प्रदेश नं. ३ सहित सातै प्रदेश प्रमुख पदमुक्त
मकवानपुर, १८ कात्तिक । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरूलाई एकैसाथ हटाइएको छ । उनीहरूलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त गरेकी हुन् ।
शेर बहादुर देउवा नेतृत्व सरकारले २०७४ माघ ३ मा नियुक्त गरेको उनीहरु झन्डै २२ महिनापछि पदमुक्त भएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखहरूलाई हटाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपश्चात् सरकारले आइतबार भटाभट अन्य निर्णय लिएसँगै प्रदेश प्रमुखहरूलाई समेत पदमुक्त गरेको हो, जसप्रति प्रतिपक्षी कांग्रेसले तीव्र विरोध जनाएको छ ।
यससँगै प्रदेश १ का गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल पदमुक्त भएका छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकोे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
