प्रदेश प्रमुख नियुक्तिमा नेपालको असन्तुष्टि सामान्य हो : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रदेश प्रमुख नियुक्तलाई लिएर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकट गरेको असन्तुष्टि सामान्य रहेको बताएका छन् ।
मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख नियुक्तिको विषयमा माधव नेपाल सन्तुष्ट नरहेको कुरा आइरहेको छ नि भन्ने प्रश्नमा दाहालले सो कुरा बताएका हुन् ।
सो क्रममा उनले भने, ‘नेपालजीले केही नाम प्रस्ताव गर्नुभएको थियो । तर, सचिवालय बैठकले उहाँले अघि सार्नुभएको नामलाई अनुमोदन गरेन, अर्कै निर्णय गर्यो, उहाँले पार्टीको निर्णय मन्दिन भन्नुभएको छैन ।’
उनले प्रदेश प्रमुखहरुले नैतिकता नदेखाएकाले सरकारले सात वटै प्रदेश प्रमुख हटाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेको बताए । ‘कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुले अर्को पार्टीको सरकार गठन भएपछि नैतिकताका आधारमा आफैं राजीनामा गर्नुपर्थ्यो,’उनले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सात वटै प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।
जसअनुसार, प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको हो ।
उनीहरुलाई राष्ट्रपति भण्डारीले आज मंगलबार पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
