बागमती प्रदेशसभा भवन निर्माणको लागि ४ करोड ५० लाख

२०७६ पुष २९,मंगलवार १०:४६

हेटौंडा, २९ पुस । बागमती प्रदेशको प्रदेशसभा भवन निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४ करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।

प्रदेशसभा भवन निर्माणका लागि भौतिक योजना मन्त्रालयले डीपिआर निर्माण गरिरहेको छ । डीपिआर निर्माण पछि प्रदेशसभा भवन निर्माणका लागि कुल पूँजी कति लाग्नेछ भन्ने थाहा हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार डीपिआर निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्रदेशसभा भवन व्यवस्थित नहुँदा सभा सञ्चालनमा कठिनाई भइरहेकोले जतिसक्दो छिट्टै भवन बनाउनुपर्ने दबाबमा प्रदेशसभा सचिवालय र सरकार परेको छ ।

डीपिआरको काम सुरु हुँदा हाल प्रदेशसभा सचिवालय रहेकै जग्गामा नापजाँच गरी सोही ठाउँमा निर्माण गर्ने गरी कार्य अघि बढेको थियो । तर, अब सो ठाउँ भन्दा अन्यत्र निर्माण गर्नुपर्ने छलफल सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले भुटनदेवी विद्यालयको पछाडी प्रदेशसभालाई जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । अस्थायी राजधानीको मुकाम तय हुँदा बासुदेव सभागृहलाई प्रदेशसभा बनाउने प्रस्ताव तत्कालिन कार्यदलले गरेको थियो ।

तर, सो सभागृहलाई भत्काएर कमर्सियल भ्युटावर बनाउने उपमहानगरपालिकको निर्णयपछि प्रदेशसभाले सो सभागृह पाउने स्थिति छैन । अब प्रदेशसभा भवन निर्माणका लागि सरकारले अन्यत्र जग्गाको व्यवस्था गर्नुपर्ने देखिएको छ ।

यो पनि हेर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*