टिप्पणी : बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको बर्हिगमन मात्रै अहिलेको समस्याको समाधान हो ?
मकवानपुर । नेपालको राजनीति अहिले निकै गर्माएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हठले यतिबेलाको राजनीति तरल बनेको हो । नेपाली जनता कोरोनाको त्रासमा बाँचिरहेका बेला सरकारको नेतृत्व गरेका ओली मण्डलीले जनतालाई राहत र सान्तवना दिनुपर्नेमा फोहोरी राजनीतिको चक्रब्यूह बनाउन थालेपछि राजनीतिमा ध्रवीकरण बढेको छ ।
पहिलेदेखिकै अलिअलि टकराव बढ्दै जादा त्यो अन्त्यअन्त्यतिर पुग्न थालेको हो । अझ पूर्व प्रहरी महानिरीक्षकसहितका ओलीनिकटहरुले साँसद अपहरणको प्रयास गरेको सूचना बाहिर आएपछि र अध्यादेशको जालमा अरुलाई पार्ने फोहोर राजनीतिको सुरुवात भएपछि त्यसैले ओलीलाई अहिलेको कमजोर अवस्थमा ल्याइपुर्याइदिएको छ ।
विवेकशुन्य र घिनलाग्दो फोहोरी राजनीतिले केपी सरकार कमजोर भइसकेको छ । केपी सरकारभन्दा झन् बढी कमजोर भइरहेका छन् । यतिबेला विवेकसम्मत निर्णय गर्नुपर्ने बेला ओली एकपछि अर्को गलत निर्णय गरिरहेका छन् । उनका सल्लाहकार समूह पनि भजन मण्डली र चरम भ्रष्टाचारको दलदलमा फसिरहेको छ । आइटी सल्लाहकारले अनलाइन मिडियाको प्यानलमै प्रवेश गरेर आफ्नो विरुद्धको समाचार हटाइदिने जस्तो घोर अपराधिक क्रियाकलाप गरिरहेका छन् । जून क्षमायोग्य हुनै सक्दैन । यसबाहेक अन्य थुप्रै अपराधिक क्रियाकलापको जालोमा ओली जेलिएका छन् । यसकै पछिल्लो कडीको रुपमा साँसद अपहरण प्रकरणलाई हेर्न सकिन्छ ।
डोरमणि पौडेल ओलीको अर्को तुरुप
केन्द्रीय राजनीतिमा पहिरो जान थालेपछि र त्यसले ओलीलाई नै बगाउने खतरा बढेपछि त्यसलाई रोक्न ओली समूहले फालेको अर्को तुरुप हो, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको बर्हिगमन । पौडेललाई मुख्यमन्त्री चयन गर्दैखेरी उनको नाममा ब्यापक विरोध भएको थियो ।
आफ्नै पार्टीको फरक गुटको प्रतिनिधित्व गर्ने भनी चिनिएकी जुझारु महिला नेतृ अष्टलक्ष्मी शाक्यलाई डोरमणिसँग भिडाएर निर्वाचनमा पराजित नै गरिदियो, ओली समूहले । जसको तुष अहिले पनि छदैछ । त्यसयता, मुख्यमन्त्री पौडेलले पनि सबैलाई मिलाएर अघि बढ्ने प्रयास गरेनन् । जसरी केन्द्रमा ओलीले आफ्ना भजनमण्डलीलाई आफ्नो घेरा वरिपरि राखेर केन्द्रीय सरकार चलाए त्यसैगरी यता पौडेलले पनि आफ्नै भजन गाउनेहरुलाई वरिपरि राखे ।
पौडेल आफैमा एक असल नेता हुन् तर मुख्यमन्त्री भएपछि उनले यस्तो सल्लाहकार मण्डल बनाए कि उनी त्यही जालोभित्र जेलिए । उनको सचिवालयले जनताको कामलाई प्रथमिकतामा राखेन । बरु, शक्तिको चरम दुरुपयोग गरी सरकारी स्रोत साधनमा कब्जा जमायो । नेकपा भित्रैका असल र सक्षम नेतृत्वहरुसँग सरकार संचालनका दौरान छलफल गरिएन र उनीहरुलाई आफ्नै पार्टीको नेतृत्वमा सरकार छ भन्ने आभाष समेत दिने प्रयास भएन ।
हरेक निर्णय आफ्नो स्वार्थ अनुकूलमात्र गर्ने काम भयो । भौतिक पूर्वाधार मन्त्रालयबाट केशब स्थापितलाई हटाइसकेपछि डोरमणि पौडेलको स्वकीय सचिवालले मनलाग्दी तरिकाले योजना छनौट गर्ने काम गर्यो । त्यहाँ पनि पार्टीसँग कुनै छलफल भएन । पार्टीका नेताहरुलाई समेटेर लैजान पौडेलको सचिवालय चुक्यो । अझ सचिवालय चुक्यो के भन्नु पौडेल आफै चुके । पौडेलको सरकारले यो प्रदेशमा एउटा पनि यस्तो काम गर्न सकेको छैन, जसले वाह वाह कमाओस् ।
के पौडेलको बर्हिगमन मात्रै अहिलेको समस्याको समाधान हो ?
बरिष्ठ पत्रकार मातृका पौडेलले हिजो अनलाइन खबरमा एउटा विश्लेषण लेखेका छन् । विश्लेषणमा केपी ओलीबाट सिर्जित समस्या मुख्यमन्त्री डोरमणि पौडेल हटाएर समाधान नहुने माधव नेपाल पक्षको धारणा रहेको उल्लेख छ ।
मूल कुरो यहि हो । केन्द्रीय सरकारको नेतृत्व गरिरहेका केपी ओलीको कार्यशैली नेपालले अंगिकार गरेको व्यवस्था वितरित छ । उनले लोकतान्त्रिक पद्धति र प्रकृयाको धज्जी उडाएका छन् ।
शासन संचालनमा अपराधिकरण गरेका छन् । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उखानलाई नेपालमा अहिले केपी ओलीले मज्जासँग पुष्टि गरिदिएका छन् । सारा ब्यापार व्यवसाय चौपट छ, मानिसको जीवन स्तर विग्रदो छ ।
यस्तो बेला आसा र भरोसाको केन्द्र बन्नु पर्ने यो सरकारदेखि नागरिक हरेक समय डराउनुपर्ने अवस्था छ । शक्तिशाली हैशियतमा रहेको साँसद त रातारात अपहरण गर्ने काम प्रधानमन्त्रीजस्तोबाट हुन्छ भने राज्यको अन्य संयन्त्र कति पंगु भएको होला, सहजै बुझ्न सकिन्छ ।
माधव नेपाल पक्षका नेताले अनलाइन खबरमा भनेजस्तै अहिलेको समस्याको जड भनेको केपी ओली हुन्, उनको बर्हिगमनमात्रै अहिलेको राजनीतिक समस्याको ठोस् समाधान हो । मुख्यमन्त्री पौडेललाई बलीको बोका बनाइहाल्न पर्ने छैन । तर, पौडेलले पनि आफ्नो कार्यशैलीमा ब्यापक सुधार गर्नुपर्ने अवस्था चाहिँ छ । उनले आफ्ना वरिपरि जून भजन मंडली खडा गरेका छन्, त्यसले उनको साख दिनप्रतिदिन गिर्दै गइरहेको छ ।
