मनहरी–५ का १३५ परिवारलाई राहत वितरण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका स्थानीय युवा तथा समाजसेवीहरुको सक्रियतामा वडाका न्यून वर्गीय परिवारलाई राहत वितरण गरिएको छ ।
स्थानीय शिवराज उप्रेती र योगेन्द्र अर्यालको संयोजनमा शुक्रबार बसन्तपुर, रुन्चेडाँडा, दमार, रातोमाटेलगायतका क्षेत्रका गरी १ सय ३५ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
लकडाउनका कारण दैनिक काम ठप्प हुँदा बिहान बेलुका छाक टार्न मुस्किल भएका परिवारको पहिचान गरी आफूहरुले प्रति परिवार १३ किलो चामल, तेल, दाल, नुन, मसला, मस्यौरालगायतका सामाग्री वितरण गरिएको उप्रेतीले बताए ।
सो क्षेत्रमा अझै ५० परिवारलाई राहत दिनुपर्ने देखिएको भन्दै आफूहरुले उनीहरुलाई पनि तत्काल राहत दिने नेपाली काँग्रेस ५ नम्बर वडा सभापति विष्णुप्रसाद उप्रेतीले जानकारी दिए ।
राहतको लागि नेपाली काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, लोकतान्त्रिक खाद्यान्न संघ मकवानपुरका अध्यक्ष काव्यमणि अधिकारी, काँग्रेस युवा नेता राजेश भेटवाल, काँग्रेस नेता भरत पराजुली, प्रकाश वर्तौला, राक्सिराङ गाउँपालिकाका काँग्रेस युवा नेता नवराज लामा, नेपाल तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौलालगायतले खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।
राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य नवराज उप्रेती, नेपाली काँग्रेस वडा सभापति विष्णुप्रसाद उप्रेती, समाजसेवी रामचन्द्र वर्तौला, कितापसिं थिङ, स्थानीय युवा श्रीकृष्ण वर्तौला, आशिष वर्तौलालगायत स्थानीय समाजसेवी युवाहरुको सहभागिता रहेको थियो ।
