मकवानपुरका एसपी राठौरको निर्देशनमा लोथरबाट हेटौंडा भित्रियो फलफूल बोकेको भारतीय ट्रक
मकवानपुर, ६ चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सबै सुरक्षा प्रमुखसहित गत ३० गते बसेको बैठकले ‘जिल्लाभित्र उत्पादित तरकारीले यस जिल्लाको आवश्यकता पूर्ति गर्न सक्ने स्थिति देखिएको हुँदा विशेष गरी हरियो तरकारीको हकमा मिति २०७७/०१/०१ देखि अर्को सूचना नभएसम्मका लागि अन्य जिल्लाबाट आयातित हुने तरकारीलाई जिल्लाभित्र विक्री वितरणमा रोक लगाउने’ निर्णय गर्यो ।
यो निर्णय कोराना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको जिल्ला प्रशासन कार्यालयको भनाई छ । तर, तरकारी रोक्ने निर्णय हुँदा फलफूल बोकेको गाडी रोक्ने कि नरोक्ने भन्ने ठ्याक्कै केही निर्णय भएन ।
तरकारी बोकेको गाडी जिल्लाभित्र रोक्ने निर्णय हुनुभनेको कोरोना रोकथाम तथा नियन्त्रण गर्ने अभिप्रायले भएको निर्णय हो । त्यसो हो भने तरकारी बोक्ने गाडी मात्रै जिल्लामा अनलोड गर्न नदिने अन्य फलफूल बोकेको गाडीलाई अनलोड गर्न दिने भनेको हो ? निर्णय आफैमा स्पष्ट छैन ।
हो यहि अस्पष्ट निर्णयका कारण मकवानपुर प्रहरीले आफू अनुकूल काम गर्ने अवसर पाएको छ । जे गर्ने हो त्यही ठोस् निर्णय नभएपछि मकवानपुर प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौरले आफ्नो विवेक प्रयोग गर्ने अवसर पाएका छन् ।
त्यो विवेक सर्वसाधारणले मकै, चामल, पिठो वा तरकारी ढुवानी गर्दा दपेट्ने ठूलाबढाले यस्तै प्रकृतिका काम गर्दा स्वीकार गर्ने मात्र हैन उनैलाई सहज बनाइदिने काम एसपी राठौरकै निर्देशनमा भइरहेको छ ।
यो पनि पढ्नुहोस् –
भारतको महाराष्ट्रबाट फलफूल र तरकारी बोकेर आएको यूपी ३२ यूएन ९२५१ को आइचर गाडी ५ गते राति २ बजे लोथर पोष्टबाट क्रस भयो । लोथर पोष्टमा डियूटीमा बसेकाहरुले फलफूल र तरकारी बोकेको भारतीय गाडीलाई मकवानपुर जिल्ला हेटौंडा – १० मा रहेको दूर्गा कोल्ड स्टोरमा जान किन दिए भन्ने प्रश्न उठेको छ ।
भारतबाट फलफूल र तरकारी बोकेर आएको आइचर गाडी आफ्नो टोलमा देखेपछि हेटौंडा–१० कर्राका स्थानीयहरुले बिहानैदेखि अनलोड गर्न अवरोध गरिरहेका छन् ।
अवरोध हटाएर फलफूल र तरकारीलाई त्यहाँ अनलोड गर्न दिने तयारी मकवानपुर प्रहरीको छ । नेपालकै तराइका जिल्लाहरुबाट तरकारी भित्रदा र अनलोड गर्दा कोरोनाको संक्रमण बढ्ने डर हुने भारतबाट आएको फलफूल अनलोड हुँदा संक्रमण नहुने कस्तो नीति होे भनेर अवरोध गर्नेहरुले प्रहरीलाई प्रश्न सोधिरहेका छन् ।
तर, प्रहरी एकोहोरो शक्तिको आँडमा फलफूल र तरकारी अनलोड गराउने रटान दिइरहेको छ ।
यदि, भारतबाट आएको फलफूल र तरकारी बोकेको गाडी निर्वाध हेटौंडामा आएर अनलोड गर्न मिल्छ भने तराइका जिल्लाहरुबाट तरकारी बोकेर आएका गाडी किन रोकिँदैछ, त्यसको जवाफ प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल र एसपी राठौर दिनुपर्ने देखिएको छ ।
सर्वसाधारणले बोकेका एक बोरा चामल, मकै, पिठो वा अन्य खाद्यन्नहरुलाई जताबाट आएको हो उतै लिएर जानू भनेर धम्क्याउने प्रहरीले ठूलो परिमाणमा भारतबाट फलफू्ल बोकेर आउने सवारीसाधनलाई प्रवेश दिनुलाई कसरी हेर्ने, कानूनका विज्ञहरुले विश्लेषण गर्लान् नै ।
बैशाख ६ गते बिहान ८ बजेर १५ मिनेटमा रातोमाटेतिरबाट मकैको बोरा बोकेर आएका एक जना सर्वसाधारणलाई कर्रा पुलको मुखमै बसेका नेपाल प्रहरी र सशस्त्र प्रंहरीले माथिको आदेश छ बजार प्रवेश गर्न पाइदैन फर्किनु भनेर रोकेका थिए ।
स्मरणीय के छ भने सुरक्षा प्रमुखहरु सम्मिलित कमाण्ड पोष्टको बैठकले खाद्यन्न किनमेल गर्ने समय बिहान ९ बजेसम्म निर्धारण गरेको
