मकवानपुर एसपीको नाटक – भुस्सा बोक्ने गाडि प्रवेश, पराल बोक्ने निषेध

तु खबर संवाददाता
२०७७ बैशाख ५, शुक्रबार १०:५३

मकवानपुर, ५ बैशाख

मकवानपुर प्रहरीको कार्यशैली देखेर नहाँसौँ भन्दा पनि पेट मिचिमिचि हाँस्न मन लाग्छ । संकटको बेला प्रहरीका जवानदेखि सकल दर्जाका प्रहरी अधिकारीहरुले दिनरात फिल्डमा खटिएर काम गरेको पत्रकारले देख्नै सकेन भन्ने आरोप लाग्न सक्छ । एउटा पत्रकारको नाताले लेख्नै पर्ने विषयमा कसरी मौन बस्ने होला भन्ने सोचेर यो सानो टिप्पणी लेख्ने प्रयास गरिएको छ –

मकवानपुर प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौरले के बुझेर फिल्डमा खटिने प्रहरीलाई निर्देशन दिन्छन् भन्ने बुझ्न मुस्किल हुन थालेको छ ।

घटना विवरण अध्ययन गर्ने हो भने प्रहरीले फिल्डमा अपनाएको दोहोरो स्ट्यान्डर्डले नागरिकहरुलाई सास्तीमात्र थपेको छैन, सिंगो प्रहरीप्रति नागरिकहरुमा आक्रोश बढ्दो छ ।

मकवानपुर प्रवेश गर्ने मुख्य नाका हेटौंडा १५ रातोमाटे चेकपोष्टमा प्रहरीले भुसा बोकेर आएको सवारीलाई निर्वाध मकवानपुर प्रवेशको अनुमति दिने गरेको छ । तर, त्यहि भुसा बोकेको गाडिको पछीपछी पराल बोकेर आएको गाडिलाई भने जताबाट आएको हो उतै फर्किन आदेश दिन्छ । भुसा बोकेको गाडि प्रवेश गर्दा कोरोना नसर्ने पराल बोकेको गाडि प्रवेश गर्दा कोरोना सर्ने हो भनेर सवारीचालकहरु आक्रोश पोख्छन् । फिल्डमा खटिएको प्रहरी माथिको आदेश भन्दै डेक चल्दैनन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले पराल,औषधी, चामल, दाल, नुन, तेल जस्ता खाद्य पदार्थ बोक्ने सवारीलाई रोक्ने कुनै निर्देशन प्रहरीलाई नदिएको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोष्ट भन्ने संयन्त्र बनाइएको छ । जसले लकडाउनलाई प्रभावकारी बनाउने, अत्यावश्यक विषयमा नागरिकलाई समन्वय गर्ने लगायतको कार्य गर्छ । त्यही कमाण्ड पोष्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका सबै सुरक्षा निकायका प्रमुख सदस्य छन् । तर, के गर्ने कमाण्ड पोष्टमा एउटा निर्णय हुन्छ फिल्डमा अर्कै तरिकाले कार्यान्वयन हुन्छ । एसपी राठौर फिल्डमा यस्तै तमाम समस्या सिर्जना गरिरहेका छन् ।

केही दिनअघि मेडिकल खोल्न हिँडेकाहरुलाई बुद्ध चोकमै मोटरसाइकल रोकेर हिड्दै जाऊ भनेर प्रहरीले निर्देशन दियो । यो कुरा मकवानपुर प्रजिअ दीपक नेपालसम्म पुग्यो । स्वास्थ्य क्षेत्रका मानिसहरुले यस्तो दुख दिने हो भने सबै मेडिकल बन्द गर्छौ भन्नेसम्मको अवस्था
बन्यो । पछि फेरी सहजीकरण गरियो र घटना सामान्य भयो ।

त्यतिमात्र होइन, एसपी राठौरकै निर्देशनमा कतिपय सूचनाहरु लुकाउने काम भइरहेको छ । एकछिन अघि फिल्डमा पत्रकारको आँखै अघि भएको घटना पनि भएकै छैन भनेर प्रहरी प्रवक्ता पन्छिन्छन् । जबकी फिल्डबाट प्रहरीले घटना विवरण सेटमै जाहेर गरिसकेको अवस्था
हुन्छ ।

वाकीटकी मार्फत् फिल्डबाट घटना विवरण माथि भनिसकेपछि पनि प्रहरीले एसपी राठौरकै निर्देशनमा घटना भएकै छैन भन्दै आएको छ ।

यस्तो नाटक कहिलेसम्म मञ्चन हुन्छ एसपी राठौर साहेब ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*