महिलाको जीवन र सम्झौता

२०७६ कार्तिक २७,बुधबार १३:४७

–कुमारी वाईवा

मकवानपुर, २७ कात्तिक । मानिसले मानिस भएकै हैसियतले प्राप्त गर्ने सबै अधिकारहरुलाई मानवअधिकार भनिन्छ । मानिस हुनुको हैसियतलाई सम्मानपूर्वक कायम गर्न मानवअधिकारको आवश्यकता पर्दछ । महिला पनि मानव भएको कारणले सबै मानवअधिकार महिलाका पनि अधिकार हुन् ।

महिलाका विशेष अवस्थाहरुलाई ध्यान दिदैं संयुक्त राष्ट्र संघको महासभाले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १८ डिसेम्बर १९७९ मा पारित गरी ३ सेप्टेम्बर १९८१ देखि लागू गरेको हो । नेपालले यस महासन्धिलाई २२ अप्रिल १९९१ मा अनुमोदन गरेको थियो ।

यस महासन्धिले महिलाविरुद्धको भेदभावको परिभाषा गरेको छ । परापूर्वकालदेखि नै नेपालमा महिलालाई दोस्रो दर्जाको नागरीकको रुपमा हेर्ने गरिएको पाइन्छ । महिला आर्थिक रुपमा पुरुषमा निर्भर हुनुपर्नें, घरायसी र बच्चा जन्माउने कार्यमा महिलाको महत्वपूर्ण भूमिका रहेपनि महिलाको कामलाई देशको ग्राहस्थ उत्पादनमा गणना नहुने, सम्पत्तिको अधिकारमा असमानता, पितृसत्तात्मक समाज, छोराले स्वर्ग तार्छ भन्ने मान्यता रहिआएको छ ।

सामाजिक कुप्रथाहरु जस्तै ः झुमा, देउकी, छाउपडी, कुमारी जस्ता प्रथाहरु प्रचलनमा रहेका छन् । दाइजो तथा तिलक, बालविवाह, मन्जुरी विना विवाह, बोक्सीको रुपमा महिलालाई आरोप लगाई जिउंदै जलाउंने, दाइजो नल्याएको कारण कुटपिटदेखि ज्यान लिनेसम्म कार्यले समाजमा महिलाहरु चरम विभेदको शिकार भैरहेका छन् । यहां जोडन खोजिएको विषय भने महिलाको जीवन एक सम्झौता हो कि भन्ने लाग्छ ।

महिलाले सानै उमेरदेखि सम्झौता गर्दै आएको हुन्छ आफ्नो व्यक्तिगत जीवनयापन गर्नमा । घरमा महिलाहरु कति धेरै आफ्नो जीवनमा सम्झौता गरी बांचिरहेका छन् त्यो विषयमा सायद कसैको पनि ध्यान गएको देखिदैन । महिलाले सानो बालिका जीवनमा आफ्नो सानै भाइ किन नहोस् उसकै पछि लागेर भएपनि आफूलाई अभिभावकत्व प्राप्त भैरहेको छ भनि महसुस गरिनुपर्ने यसरी नै अघि बढ्नु पर्छ भनि सम्झौतामा परिवारसँग बाधिनु पर्ने । अलिक ठूलो भएपछि जब बयस्क भइन्छ उसको संरक्षणका लागि विवाह गर्न हतारिन्छन् । अभिभावकहरु आफ्नो जिम्मेवारी पूरा गरेको महसुस गर्छन र छोरीको सम्झौता ज्वाइसँग गरिदिएको हुन्छ । नेपाली परम्परा अनुसार आफ्नो आफ्नो रितिरीवाजमा रही सम्झौता गरिन्छ आफ्नो आमा बुवाले आर्शिवाद दिएर जोडिदिनुभएको सम्बन्ध श्रीमानसँग हजार जुनीसम्म सँगै बाच्ने मर्नै परे पनि संगै मर्ने बाचां गरिन्छ, एक ले अर्कोलाई सम्मान गर्ने भावनाको कदर गर्ने साथै श्रीमान्ले परस्त्रीमाथि कुदृष्टि नराख्ने र श्रीमतीले परपुरुषसँग सम्बन्ध नराख्ने भनि विवाहको मण्डपमा नै गरिएको बांचां नै दम्पती बिचको आत्मविश्वासको कडी हो र ठूलो सम्झौता पनि हो ।