छ । र, निर्णयपछि पनि सर्वसाधारणलाई प्रहरीले थुनछेक गर्दै आइरहेको छ ।
सर्वसाधारणको लागि निर्मन ढंगले प्रस्तुत हुने मकवानपुर प्रहरीले बाहिरी जिल्लाबाट भित्रिएका तरकारी रोक्नू भन्ने आदेश पाएर पनि काम गर्दैन ।
प्रहरीले फलफूल मात्रै बोकेको गाडी हो भने पनि गाडीमा तरकारी समेत छ । फलफूल र तरकारी हेटौंडा भित्रिने कार्य जिल्ला प्रशासनको निर्णयको बिपरित पनि छ ।
नियत यस्तो कि निर्देशन यस्तो
प्रहरी अधिकारीहरुले भने एसपी राठौरकै निर्देशनमा सो गाडी हेटौंडा प्रवेश गरेको जानकारी दिएका छन् । स्रोतले बताए अनुसार, एसपी राठौरले नै सो गाडीलाई हेटौंडा भित्रन दिएका हुन् ।
फिल्डमा खटिएका प्रहरीले माथिको आदेश हुबहु कार्यान्वयन गर्ने हो, हिजोका दिनसम्म नेपालकै तराइका जिल्लाबाट भित्रिएका तरकारीका गाडीहरु जहाँबाट आएको हो उतै फर्काइदिने काम भएको थियो तर यो भारतीय गाडी त्यति धेरै सुरक्षा जाँच पार गरेर हेटौंडा आइपुग्नु संयोग मात्र मान्न सकिँदैन ।
सानालाई ऐन ठूलालाई चैन भनेझैँ मकवानपुरका एसपी राठौरले समान्य व्यक्तिले ल्याएको खाद्य सामग्री रोकिएको बारे केही नबोल्ने र ठूलाठालूले ल्याएको सामान निर्वाध प्रवेशको वातावरण बनाउने काम गरिरहेका छन् ।
जिल्ला भित्रिने गाडीमा किटनाषक औषधि छर्केने निर्णय भए पनि रातारात गाडी कीट नाषक नछर्की हेटौंडा भित्रियो ।
नेपालकै अन्य जिल्लाबाट तरकारी बोकेर आएका गाडीहरुलाई मकवानपुरमा अनलोड गर्न नदिर्ने निर्णय जिल्ला प्रशासन कार्यालयको छ । तर, त्यही निर्णय गर्ने अन्यमध्ये एक एसपी राठौर भने निर्णयबारे बेखबर भएझैँ निर्णय कार्यान्वयन गर्न आलटाल गरिहेका छन् । सर्वसाधारणले बोकेको तरकारी रोक्न सक्ने एसपी राठौर यो मामिलामा किन उल्टो काम गर्दैछन् ।
यसो भन्छन् मकवानपुरका एसपी राठौर
जतिबेला एसपी राठौर मकवानपुर प्रहरीको चार्ज समाल्न हेटौंडा आइपुगे त्यतिबेला उनी असल प्रहरी अधिकारी हुन् भन्ने चर्चा थियो ।
संकटमा मानिस र संगठनको क्षमता जाँच हुन्छ भन्ने भनाइलाई आधार मान्ने हो भने अहिले कोरोना संक्रमण विश्वब्यापी रुपमै गम्भीर समस्याको विषय भएको छ ।
यस्तो गम्भीर समस्यामा एसपी राठौरको कार्यक्षमता उत्कृष्ठ देखिनुपर्ने हो । तर, दुभाग्य उनी मातहतको प्रहरीको कार्यशैलीले एसपी राठौरलाई दिनप्रतिदिन विवादित बनाउँदै गइरहेको छ ।
हिजो ५ गते राति २ बजे लोथर चेकपोष्टबाट एसपी राठौरकै निर्देशनमा भारतीय गाडी हेटौँडा प्रवेश गर्यो । हेटौंडा प्रवेश मात्रै गरेको छैन अब सो गाडीमा भारतबाट ल्याइएको फलफूल अनलोडको तयारी भइरहेको छ ।
कमाण्ड पोष्टले बाहिरी जिल्लाबाट तरकारी नल्याउने निर्णय गर्दा उनी सोही बैठकमा उपस्थित थिए । सो बैठकमा बाहिरी जिल्लाबाट तरकारी नल्याउने निर्णयबारे उनले केही बोलेका थिएनन् ।
तु खबरले प्रहरीले किन यसरी एउटै र उस्तै प्रकृतिको घटनामा फरक फरक नीति बनाएको भनी जिज्ञासा राखेको थियो ।
उनले कमाण्ड पोष्टको निर्णयबारे कमाण्ड पोष्टलाई नै सोध्न तु खबरसँग आग्रह गरे ।
भन्सारबाट किन गाडी पास भएर रातोमाटेसम्म आइपुग्यो त्यो विषयमा पनि बुझ्न उनले अनुरोध गरे । उनले भने – ‘फलफूलको विषयमा मकवानपुर उद्योग बाणिज्य संघले पुग्छ पुग्दैन जे हो उसैले भन्ने हो, उसले मगाई सकेपछि हामीले कसरी रोक्ने ।’
सर्वसाधारणले खाद्यन्न बोकेर आवतजावत गर्दा नरोक्न स्पष्ट निर्देशन भइसकेको बताउँदै यदि कहिँ कतै त्यस्तो अवस्था आए आफूहरुलाई सूचना दिन आग्रह गरे । एसपी राठौरले सकभर आफ्नो तर्फबाट सहजीकरण भइरहेको बताउँदै सर्वसाधारणलाई समस्या पर्न नदिने जानकारी दिए ।
यसअघि प्रकाशित समाचारमा केही त्रुटी भएकोले मिति २०७७/०१/०६ गते १०:५५ मा पुनः सम्पादन गरिएको । सं.
