नेता बानियाँको आग्रह – लकडाउनको समय थपौँ, मजदुरी गरेर खानेलाई राहत उपलब्ध गराऔँ

तु खबर संवाददाता
२०७६ चैत्र १६, आईतवार ०९:२७
तस्बिर - अन्जन दाहाल

मकवानपुर, १६ चैत । बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लकडाउनको अवधि कम्तीमा पनि एक साता थप्न आग्रह गर्नुृभएको छ ।
विश्वनै कोरोनासँग लडिरहेको र सबै परिस्थिति हेर्दा लकडाउनको अवधि थप्नुपर्ने कुरामा उहाँको जोड छ ।

साथै नेता बानियाँले लकडाउनको अवधिमा अति आवश्यक बस्तुहरुको आपूर्ति व्यवस्था सहज र सुरक्षित बनाउन प्रदेश सरकारले काम गर्नुपर्ने समेत बताउनुभएको छ ।

प्रदेश सरकारले गम्भिर भएर कोरोनाका विरुद्ध लड्न उचित योजना बनाउन आवश्यक रहेको बानियाँले बताउनुभयो । उहाँले यस्तो कठिन समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आफ्नो तर्फबाट हरतरहको सहयोग हुने कुरा प्रदेश सरकारलाई जानकारी गराइसकिएको बताउँदै नेता बानियाँले प्रदेश सरकार छ भन्ने अनुभूती नागकिरलाई हुने गरी कोरोना विरुद्ध आवश्यक तयारी गर्न आग्रह समेत गर्नुभएको छ ।

छिमेकी देशबाट कोरोनाको उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने पीपीई र स्वास्थ्य उपकरण आइसकेकोे सन्दर्भमा त्यसलाई प्रदेश सरकारले विशेष पहल गरी बागमती प्रदेशका सबै जिल्लाहरुमा समानुपातिक वितरणको कार्य हुनुपर्ने बताउनुभयो ।

दूर्गम र छिमेकी जिल्ला चीनसँग सिमाना जोडिएका जिल्लाहरुमा अझै सतर्कता अपनाउने र स्वास्थ्य सामग्री उपलब्ध गराइहाल्न समेत बानियाँले अनुरोध गर्नुभएको छ । साथै, उपचारमा संलग्न चिकित्सकहरु र सुरक्षामा खटिएका प्रहरीहरुलाई समेत सुरक्षित भएका काम गर्न उहाँले आग्रह गर्नुभएको छ ।

यो असजिलो अवस्थामा प्रहरी र स्वास्थ्यकर्मीले पुर्याएको योगदान पनि उल्लेख्य रहेको भन्दै उहाँले धन्यवाद समेत दिनुभएको छ ।

साथै, थप क्रियाशील भई कोरोना विरुद्ध हातेमालो गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज र राजनीतिक दललाई पनि बानियाँले अपिल गर्नुभएको छ ।

सबै जिल्लामा स्वास्थ्य सामग्री पुर्याऔँ

पूर्व गृहराज्यमन्त्री समेत हुनुभएका बानियाँले प्रदेशका सबै जिल्लाहरुमा कम्तीमा पनि स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई र परिक्षण गर्ने किट तथा अन्य उपकरण पुर्याउनुपर्ने बताउनुभयो । साथै यथासक्के चाँडै प्रयोगशाला तयार पार्नुपर्ने बताउनुभएको छ ।

रसुवादेखि धादिङसम्मका सबै जिल्लामा संघीय सरकारसँग समन्वय गरेर स्वास्थ्यकर्मीहरुको लागि पीपीई तथा उपचारमा आवश्यक अन्य स्वास्थ्यसामग्री पठाइहाल्न उहाँले आग्रह गर्नुभएको हो । जति ढिलो काम हुन्छ त्यतिनै जोखिम बढ्ने हुनाले त्यसमा प्रदेश सरकार सचेत हुनुपर्ने बानियाँले बताउनुभयो ।

उहाँले प्रदेश सरकारले सरकार भएको अनुभूती हुने गरी आवश्यक भौतीक सामग्रीको व्यवस्थापन गर्नुपर्ने पनि बताउनुभयो ।

 

प्रदेश राजधानीमा तुरुन्तै स्थापना गरौँ परिक्षण केन्द्र

राजधानी हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (भेक्टर बोर्न) मा तुरुन्तै कोरोना परिक्षण हुने उपकरण व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । हामीसँग किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र छ त्यसलाई व्यवस्थित गरेर कोरोनाको परिक्षण गर्ने उपकरणको व्यवस्था मिलाएर त्यहीबाट परिक्षण कार्य सुरु गर्नुपर्ने बनियाँले बताउनुभयो ।

साथै उहाँले चितवन स्थित कोरोना विशेष अस्पताललाई थप बलियो बनाउन रोगको परिक्षण गर्ने उपकरण, टिक तथा ज्वरो नाप्ने थर्मल गन उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ ।

 

बजार व्यवस्थित पारौँ, उपलब्ध गराऔँ

नेता बानियाँले कफ्र्यू र राजनीतिक दलले आह्वान गरेको बन्दको समयमा जस्तो निश्चित समयपछि बजारमा भीडभाड बढेको भन्दै चिन्ता गर्नुभएको छ ।

अघिपछि कफ्र्यू तथा राजनीतिक दलले आह्वान गरेको बन्दको समय सकिने बित्तिकै जस्तो बजारमा भीडभाड हुन्थ्यो, नागरिकहरुले यो लकडाउनलाई पनि त्यसैगरी बुझेकोले यस्तो गम्भीर गल्ती नगर्न आग्रह गर्नुभएको छ ।

यो रोगले धनी गरीव, ठूलो सानो केही भन्दैन त्यही भएर सचेत हुनुपर्दछ, बनियाँले भन्नुभयो । उहाँले भीडभाड नगरी आवश्यक बस्तु खरिद गर्न पनि सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

उहाँले प्रदेश सरकारले तत्काल कार्ययोजना निर्माण गरी दैनिक कमाएर खानुपर्ने स्थितिका नागरिकलाई राहत दिन पनि प्रदेश सरकारसँग अनुरोध गर्नुभएको छ । दिनभरि कमाएर बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेकाहरुलाई सरकारले सम्बोधन गर्नुपर्दछ, आफ्नो दल हरतरहले सरकारसँग समन्वय गर्न तयार रहेको समेत बानियाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*