यस्ता छन् राष्ट्रियसभा छिर्दा पालना गर्नुपर्ने मापदण्ड

तु खबर संवाददाता
२०७७ बैशाख २५, बिहीबार १८:४४
file-photo

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रियसभाले सदस्यहरूका लागि मापदण्ड बनाएको छ ।

शुक्रबारबाट सुरु हुने बजेट अधिवेशनमा सहभागी हुन आउने सदस्यहरूले पालना गर्नुपर्ने मादण्ड बनाएको हो ।

आज राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना भाइरसको जोखिमलाई मध्यनगर गर्दै ९ वटा निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै १ मिटरको दूरी कायम गरेर २ सिट छोडेर बस्ने व्यवस्था मिलाउने, संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने, बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने, दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने लगायतका ९ निर्णय समितिले गरेको हो ।

आज मिति २०७७ साल बैशाख २५ गते सम्माननीय अध्यक्ष ज्यूको अध्यक्षतामा बसेको राष्ट्रियसभा कार्यव्यबस्था परामर्श समितिको बैठकमा भएका निर्णयहरुः–

१. विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने ।

२. राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने।

३. सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्य ज्यूहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै माननीयज्यूले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।

४. संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने ।

५. क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने।

६. संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने ।

७.दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने ।

८. मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने।

९. त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले कोभिड–१९ रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।
शिलापत्रबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*