विप्लव समूहले कात्तिक २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने
मकवानपुर, २० कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला जलाउने भएको छ ।
भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै विप्लव समूहले एक हप्ते संघर्षका कार्यक्रम आज (बुधबार) सार्वजनिक गरेको छ । जस अनुसार, सार्वजनिक गरेको कार्यक्रममा यही कात्तिक २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने गर्ने उल्लेख गरिएको छ ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग परेको भन्दै विप्लव समूहले मसाल जुलुसदेखि भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउने सम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।
त्यसैगरी समूहले भोलीपल्ट कात्तिक २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बिरोध पत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
यस्तै, २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते प्रदर्शन गर्ने कार्यक्रम विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
