संक्रमण देखिएको समाचार पनि आउन थालेका छन् ।

कुटनीतिक रुपमा समाधानको लागि राज्यले पहल गरिरहेको अवस्थामा युवाहरुले आन्दोलन छाडेर रचनात्मक सुझाव राज्यलाई दिनुपर्छ । हाम्रो आम युवा पुस्ताको या आम नेपालीले राज्यलाई दिने दबाब भनेको सडक आन्दोलन मात्रै होइन । यो लेख्दै गर्दा पंतिकारहरुलाई प्रश्न आउन सक्छ, पंतिकार प्रश्ट पनि छ नेपालको भूमि फिर्ता हुनुपर्दछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर आधुनिक नेपालको नक्सा नेपाल सरकारले जारी गर्नुपर्दछ । तर के आन्दोलनले संभव होला यो कोरोनाको महामारीमा बिकल्प कुटनीतिक हो युवा वर्गले पक्कै सोच्नुभएकै होला ।

अहिले नेपाल सरकारले बार्षिक नीति तथा कार्यक्रममा पनि प्रष्ट रुपमा उल्लेख गरेको छ । मिचिएका भू–भाग सबै समेटर नयाँ नक्सा सार्वजनिक गर्ने । सरकारले यति प्रष्ट रुपमा उल्लेख गरेको विषय कुटनीतिक रुपमा पक्कै समाधान गर्नेछ । युवा वर्गले पनि राज्यलाई सुझाव सल्लाह र सर्तकता गराउँनै पर्दछ तर सडक आन्दोलनबाट होइन । सडकमा गएर भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीको पुत्ला जलाएर या सडकमा टायर बालेर यो समस्याको समाधान हुँदैन भन्ने आम युवाले बुझ्नु पर्दछ ।

आजको तमाम समस्या समाधान गर्दै गयो भने भोलि यहि युवा वर्गले देशलाई विकसित बनाउन सक्छन् । यसरी राजनीतिक युवाहरुले आवेगमा आएर गरेका कतिपय कामले दीर्घकालिन असर पार्न सक्दछ । आम युवाहरुलाई पंतिकारको सुझाव, अब समाजवाद उन्भुख देशलाई अब कसरी विकसित र सक्षम बनाउन सकिन्छ भन्ने बहस चलाउन अनुरोध गर्दछु ।

अब राजनीतिक क्रान्ति सकियो, आर्थिक सामाजिक क्रान्तिको लागि सडकमा टायर बालेर आन्दोलन गर्नु पर्दैन । आफ्नो विवेक सहि ठाउँमा प्रयोग गरेर युवा पुस्ता अघि बढ्यो भने देशले मुहार फेर्न लामो समय कुर्नु पर्दैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*