अहिलेको वर्तमान अवस्थामा यस्ता समाजले बनाइएका सम्झौताहरु केवल महिलाहरुका लागि मात्र हुन कि भन्ने कहिलेकाही मानसपटलमा धुम्मिरहन्छ । सम्झौता भनेको त दुबै जनाको लागि हुनुपर्ने हो किनकी जीवन अगाडी बढाउंने या नबढाउंने भन्ने विषय, कसरी अगाडी जाने भन्ने विषय महिला पुरुष दुबैको जिम्मेवारीको विषय हो । तर, हाम्रो जस्तो पितृसत्तात्मक समाजमा पुरुषले गरिएका हरेक कर्म एकदम नै प्रख्यात र महिलाले गर्ने कार्य अति नै राम्रो भएता पनि अलिअलि खोट लगाउंने बानी त समाजको छदैछ तर पनि सम्झौता तोड्नुमा पनि पुरुष नै खप्पिस हुन्छन् । त्यो सम्झौता पुरुषले तोडिएको हो भने समाजले गीत गाउँंदैनन् महिलाले अलिकति मात्र पनि विराम गरर्याे भने उसले त्यो विवाहमा समाजको अगाडी गरिएको सम्झौता तोडिएको र चरित्रमाथि आरोप समेत लाग्ने गर्दछ । हो यस्ता सामाजिक वहिष्करणका कारण कहिलेकाही लाग्छ, के महिलाको जीवन सम्झौता मात्र हो त ? अनुत्तरित प्रश्न मनमा उब्जने गर्छ ती प्रश्नहरु गर्नमा पनि महिलाले सम्झौता नै गर्नु पर्दछ ? जथाभावी सोध्नु हुन्न महिलाले भनि बन्देज लगाइएको हुन्छ ।

जब विवाहमा गरिएको सम्झौता परस्त्रीमाथि सम्बन्ध नराख्ने परपुरुषसँग पनि सम्बन्ध नराख्ने भन्ने विषय पनि विस्तारै गरेर महिलाले मात्र सम्झौता गर्नुपर्ने देखिन्छ । किनकी महिलाहरु विवाह पश्चात् आफनो श्रीमान, बालबच्चा, परिवार भनि आफ्ना सबै इच्छा आकांक्षाहरुलाई बन्देज गरी सुनौलो पारिवारिक जीवनको सपनामा डुबुल्की मारिसकेका हुन्छन भने श्रीमान भनाउंदा पुरुषहरु अलिकति परिवारको आँखां छल्ने वित्तिकै सुरा या सुन्दरीको पछि लाग्छन् । साथै आफ्नो हिजोको दिनमा प्राण प्रिय सोचेको श्रीमतीको भावनासँग समेत खेलवाड गर्न पछि पर्दैनन् । तर, महिलाको सन्दर्भमा त्यस्तो कहिले हुन सक्दैन महिलाहरु विश्वास गरेपछि आफ्नो श्रीमानलाई हद भन्दा पनि बढी माया र विश्वास गर्छन यतिसम्म कि श्रीमान कुनै महिलासँग उठबस छ भने पनि ढाकछोप गरी आफ्नो सन्तान र परिवारको इज्जत , सपनासँग जोडेर सम्झौता गर्छिन । यी सबै सम्झौताहरुको कुरा गरिरहँदा महिलाहरुको जीवन कही सम्झौता नै सम्झौताको पर्खाल त हैन ? प्रश्न उठ्छ अनुत्तरित प्रश्न…..यस्ता प्रवृतिहरु समाजमा दिनानुदिन हावि भैरहदा लाग्छ देशमा कुनै कानुन किताबमा मात्र सीमित छ व्यवहारमा छैन, सम्मान गर्न योग्य तर कमजोर वर्गलाई कानुनमा दाजिन्छ भने गलत तर बलियो वर्गलाई सदैब अगाडी सम्मानका साथ राखिन्छ । वर्तमान परिस्थितीमा महिलाका विशेष अवस्थाहरुलाई ध्यान दिदैं संयुक्त राष्ट्र संघको महासभाले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिहरुले यस्ता व्यवहारिक पक्षलाइ पनि समेटिने हुनुपर्छ र परापूर्वकालदेखि नै नेपालमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने मान्यता पनि केही हट्दै गएको पाइन्छ ।

त्यसैले यस्ता जीवन भरी महिलाले भोग्दै आउंनुपर्ने समस्या र सम्झौता बिच जिउनुपर्ने जीवनको बारेमा पनि अब आउंने दिनहरुमा हरेक सभा सम्मेलनहरुमा छलफलका विषय बन्नुपर्छ, अनि मात्र महिला पुरुष दुबैले आफ्नो सम्झौतामा जीवन चलाउंछन् र महिला पुरुषबीच एक सम्मानजनक वातावरण सृजना हुन्छ र महिला हिंसामा पनि कमी आउंछ भन्ने मेरो निष्कर्ष रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*